रूपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको सम्झौता भएको छ।
सम्झौता अनुसार ३० मिटर उचाइको ५ वटा पोल रहने छ। एउटा पोलमा १५००० वाट क्षमताको लाइट जडान हुनेछ। ५ वर्षसम्म सपोर्ट सेवा हुनेछ।
एक्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरका अनुसार अबको दुई साता भित्रमै काम सुरू हुनेछ। पुस भित्रमा जडानको सबै काम पूरा हुने र एक महिना परीक्षणपछि पूर्णत: सञ्चालनमा आउने उनले बताए।
'रंगशाला निर्माणको काम द्रूत गतिमा अगाडि बढिरहेको छ, यसै क्रममा आज हामीले फ्लडलाइटको सम्झौता गर्यौं,' निर्देशक कुँवरले भने, 'पुस भित्रमा जडानको सबै काम सकिन्छ, त्यसपछि एक महिना परीक्षण गरेर पूर्णतः सञ्चालनमा आउनेछ।'
मनसुनको प्रभाव घटेसँगै एक्स्ट्राटेक ओभल मैदानलाई रंगशालाको स्वरूप दिने प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको भन्दै उनले हाललाई प्लेयर्स चेन्जिङ रूम, भिआइपी बक्सको निर्माण कार्यहरू भइरहेको जानकारी गराए।
क्रिकेट प्रतिको रूचि र सोखले रूपन्देहीको तिलोत्तमामा व्यक्तिगत लगानीमा २५ हजार दर्शक क्षमताको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले मूर्त रूप लिन थालेको हो। यो व्यक्तिगत लगानीमा बन्ने नेपालकै पहिलो र ठूलो क्रिकेट रंगशालासमेत हो।
तिलोत्तमा वडा नं. १७ पूर्व दरखसवामा करिब ६ बिघा क्षेत्रफलमा बन्ने यो रंगशाला बनाउन सुरू गरेको नौ महिनामै खेल्नयोग्य भइसकेको छ।
निजी लगानीमा क्रिकेट मैदान निर्माण सकेका कुँवरले आफू क्रिकेट फ्यान भएदेखि नै नेपालमा पूर्वाधारको कमी भएको महसुस गर्ने गरेको बताए।
‘सन् २०१३ मा नेपाल विश्वकप छनोट भएको बेला हामी खेलाडीलाई स्कर्टिङ गर्दै गाडी अघि पछि हिँड्थ्यौं,’ उनले भने, ‘त्यतिबेला नै नेपालमा पूर्वाधारको कमी छ भन्ने लाग्थ्यो। बिस्तारै बन्दै जाला भन्ने पनि लागेको थियो। तर एक दशकसम्म पनि बन्न नसकेपछि एउटा फ्यानको रूपमा मैले पनि बनाउनु पर्छ भन्ने अठोट बोकेर काम गरेको हुँ।’
नौ महिनामै निर्माण सम्पन्न गर्नका लागि आफूले अस्ट्रेलियामा सिकेको कुराले सहयोग गरेको उनी बताउँछन्।
यो पनि:
क्रिकेट फ्यान विनोदले करोडौं लगानीमा ९ महिनामै बनाएको मैदान (भिडिओ)