अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट २०७३ वैशाखमा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) ले असोज पहिलो साताभित्र नयाँ नेतृत्व पाउने भएको छ। आइसिसीले गठन गरेको स्वतन्त्र समितिले क्यानको १७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि २ वटा मिति प्रस्ताव गरेको छ।
समितिले भदौ २८ र २९ वा असोज ४ र ५ मा निर्वाचन गराउन आइसिसीसँग प्रस्ताव गरेको हो।
‘सेप्टेम्बरको तेस्रो साताभित्र क्यानको निर्वाचन गराउन हामीले आइसिसीलाई प्रस्ताव गरेका छौं,’ स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले सेतोपाटीसँग भने।
क्षेत्रीका अनुसार क्यानको प्रादेशिक क्रिकेट संघको निर्वाचन अगष्टभित्र सकिने छ। हाल क्यानको तीन वटा प्रादेशिक संघको निर्वाचन सकिएको छ। सुदूरपश्चिम प्रदेशमा हरि रेग्मी, गण्डकी प्रदेशमा देवेन्द्र प्रजु र प्रदेश १ मा मिङ्ग्मा डण्डु शेर्पा निर्वाचित भइसकेका छन।
अब प्रदेश २, ३ र ५ को निर्वाचन अगष्टभित्र सम्पन्न हुनेछ।
कर्णाली प्रदेशमा एउटा जिल्ला (सुर्खेत) मा मात्र क्रिकेट संघ छ। त्यसैले कर्णालीलाई प्रदेश ५ मा गाभेर निर्वाचन गरिनेछ।
‘कर्णालीमा एक जिल्लामात्र भएकाले एक पटकका लागि प्रदेश ५ मा गाभेर निर्वाचन गर्ने प्रावधान विधानमै व्यवस्था गरेका छौं,’ क्षेत्रीले भने।
जिल्लाका निर्वाचन मंगलबार सकिँदै
निर्वाचन हुन बाँकी रहेको काठमाडौं जिल्ला क्रिकेट संघको विशेष साधारणसभा आगामी मंगलबारका लागि बोलाइएको छ।
काठमाडौंका अध्यक्ष दिवाकर घलेले बिनाकारण आफ्नो सदस्यता खारेज भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। तर अदालतले अन्तरिम आदेश नदिएकाले काठमाडौंको निर्वाचन गर्न लागिएको हो।
सदस्यताको विवाद रहेको पर्सा जिल्ला क्रिकेट संघमा शनिबार निर्वाचन भएको छ। पर्सामा दाउद अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ।
बाँकेमा निर्वाचन गराउनु नपर्ने भए पनि केन्द्रीय प्रतिनिधि चुनिएका विनोद मैनालीको सदस्यता खारेज भएको थियो। लगत्तै मैनालीले अदालतमा मुद्दा दायर गरेका थिए।
तत्काल अन्तरिम आदेश पाएका मैनालीको मुद्दा विचाराधीन छ। मैनाली केन्द्रीय प्रतिनिधि भएकाले प्रदेशको निर्वाचन गर्न अप्ठ्यारो नपर्ने स्वतन्त्र समितिका सदस्य क्षेत्रीको भनाइ छ।
‘हामी अदालतको आदेश मान्छौं। तर मैनालीजी केन्द्रीय प्रतिनिधि भएकाले प्रदेशको निर्वाचन गर्न मिल्छ,’ क्षेत्रीले भने।
अक्टोबरमा निलम्बन फुकुवा प्रस्ताव
आइसिसीको बोर्ड बैठक आगामी अक्टोबर १३ मा बस्दैछ।
सो बैठकमा क्यानमाथिको निलम्बन फुकुवाको प्रस्ताव पेश हुने विश्वास गरिएको छ। निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ।
‘केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि स्वतन्त्र समितिको काम सकिन्छ। त्यसपछि हामी आइसिसीलाई निर्वाचनसम्मको प्रतिवेदन पठाउछौं,’ क्षेत्री भन्छन्, ‘त्यसपछि निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई निलम्बन फुकुवाका लागि अनुरोध गर्नु पर्नेछ। यसो भएको अवस्थामा अक्टोबर दोस्रो सातामा नेपाली क्रिकेटका लागि खुसीको खबर आउन सक्छ।’
नेतृत्वका लागि तीन समूहको दौडधुप
क्यानमा अहिले तीन पक्ष देखिएको छ। निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द समूह, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र प्रदेश १ को अध्यक्षमा निर्वाचित भएका मिङ्ग्मा डण्डु शेर्पा समूहले नेतृत्वका लागि गृहकार्य गरिरहेका छन्।
चतुरबाहदुर चन्द समूहलाई महासचिव अशोकनाथ प्याकुरेल लगायतका २०७२ मा निर्वाचित भएका पदाधिकारीको साथ छ।
प्रथम उपाध्यक्ष विनोदकुमार मैनाली, उपाध्यक्षहरू नरेश श्रेष्ठ, दिवाकर घले, शैलेशकुमार चौधरी, रतनबहादुर कठायत, सचिवद्वय उत्तमकुमार कर्माचार्य र किरण राणा, सदस्य सुनीलसिंह हमाल प्रतिनिधि बन्न नपाउने भएकाले चन्द समूहलाई असर पर्ने देखिएको छ।
यो समूहमा नेपाली कांग्रेसमा आस्था राख्नेको बाहुल्यता छ।
क्यानका पूर्वअध्यक्ष पाण्डे भक्तपुर जिल्लाबाट केन्द्रीय प्रतिनिधि बनेका छन्। उनले क्यानमा अध्यक्ष बन्ने यसअघि नै इच्छा देखाइसकेका छन्।
उनलाई भक्तपुर र ललितपुर जिल्लाका प्रतिनिधिको समर्थन भए पनि उपत्यका बाहिरका जिल्लाका प्रतिनिधिको खासै समर्थन छैन। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल पाण्डेको नजिक मानिन्छन्।
पूर्वएमाले निकट विनोद मैदालीले प्रतिनिधि बन्न नपाएको अवस्थामा पाण्डेले पूर्वएमालेको प्रतिनिधित्व गर्दै क्यान निर्वाचनमा उम्मेदवारी दिन सक्छन्।
प्रदेश १ को प्रादेशिक अध्यक्षमा निर्वाचित भएसँगै मिङ्ग्मा डेण्डु शेर्पा समूह क्यान निर्वाचनमा तेस्रो शक्तिको रूपमा देखिएको छ।
पोखरा प्रिमियर लिगको टिम चितवन टाइगर्समा आबद्ध शेर्पा पूर्वमाओवादीको युवा संगठन वाइसिएल नेपालका सचिव हुन्।
क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ निकट शेर्पा समूहलाई पूर्वमाओवादीको साथ हुनेछ।