कुनै प्रजातिका च्याउ वसन्त ऋतुमा फक्रिन्छन्।
अधिकांश च्याउ भने बर्खा लागेपछि लटरम्मै हुन थाल्छन् र मधेसदेखि पहाडसम्मका वन, चरन तथा पाखा ढाकिदिन्छन्, रंगाइदिन्छन्।
कतिपय प्रजाति त शरद र हिउँदमा पनि फुलिदिन्छन्।
जब ती रंगीबिरंगी च्याउ फक्रिने क्रम सुरू हुन्छ, आफ्ना पुर्खामार्फत् ती च्याउ चिन्न सिकेका स्थानीयवासी वन पसिहाल्छन्। अनि भित्र्याउँछन् राता, सेता, पहेँला, खैरा, सुनौला लगायत अनेकानेक रङका थरीथरी आकार–प्रकारका च्याउ।
वसन्त र बर्खा याममा त्यस्ता च्याउ नेपालैभरि फक्रिएको देख्न सकिन्छ।
धेरै पर जानै पर्दैन, काठमाडौं उपत्यका वरिपरिका सबै वनपाखामा स्थानीयवासीहरू आफूले चिनेजानेको खानयोग्य च्याउ टिप्न व्यस्त देख्न सकिन्छ।
फोर्त्से सोलुखुम्बूमा फक्रिएको ठूलो खानयोग्य च्याउ बोकेर प्रसन्न पुष्पा गुरूङ। तस्बिर सौजन्य: शिव देवकोटा
अझै चाखलाग्दो कुरा — नेपाल आउने कैयौं पश्चिमा पर्यटक त काठमाडौं र पोखरा वरिपरि 'म्याजिक मसरूम' भनिने मात लगाउने च्याउ टिपेर मस्त हुने गरेका घटना पनि बेला बेला सार्वजनिक हुने गरेका छन्।
च्याउ नै च्याउको भिडमा जान्नेसुन्ने नै झुक्किने विषालु च्याउ पनि प्रशस्तै हुने गरेको विज्ञहरू बताउँछन्। त्यसको चर्चा थोरै तल गरेको छु।
हो, धेरै नेपालीले खान हुने च्याउ चिन्न सिकेका हुन्छन्। तथापि बेला बेलामा विषालु च्याउको तरकारी खाएका कारण पूरै परिवार बिरामी वा मृत्यु भएको खबर पनि आइरहन्छ। त्यस्ता खबर यो बर्खामा पनि आइरहेकै छन्।
च्याउबारे व्यापक अध्ययन गरेर विद्यावारिधि गरेका विज्ञ शिव देवकोटाका अनुसार नेपालमा झन्डै १० हजार थरी च्याउ पाइन्छन्। तर करिब १३ सय प्रजातिका च्याउको मात्रै अध्ययन भएको छ। ती मध्ये करिब एक सय ६० प्रजातिका खान योग्य छन् भने ७४ प्रजातिमा औषधीय गुण पाइन्छ।
च्याउविद शिव देवकोटा र हरिप्रसाद अर्यालले गरेको एक अध्ययन अनुसार करिब सय प्रजातिका च्याउ भने विषालु पाइएका छन्।
खानयोग्य च्याउ
गोसाइँकुण्डमा जनै पूर्णिमाको बेला स्थानीय ताजा च्याउ बेच्दै ठूलो स्याब्रूकी लक्ष्मी तामाङ। तस्बिर: सुरेन्द्र फुयाल
विज्ञहरूका अनुसार नेपालमा अध्ययन भएका १३ सय प्रजातिका च्याउमध्ये करिब एक सय ६० प्रजाति खान योग्य छन्।
कैयौं खान योग्य च्याउ प्रजातिको व्यावसायिक उत्पादन हुन्छ। बजारमा ती छ्याप्छ्याप्ती पाइन्छन्। जस्तै, डल्ले च्याउ, पाते च्याउ, सिताके च्याउ, रातो च्याउ।
प्रोटिन, भिटामिन, खनिज र रेसा (फाइबर) को राम्रो स्रोत मानिने च्याउ तुलनात्मक रूपमा अरू तरकारीभन्दा केही महँगो हुन्छ। त्यसैले धेरै साकाहारीहरू च्याउ रूचाउँछन्।
बजारदेखि थोरै बाहिर बस्ने रैथाने मानिस आफ्ना वन, चरन र पाखाहरूमा फक्रिने च्याउ चिन्न खप्पिस हुन्छन्।
केही उदाहरण— भक्तपुरको सूर्यविनायक वन वरिपरि बस्ने स्थानीयवासीलाई वनभित्र फक्रिने कुन च्याउ खान हुन्छ र कुन विषालु हुन्छ राम्ररी थाहा हुन्छ। शिवपुरीको बागद्वार नजिकै बस्दै आएका टोड्के बाबा र ओख्रेनी गाउँवासीले साउन, भदौमा फक्रिने मिर्गे च्याउ वा ठूलो आकारको भालु च्याउ सहजै चिन्छन् र टिपिहाल्छन्।
हालैको एक बिहान टोड्के बाबा आफ्नो बागद्वार आश्रममा भालु च्याउको तरकारी बनाउन व्यस्त थिए। कता कता पनिर जस्तै स्वाद आउने तर अझै मीठो त्यो च्याउको तरकारी र भात खान पाउँदा मैले आफूलाई निकै भाग्यमानी ठानेँ। थपी थपी खाएँ।
त्यस्तै गौरीशंकर क्षेत्र वा लाङटाङ निकुञ्जवासीलाई चैतदेखि असोजसम्म बेला बेलामा फक्रिने रातो च्याउ चिन्न कुनै विज्ञको सहयोग आवश्यक पर्दैन। त्यो च्याउ फक्रिन थाल्ने बित्तिकै टिप्न स्थानीयवासी वन पसिहाल्छन्। सुकाएर राखेको रातो च्याउ बटुवाहरूले देख्ना साथ किनिहाल्छन्।
केही साताअघि गोसाइँकुण्ड जाने पदमार्ग छेउमा खोलिएका अस्थायी थर्पु (टहरा) चन्दनवारीको वन, पाखामा फक्रिएका रंगीबिरंगी च्याउले सजिएका थिए। च्याउका नाम पनि ठाउँपिच्छे फरक।
एक स्थानीय महिला पासाङ तामाङ भन्दै थिइन्, ‘यो सेतोलाई चाँदी च्याउ भन्छ, पहेँलोलाई सुन च्याउ भन्छ।’
गोसाइँकुण्डको ढिम्सामा फलेको काल्दा च्याउ। तस्बिरः सुरेन्द्र फुयाल
मात लाग्ने च्याउ
नेपालमा फक्रिने कति प्रकारका च्याउ मात लगाउने गुण भएका छन्, यसको अध्ययन कम छ।
तर नेपाल घुम्न आउने कैयौं विदेशी युवायुवती यहाँका सहर तथा गाउँमा लुकिछिपी बिक्री हुने गाँजा र चरेस खुबै रूचाउँछन्। तीमध्ये कोही कोही त यहाँका वन, चरनमा भेटिने मात लाग्ने च्याउ चिन्न पनि खप्पिस हुन्छन्।
‘म्याजिक मसरूम’ चिनेर खान पल्किएका त्यस्ता पर्यटकले आफ्ना स्थानीय गाइड र साथीलाई पनि मात लाग्ने च्याउ चिन्न सिकाउने पाइएको छ।
‘काठमाडौं, चितवन र पोखरा घुम्ने कैयौं नशालु पदार्थप्रेमी पर्यटक त्यस्तो च्याउ आफै खोजेर खान्छन्,’ नेपालका च्याउबारे अनुसन्धान गरेका एक विज्ञ भन्छन्, ‘तर त्यस्तो च्याउ कहाँ, कहिले फल्छ र कस्तो रङको हुन्छ भनेर हामीले कसैलाई सिकाउन मिल्दैन।’
उनका अनुसार तीमध्ये कुनै च्याउ कम नशालु हुन्छन् भने कुनै निकै धेरै नशालु हुन्छन्।
औषधीय गुण भएको च्याउ
चन्दनबारीको शेर्पा होटलभित्र भर्खरै काटिएको रातो च्याउ केलाउँदै टाशी तामाङ। तस्बिरः सुरेन्द्र फुयाल
नेपालका हजारौं थरी रंगीबिरंगी च्याउको भिडमा कैयौं च्याउ ओखतीमुलोका लागि समेत प्रयोग हुन्छन्। तर यसबारे पनि थप अध्ययन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
उदाहरणका लागि — गौरीशंकरको डोङयाङ क्षेत्रका रैथाने शेर्पा र तामाङले ‘औषधीय गुण भएको’ रातो च्याउ खोजी खोजी खान्छन्। कसैले बेच्न राखेको भेटे पाथीको एक हजार रूपैयाँ तिरेर किनेर लैजान्छन्। बालबालिका, पाका उमेरका मानिस वा बिरामीका लागि रातो च्याउ निकै गुणकारी हुने उनीहरूको विश्वास छ।
लाङटाङको चन्दनबारी क्षेत्रमा पनि त्यस्तो रातो च्याउ टिप्न र खान स्थानीयवासीको तँछाडमछाड हुने गरेको मैले अनुभव गरेको छु।
‘यो च्याउ सल्लाको रूखमा फल्छ, आज बिहान हाम्रो दाइले भेटेर ल्याउनुभएको,’ गत बर्खामा मलाई त्यसको स्वादिलो तरकारी पस्किँदै शेर्पा होटलकी टाशी वांग्मो तामाङले भनेकी थिइन्, ‘यो औषधी हुन्छ भन्छन् तर सधैं फल्दैन।’
विषालु च्याउ
हालै सुर्खेतमा भेटिएको च्याउ विषालु भए नभएको जानकारी लिन उत्तमबाबु श्रेष्ठले फेसबुकमा राखेको तस्बिर। फोटोः उत्तमबाबु श्रेष्ठ
नेपालमा अध्ययन भएका १३ सय प्रजातिका च्याउमध्ये करिब सय प्रजातिका विषालु पाइएका छन्। त्यस्ता विषालु च्याउ खाएर नेपालमा वर्षमा कति जनाको ज्यान जान्छ भन्ने तथ्यांक कुनै सरकारी निकायसँग छैन।
च्याउविज्ञ शिव देवकोटाका अनुमानमा विषालु च्याउले वर्षमा करिब २० देखि ३० जनाको ज्यान गइरहेको छ। र, विषालु च्याउको उच्च जोखिममा रहेका केही जिल्ला हुन् — इलाम, पाँचथर, रामेछाप, मकवानपुर, चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान, दाङ र रूकुम।
देवकोटाका अनुसार झन्डै ९० प्रतिशत मृत्युको घटना एमानिटा (Amanita) प्रजातिको च्याउ खाएर हुन्छ। यस्तो च्याउलाई स्थानीय भाषामा ‘भूत च्याउ’ भनिन्छ।
उत्तीस, कटुस, खस्रू, साल आदिका वनमा अन्य विषालु च्याउ पनि पाइन्छन्।
‘कतिपय विषालु च्याउ खानयोग्य जस्तै देखिन्छ। च्याउ नचिनेका बालबालिका वा किशोरकिशोरी ती च्याउ टिप्न खटाइन्छ। अनि विषालु च्याउले परिवार नै पीडित बनाइदिन्छ भन्ने मेरो निष्कर्ष छ,’ देवकोटाले भने।
उनले सुझावसहित थपे, ‘विषालु च्याउबारे नेपालका हरेक टोल र वडामा जानकारी फैलाउन सके यस्तो च्याउ खाएर हुने मृत्युका घटनामा कमी आउँछ कि!’
देवकोटाले घच्घच्याएपछि वनस्पति विभागले नेपालका अति विषालु च्याउको तस्बिरसहितको सूची तयार पारेर आफ्नो वेबसाइटमा राखिदिएको छ।
त्यस्तै व्यावसायिक कीट विकास केन्द्रले पनि विषालु च्याउको अलि लामै सूची आफ्नो वेबसाइटमा राखिदिएको छ।
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal