रौतहटमा गाडी र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिका-१ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा गाडी र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम महतोले जानकारी दिए।
बुधबार बिहान पौने १० बजेतिर बरहथवा देखि चपुर जाँदै गरेको बा.प्रदेश०३-००१ ज ०४५२ नं.को गाडी र विपरित दिशाबाट आएको म.प्र.०३-००१ ख ८६०० नं.को ट्रक ठोक्किएका हुन्।
दुर्घटनामा सर्लाही रामनगर गाउँपालिका-१ की ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको हो। उनीहरूको उपचारको क्रममा चपुर अस्पतालमा मृत्यु भएको हो।
१८ वर्षीया रानिकुमारी यादव र १९ वर्षीय सरोज ठाकुर घाइते छन्। उनीहरूको चपुर अस्पतालमा उपचार भइरहेको छ।
दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक हेटौंडाका ३२ वर्षीय ग्लासेन थोकर र सर्लाही रामनगरका २१ वर्षीय गाडी चालक आकाश सिंहमाथि प्रहरीले अनुसन्धान थालेको छ।