मिचेल स्टार्कले अर्को वर्षको अन्त्यदेखि सुरु हुने अस्ट्रेलियाको व्यस्त टेस्ट तालिका र २०२७ को एकदिवसीय विश्वकपलाई प्राथमिकता दिने भन्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।
३५ वर्षीय स्टार्कले २०१२ मा डेब्यु गरेपछि ६५ टी-२० खेलेका छन् र यूएईमा २०२१ को टी-२० विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्य थिए। उनले पछिल्लो पटक २०२४ विश्वकपमा खेलेका थिए। भारत र श्रीलंकामा हुने अर्को संस्करणभन्दा छ महिनाअघि उनले संन्यास लिएका हुन्। उनले टी-२० मा ७९ विकेटले दिएका छन्। उनको उत्कृष्ट प्रदर्शन २०२२ मा वेस्ट इन्डिज विरुद्ध २० रन दिएर ४ विकेट थियो।
‘टेस्ट क्रिकेट मेरो सधैं उच्च प्राथमिकतामा रहेको छ,’ स्टार्कले भने, ‘मैले अस्ट्रेलियाका लागि खेलेका हरेक टी-२० खेलको हरेक मिनेटलाई माया गरेको छु, विशेष गरी २०२१ को विश्वकपलाई, हामीले जितेकोले मात्र होइन तर अविश्वसनीय समूह र यात्राको रमाइलोका लागि पनि।’
२०२६ को मध्यदेखि अस्ट्रेलियाको टेस्ट क्रिकेटमा व्यस्त समय तालिका छन्। अस्ट्रेलियाले बंगलादेशविरुद्ध घरेलु श्रृंखला, दक्षिण अफ्रिकाको भ्रमण, न्युजिल्याण्डविरुद्ध चार खेलको सिरिज, जनवरी २०२७ मा भारतमा पाँच टेस्ट, एमसीजीमा इङ्गल्याण्ड विरुद्धको १५० औं वार्षिकोत्सवको एक मात्र खेल र त्यसपछि २०२७ को मध्यमा एशेज समावेश छन्।
दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप अक्टोबर र नोभेम्बर २०२७ मा हुनेछ र अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो।
‘भारतको टेस्ट भ्रमण, एशेज र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै, मलाई लाग्छ कि यी अभियानहरूका लागि ताजा, फिट र मेरो उत्कृष्ट प्रदर्शन कायम राख्न यो मेरो लागि उत्तम तरिका हो,’ स्टार्कले भने।