आइसिसी टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपालको छनोट यात्रा नै धरापमा परेको थियो।
खराब ब्याटिङ गर्दा कतारसँग ४ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट यात्रा अन्य टिमको हातमा पुगेको थियो।
वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले मलेसियलाई ७ विकेटले हराएर आसा जीवित राख्यो।
प्रतियोगिताअन्तर्गत शुक्रबार भएका २ खेलको नतिजापछि भने नेपालको विश्व छनोट यात्रा आफ्नै हातमा फर्किएको छ।
शुक्रबार आयोजक सिंगापुरले मलेसिया तथा कुवेतले कतारलाई पराजित गरेका थिए। जससँगै सिंगापुर ५ अंक जोडेर शीर्ष स्थानमा उक्लियो। ३ अंक जोडेको कुवेत दोस्रो स्थानमा छ। यी दुवै टिमसँग नेपालले खेल्न बाँकी छ। दुवै टिमलाई पराजित गरे नेपाल च्याम्पियन बनेर विश्व छनोटमा पुग्नेछ।
अघिल्लो दिनसम्म नेपाललाई पछि पार्ने सम्भावना भएका कतार र मलेसिया दुवै टिम शुक्रबार पराजय भोगेसँगै बाहिरिएका छन्।
नेपालका लागि शनिबार हुने कुवेतविरुद्धको खेल महत्वपूर्ण छ। हारले विश्वकप छनोट यात्रा अन्तिम खेलअघि समाप्त हुने भएकाले नेपाल सचेत भएर खेल्नु पर्ने देखिन्छ।
कुवेतले शुक्रबार भएको खेलमा कतारमाथि बिस्फोटक ब्याटिङ गरेको थियो। एकै इनिङमा प्रतियोगिताकै सर्वाधिक स्कोर १९७ रन जोडेको कुवेतका खेलाडीले २१ चौका र ९ छक्का प्रहार गरेका थिए।
नेपालका लागि ओपनरद्वय सन्दारुवान र मित भव्वसारसँगै मध्यक्रमका ब्याट्सम्यान एडनान इडरेस खतरा बन्न सक्छन्। तीनै खेलाडी कतारविरुद्ध समग्रमा १९ बाउन्ड्री प्रहार गर्दा ११७ रन जोडेका थिए।
कुवेतविरुद्धको खेलमा नेपालको लागि खुसीको खबर भनेको कप्तान पारस खड्का फिट हुनु हो। पारस कतारविरुद्धको पहिलो खेलमा उनको ढाड सड्केको थियो। जसका कारण उनले कतारविरुद्धको दोस्रो इनिङ खेल्न सकेनन् भने मलेसियाविरुद्धको खेल गुमाए। तीन दिन आराम गरेपछि पारस फिट भएका छन्।
मलेसियाविरुद्धको खेलमा तीव्र अर्धशतक उपकप्तान ज्ञानेन्द्र मल्ल फर्ममा फर्कनु नेपाली टिममा सकारात्मक प्रभाव परेको छ। नेपालको समस्या फेरि पनि मध्यक्रममा नै देखिएको छ। एक महिना मैदान बाहिर रहेर टिममा फर्किएका दीपेन्द्रसिंह ऐरीले अपेक्षाअनुसार खेल्न सकेका छैनन्। विनोद भण्डारी र शरद भेषवाकारको अनुभव नेपालले चाख्न पाएको छैन।
बलिङमा तीव्र गतिका बलरले अपेक्षाअनुसार खेले पनि स्पिनर सन्दीप लामिछाने चल्न सकेका छैनन्। विश्वका फ्रेन्चाइज लिगमा चर्चा कमाएका सन्दीपका लागि जारी प्रतियोगितामा उत्कृष्ट खेल्नु पर्ने चुनौती छ।
अंक तालिका