पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
गएराति १०:१० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।
जिप सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो। दुर्घटनामा दुई जना घाइते भएका छन्।
घाइतेहरूमा जिप चालक जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका-१ साउने बस्ने २७ वर्षीय रन्जन रेग्मी र असारेकै २३ वर्षीय सरोज बुढा छन्।
उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिएका छन्। चालक रेग्मीको अवस्था गम्भीर छ। बुढाको अवस्था मध्यम छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।