कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ।
आज भएका लिग चरणका दुई खेलको नतिजासँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो ।
समुह ए को विजेता हुदैं मधेश प्रदेश र उपविजेता हुदैं लुम्बीनी सेमिफाईनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै बागमती प्रदेश र उपविजेता हुदैं कोसी प्रदेश सेमिफाईनलमा पुगेको छ । मधेश प्रदेशले सुदुरपश्चिम, कर्णाली र लुम्बीनीलाई हराएर समुह ए को विजेता बनेको हो । उपविजेता बनेको लुम्बीनीले कर्णाली र सुदुरपश्चिमलाई परािजत गरेको हो । समुह ए मा रहेको सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अंक विहीन भयो ।
समुह बी मा बागमति प्रदेश रनरेटका आधारमा समुह विजेता बन्दा समान अंक भएको कोसी प्रदेश रनरेटमा पछि पर्दै उपविजेता बन्यो । समान अंक नै रहेको गण्डकी भने रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतिले गण्डकीलाई जित्दा कोसीसँग हारेको थियो । कोसी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतिसँग विजयी भएको थियो ।
आज फाप्ला खेल मैदानमा भएको खेलमा जित हात पार्दै लुम्बीनी र मधेश प्रदेशले अन्तिम चारको यात्रा तय गरे ।
पहिलो खेलमा लुम्बीनीले कर्णाली प्रदेशमाथि ९० रनको प्रभावशाली जित हासिल गर्यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १७९ रन बनायो । लुम्बीनीका लागि प्रतिक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए । कर्णालीका लागि लक्की बमले ४ विकेट लिदा दीप पौडेल र विपिन शर्माले दुई दुई विकेट लिए ।
प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल बिष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बीनीका लागि सन्तोष यादवले ४ विकेट र सागर गैरेले २ विकेट लिए ।
आजकै दोस्रो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ रनले किनारा लगायो । मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २७ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेशका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदुरपश्चिमका लागि डम्मर माझीले ४ विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई दुई विकेट लिए । प्रतिउत्तरमा सुदुरपश्चिमले २९ दशमलव ३ ओभरमा सबै विकेट क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले ४ तथा सोहन शाहले २ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत भोली कुनै खेल हुनेछैन । दुबै सेमिफाईनलका खेलहरु पर्सि हुनेछन् । पहिलो सेमफाईनलमा मधेश प्रदेश र कोसी प्रदेश तथा दोस्रो सेमिफाईनल खेलमा बागमति प्रदेश र लुम्बीनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।
नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।