जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष राजकुमार हमालको पुनर्बहाली भएको छ।
उच्च अदालत तुलसीपुरले बुधबार हमाललाई पुनर्बहाली गरिदिएको हो।
पदावधिभन्दा पहिल्यै आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै मंगलबार हमालले उच्च अदालत तुलसीपुरमा निवेदन दर्ता गराएका थिए।
त्यसमाथि निर्णय सुनाउँदै उच्च अदालतले हमाललाई उचित सुनुवाइको मौका नदिएर आफूखुसी हटाइएको हुँदा त्यसो गर्न नमिल्ने भन्दै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा पुनर्बहाली गरिदिएको हो।
हमालको कार्यकाल चार वर्ष पुग्न २४ महिना बाँकी थियो। लुम्बिनी प्रदेश खेलकुद विकास समितिले पत्राचार गर्दै उनलाई पदमुक्त गरेको सूचना दिएको थियो।
अदालतले पुर्नबहाली गरिदिएपछि अध्यक्ष हमालले पदबहाली गर्न तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी रंगशालास्थित कार्यालय गएका छन्।
नेपाली कांग्रेसनिकट हमाल कांग्रेसकै सिफारिसमा यसअघि जिल्ला खेलुकद विकास समितिको अध्यक्ष बनाइएका थिए।
तर पछिल्लो राजनीतिक परिवर्तनसँगै उनलाई यसअघिको लुम्बिनी प्रदेश सरकारले हटाउने निर्णय गरेको थियो।
पछिल्लो समय फेरि राजनीतिक परिवर्तन भएपछि हमाल आफ्नो पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए।