एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह 'ए' को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेट पनि गुमाएको छ। ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।
नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिएका छन्।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भएका छन्। नेपालले १३ ओभर सकिदा तीन विकेट गुमाएर ५८ रन जोडेको छ।
नेपाली टिममा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा गुल्शन झालाई खेलाइएको छ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।
यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ।
आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।
समूह 'बी' बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपालले आजको खेलमा जित हात पारे यो समूहका उपविजेतासँग खेल्नेछ।