भिसाको उद्देश्य विपरीत नेपालमा बस्दै आएका तीन इन्डोनेसियन नागरिक पक्राउ परेका छन्।
ललितपुरको धोबिघाटमा रहेको हिमालय शिक्षा तथा हितेशी समाज गर्ल्स होस्टलबाट अध्यागमन विभागले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जना महिला हुन्। जसमध्ये एक जना पर्यटक र अरू दुई जना अध्ययन भिसामा सन् २०२४ मा नेपाल आएका थिए।
उनीहरूलाई उक्त होस्टलमा शिक्षकको रूपमा राखिएको थियो। त्यहाँ उनीहरूले टर्किस भाषा, कुरान सिकाउने र मुस्लिम धर्म प्रचारप्रसार समेत गर्ने गरेको विभागले जनाएको छ।
विभागका अनुसार उनीहरूले धर्मप्रचारक संस्थाबाट प्रत्येक वर्ष दुई करोड ५० लाख प्राप्त गर्थे।
उक्त होस्टलमा करिब ५० जना छात्राहरूलाई कुरान पढाइरहेको बेलामा अध्यागमन विभागका निर्देशक समेतको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूले कुनै शैक्षिक संस्थामा अध्ययन गरिरहेका थिएनन्।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए वर्किङ भिसा लिनुपर्छ।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ।
यसैगरी विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ।
यसरी गैरकानुनी रूपले बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा अनुसन्धान पत्र नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ।