मोरङको उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएका रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश मेघनाथ चापागाईंको इजलासले बिहीबार वडाध्यक्ष खवासलाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
रंगेली २ का वडाध्यक्ष खवास एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
गएको पुस २ मा अदालतले प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार थिए।
सभापति पोखरेल पत्नी अञ्जला भने अझै ‘फरार’ नै छिन्।
एमाले सांसद पोखरेलनिकट मोरङका एक नेताले दिएको जानकारी अनुसार अञ्जला अदालत जाने तयारीमा छिन्। तर, कहिले जाने भन्ने टुंगो भने भएको छैन।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। मंसिर २७ मा कोइराला र खवाससहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो। पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी (म्याद पुर्जी) जारी गरेको थियो।
सभापति पत्नी अञ्जला त्यसयता आफूले पढाउने महेन्द्र रात्री विद्यालयबाट बिदा लिएर फरार भएकी हुन्। उनी दुई सातायता विद्यालयमा अनुपस्थित छिन्।
पुस २ मा मोरङ जिल्ला अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन पुर्जी जारी गरेको म्याद सकिएपछि अहिले उनीहरूको म्याद तामेलीको अवधि छ।
उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेल पत्नी कोइरालासहित, रंगेली –२ का वडाध्यक्ष खवास, अध्यक्ष शम्भुप्रसाद रौनियार लगायत विरूद्ध मुद्दा दायर भएको थियो।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ।