श्रीलंकामा भदौ तेस्रो सातदेखि हुने एसिसी यु-१९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल पुग्ने रहेको छ।
प्रतियोगिताका लागि शनिबार श्रीलंका प्रस्थान गर्न लागेको नेपाली टिमका प्रशिक्षक विनोदकुमार दास टेस्ट टिमविरुद्ध नेपाली खेलाडीले आफ्नो क्षमता देखाउन सके अन्तिम चारमा पुग्ने बताउँछन्।
‘एसिया कपलाई अवसरको रुपमा लिएका छौं,’ श्रीलंका उड्नअघि उनले सेतोपाटीसँग भने, ‘गत वर्ष भारतलाई हराउँदा हामीले भारतमा अभ्यास गर्ने लगायतका अवसर पायौं। खेलाडीले पनि एक्सपोजर पाए। त्यसैले यसपटक पनि राम्रो खेलेर सेमिफाइनल पुग्न चाहन्छौं।’
भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भदौ २० गते घरेलु टिम श्रीलंकाको सामना गर्नेछ।
नेपालले पहिलो खेलमै श्रीलंकालाई हराउने लक्ष्य लिएको छ।
‘पहिलो खेलमै श्रीलंकालाई स्तब्ध पार्ने योजना छ। हामीविरुद्ध खेल्दा उनीहरुलाई पनि गाह्रो हुनेछ। त्यसैले उनीहरु हामीविरुद्ध खेल्दा सचेत छन्। किनकी यु-१९ स्तरमा हाम्रो स्तर टेस्ट राष्ट्रभन्दा कमजोर छैन,’ दासको भनाइ छ।
समूहमा ‘बी’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन्।
नेपाल सेमिफाइनल पुगेको अवस्थामा बंगलादेश र श्रीलंका मध्ये एक वा दुवै टेस्ट राष्ट्रलाई पछि पार्नु पर्नेछ।
तर सेमिफाइनल पुग्न उत्कृष्ट खेल्नुपर्नेमा दास सचेत छन्।
‘हामीले त्यहाँ उत्कृष्ट खेल्नु त पर्छ नै। किनकी समूहका सबै टिम राम्रा छन्,’ उनले भने, ‘युएईले लगातार प्रशिक्षण गरिरहेको छ। आइसिसीको एकेडेमीमा तयारी गरेकाले उनीहरु पनि बलिया छन्।’
दासले यु-१९ टिमका लागि एसिया कपमा व्यक्तिगत रुपमा सबै खेलाडीले राम्रो खेल्नु पर्ने बताए।
‘सबैले खेलाडी व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गर्नु पर्ने बुझेका छन्। किनकी यही प्रदर्शनले उनीहरुको राष्ट्रिय टिमको ढोका खेल्न सक्छ,’ उनले भने।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
गत असारमा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो।
त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।
सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपालले स्वदेशमा भने सोचेजस्तो तयारी गर्न पाएन। सुरुमा एसिसीको अनुमति आउन ढिलाइ भएको थियो। त्यसपछि मैदानका कारणले समस्या भएको थियो।
‘पूर्वाधार र मैदानका कारणले हामीले सोचेजस्तो तयारी गर्न पाएनौं। उपलब्ध स्रोत साधनबाट तयारी गर्यौं,’ दासले भने, ‘प्रतियोगिताको एक साताअघि नै श्रीलंका प्रस्थान गर्दैछौं। त्यहाँको स्नानीय क्लबसँग तीन वटा खेल्ने कुरा छ। जसले त्यहाँको वातावरणसँग भिज्ने मौका मिल्छ।’
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम,प्रतिश जिसी
सपोर्ट स्टाफ
राजु खड्का - म्यानेजर
विनोदकुमार दास - मुख्य प्रशिक्षक
अपूर्भा देसाइ - ब्याटिङ कन्सल्ट्यान्ट
विक्रम न्यौपाने - फिजियो
सुवास पात्रो - ट्रेनर