नेपाल शिक्षक महासंघले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले संरक्षित गरेका मान्छेहरू प्रवेश गरी ढुंगामुढा गरेको बताएको छ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरी आइतबारको प्रदर्शनमा सरकारद्वारा संरक्षितहरू आन्दोलनमा प्रवेश गरी स्थिति भड्काएको आरोप लगाएका हुन्।
'शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ,' विज्ञप्तीमा भनिएको छ।
आइतबार बानेश्वरमा आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हानेको थियो।
प्रदर्शनरत शिक्षकहरूको तर्फबाट प्रहरीमाथि ढुंगामुढासमेत भएको थियो।
महासंघले घटनाको घोर भर्त्सना गरेको छ। आइतबारको घटनामा ६२ जना शिक्षकहरु घाइते भएको र झन्डै एक दर्जन शिक्षकहरूको अवस्था चिन्ताजनक रहेको महासंघले जनाएको छ।
महासंघले सबै घाइतेहरूको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग गरेको छ।
'विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत उन्नयनका पक्षमा २०८१ माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक-कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र फर्दाफास भएको छ,' विज्ञप्तीमा भनिएको छ।
सरकारको दमनको विरोधमा उत्रिन महासंघले सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीमा अपील गरेको छ।
महासंघले विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्किने पुनः उद्घोष गरेको छ।
'देशभरका सबै शिक्षक-कर्मचारी साथीहरुलाई आफ्ना साथीहरुमाथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी हुन जोडदार अपील गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।