अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा एक वर्षअघिनै सम्पन्न हुुनुपर्ने भवन निर्माण योजनाको काम अझै सुरू हुन सकेको छैन ।
सम्बन्धित निकायको बेवास्ता, स्थानीयस्तरमा समन्वयको अभाव र निर्माण व्यवसायीको लापर्बाहीका कारण तत्कालीन हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म पनि अघि बढ्न नसकेको हो । विसं २०७३ असोजमा सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले तीन लाख रुपैयाँ पेश्की लिएको थियो ।
गाविसको टिकोटमा एक तले चार कोठे भवन निर्माणका लागि जिल्ला प्राविधिक कार्यालय र एपी बिल्डर्सबीच विसं २०७२ असारमा ३४ लाख रुपैयाँमा सम्झौता भएको थियो । भवन निर्माणस्थलमा निर्माण सामग्री (रड र सिमेण्ट) ढुवानी गर्नेबाहेक अरु प्रगति हुन नसकेको वडाध्यक्ष गमबहादुर फगामीले बताए ।
हाल बेनी–जोमसोम सडकअन्तर्गत पर्ने महभिरस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा सो भवनका लागि प्राप्त भएको दश लाख रुपैयाँ खर्च हुन सकेको थिएन भने अब प्राविधिक कार्यालय र गाउँपालिकामध्ये कहाँबाट योजना अघि बढाउने भन्नेमा अर्को अन्यौल छाएको छ ।
निर्माण कम्पनीलाई ताकेता गरिए पनि काम गर्न नसकेको बताउँदै जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन मर्हजनले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको जानकारी दिए । एपी बिल्र्डसका सञ्चालक विपीन खड्काले भौगोलिक विकटता, मजदूर नपाएको र बर्खाका कारण सडक अवरुद्ध हुँदा समयमै काम सुरू गर्न नसकेको बताए ।
‘निर्माण सामग्री ढुवानी भइसकेको छ, अब तीव्ररुपमा काम अघि बढाउँछौँ’ खड्काले भने । रासस