रूपन्देहीमा आफ्नै भतिजाले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मायादेवी गाउँपालिका वडा नं. ७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसार गत शुक्रबार राति सँगै बसेर मदिरा सेवनपछि भएको विवादपछि भएको कुटपिटबाट राजुको मृत्यु भएको हो।
सामान्य विवादपछि उनका भतिजा २१ वर्षीय अजय सहानीले बारमा लगाएको काठ निकालेर हान्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।
‘घटना भएको थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरीको टोली समेत घटनास्थल पुगेको थियो, प्रहरी टोली त्यहाँ पुग्दा राजु सहानी गम्भीर घाइते अवस्थामा थिए। उनलाई तत्काल भीम अस्पताल भैरहवामा ल्याइएकोमा उपचारको क्रममा सोही राति नै मृत्यु भएको हो,’ प्रहरी उपरीक्षक राठौरले भने।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शुक्रबार राति नै तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार छन्। मुख्य आरोपित अजय सहानी पनि पक्राउ परिसकेका छन्।
पुरानो रिसइबीका बीच मदिरा सेवनपछिको विवाद बढ्दै जाँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।