नेपाल र वेस्ट इन्डिजबीच युएईको शारजाहमा हुने ऐतिहासिक टी-२० सिरिजको खेल तालिका हेरफेर भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एसिया कपको फाइनलका कारण एउटा खेलको दिन परिवर्तन भएको छ।
पहिलो खेल असोज ११ गते हुनेछ। दोस्रो खेल भने असोज १३ गते फूलपातीको दिने हुनेछ। यसअघि दोस्रो खेल असोज १२ मा हुने तय भएको थियो। असोज १२ मा एसिया कपको फाइनल युएईमै हुने तालिका छ।
तेस्रो खेल असोज १४ अष्टमीकै दिन हुने तय छ। तीन वटै खेल नेपाली समयअनुसार राति सवा आठमा सुरु हुनेछ।
यो सिरिजपछि नेपाली टोली एसिया एन्ड एसिया प्यासेफिक क्षेत्रीय छनोट खेल्ने ओमान जानेछ। ओमानमा हुने विश्वकप छनोटमा असोज २२ देखि सुरू भएर असोज ३१ मा सकिनेछ।
छनोट प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
नेपालले सुरूमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ को यो प्रतिस्पर्धाको शीर्ष दुई टोली सुपर-६ मा पुग्नेछन् भने एक टोली बाहिनेछ। अरु दुई समूहबाट आउने चार टोलीसहित छ टोलीबीच हुने सुपर-६ का शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुग्नेछन्। सुपर-६ मा कुनै एक टोलीले अर्को दुई समूहबाट आएका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ।