हेटौंडामा नाइट बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको सखुवापर्सौनी गाउँपालिका-३ कटैयाका ३६ वर्षीय परबेज अन्सारी छन्।
गएराति ११:४० बजे पोखराबाट उदयपुर कटारी जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ एचआइडीस्थित पूर्व-पश्चिम सडक खण्डमा अन्सारीलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको राति १:१३ बजे मृत्यु भएको थियो।
पैदलयात्रीलाई ठक्कर दिएपछि फरार भएको बस बिहान ३ बजे प्रहरीले बाराको अमलेखगन्जबाट नियन्त्रणमा लिएको छ।
मकवानपुर प्रहरीले बारा प्रहरीसँग समन्वय गरी बस र त्यसका चालक उदयपुरको कटारी नगरपालिका-२ बस्ने ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रकको धनी रहेको खुलेको प्रहरीले जनाएको छ।
गएराति ट्रक बिग्रिएपछि बाटोमै रोकेर उनले मिस्त्री बोलाएका थिए। ट्रक मर्मत भइसकेपछि मिस्त्री र सामान पुर्याउन पैदल जाँदै गर्दा उनलाई बसले ठक्कर दिएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।