वन्यजन्तुका लागि भूगोलको सिमाना हुँदैन भनिन्छ। नेपालको चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ जीवहरू एक सिंगे गैंडा, पाटेबाघ, घडियाल गोहीहरूलाई सिमानाको कुनै पर्वाह छैन। त्यसैले त केही वर्षअघिसम्म शून्य अवस्थामा रहेको भारतको बिहार राज्यस्थित वाल्मीकि टाइगर रिजर्वमा अचेल गैंडा देख्न पाइन्छ।
रिजर्वले ‘भारतका गौरव’ भन्दै ठाउँ–ठाउँमा एक सिंगे गैंडाको पोष्टर टाँसेको छ। यहाँ पाटेबाघको संख्या पनि बढिरहेको छ। बाघलाई पुनः नेपाल नफर्कने अवस्था बनाउन भारततर्फ विभिन्न कार्यक्रमहरू चलाइएको छ।
चितवन र नवलपरासीको सिमाना हुँदै बग्ने नारायणी नदीबाट घडियाल गोहीहरू भारततर्फ बगिरहेका छन्। भारतले यी जीवमार्फत् पर्यटकलाई वाल्मीकि टाइगर रिजर्वतर्फ आकर्षण गरिरहेको छ। अचेल यहाँ चितवन निकुञ्जमा जस्तै जिप सफारी पनि हुन थालेको छ।
वन्यजन्तुको निर्बाध विचरणको लाभ लिइरहेको भारतले मान्छेलाई भने आफ्नै भूमिभित्र आवतजावत गर्नमा पनि बाधा पुर्याउँदै आएको छ। यसको गतिलो उदाहरण वाल्मीकि आश्रम हो।
वाल्मीकि आश्रम त्रेता युगका भगवान रामसँग जोडिएको छ। महर्षि वाल्मीकिले यहीँ तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए। उनले यहीँ बसेर रामायण लेखेको किंवदन्ती छ। त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास यहीँ पुगेको र लब, कुशलाई जन्म दिएको विश्वास गरिन्छ।
यहाँ रहेको हरिहरको अष्ठधातुको मूर्तिलाई महत्त्वपूर्ण मानिन्छ। २०२२ सालमा राजा महेन्द्रले उत्खनन् गर्न लगाउँदा यो मूर्ति भेटिएको मन्दिरका पूजारी रामशरण गिरी बताउँछन्। त्यसपछि यो मूर्तिको फोटो हुलाक टिकटमा पनि राखिएको थियो। राजा महेन्द्रले यहाँ मन्दिर निर्माणदेखि पूजारीको व्यवस्थापन गर्दै केही परिवारलाई लगेर बस्ती बसालेको गिरीले बताए। अहिले पनि यहाँ १४ परिवार बासोबास गर्दै आएको छ। गिरीकाअनुसार दैनिक सयौं भारतीयहरू दर्शनका लागि यहाँ आउँछन्।
महर्षि वाल्मीकि, सीता र लब, कुशसँग जोडिएका धेरै प्रमाणहरू सुरक्षित रहेका कारण वाल्मीकि आश्रमलाई हिन्दु धर्मवालम्वीहरू ठूलो तीर्थस्थल मान्छन्। नेपाल र भारतका तीर्थालुहरू ठूलो संख्यामा यहाँ पुग्ने गर्छन्।
तर नेपालका तीर्थालुलाई यहाँ जाने आफ्नो बाटो छैन।
२०७० सालको असार ३० गते नेपालबाट सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो। २ वर्षमा निर्माण सक्नेगरी सम्झौता गरिए पनि पुल निर्माणको काम सक्न ९ वर्ष लाग्यो। भ्याटबाहेक ५ करोड १९ लाख ६६ हजार ७१३ रूपैयाँको लागतमा २०७९ असार असान्तमा ४७९ मिटर लामो झोलुंगे पुल तयार भएको हो। ठेकेदारले ढिलागरी पुल त बनाए तर नदी तरेपछि जंगलै जंगल आश्रमसम्म पुग्न करिब ३ किलोमिटर बाटो बन्न सकेको छैन।
बाटो बनाउनका लागि गत वर्ष २५ लाख रूपैयाँ बजेट प्राप्त भएको थियो। जेसिबी प्रयोग गरेर बाटो बनाउने योजनामा भारतीय पक्षले अवरोध गरेपछि बजेट फ्रिज भयो।
‘पुल निर्माणपछि बाटो बनेर नेपालीलाई सहज पहुँच होला भन्ने आशा थियो। तर भारतले गण्डक परियोजनाको क्षेत्रभित्र पर्ने भन्दै जेसिबी लैजान नदिएपछि योजना अलपत्र बन्यो। बजेट फ्रिज भयो। तै पनि हामी स्थानीयले श्रमदान गरेर गोरेटो बनाएका थियौं,’ नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–६ का बासिन्दा मोहनराज घिमिरेले भने, ‘गोरेटो र पुलको छेउमा गार्ड घर निर्माणका लागि विनय त्रिवेणी गाउँपालिकाले आर्थिक सहयोग पनि गरेको थियो। केही महिना पैदलयात्रा गरेर तीर्थालुहरू मन्दिर पुगेका थिए। बर्खामा गोरेटो पनि बिग्रियो। अहिले पुल फेरि बन्द भयो।’
झोलुंगे पुलदेखि आश्रमसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत् २५ लाख रूपैयाँ बजेट विनियोजना गरेको छ। संघीय सरकारअन्तर्गत स्थानीय विकास योजना कार्यालयमार्फत् वाल्मीकि आश्रम क्षेत्रमा सोलारमार्फत विजुली र खानेपानी योजना निर्माणका लागि ५० लाख रूपैयाँ विनियोजन भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वाल्मीकि आश्रमलाई लक्षित गरेर प्रदेश र संघीय सरकारमार्फत आएका योजनाहरू वन तथा वातावरण मन्त्रालयको सहमती लिएर कार्यान्वयनमा लैजान सकिने बताए।
‘यो राष्ट्रिय निकुञ्जको मात्रै नभएर राष्ट्रिय विषय नै हो। राष्ट्रिय निकुञ्जमात्रै नभएर समग्रमा राष्ट्रको प्राथमिकता के हुन्छ भन्ने कुराले पनि निर्धारण गर्छ जस्तो लाग्छ। सँगै संरक्षणको विषयमा पनि सोच्नुपर्छ,’ उनी भन्छन्, ‘तत्कालका लागि आएको बजेटलाई प्रयोग कसरी गर्ने भन्ने विषयमा निर्णय गर्नुपर्छ। साथै दीर्घकालका लागि के गर्ने भन्ने विषयमा पनि सोच्नुपर्छ। राष्ट्रिय निकुञ्जलाई पनि असर नगर्नेगरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल आवश्यक छ।’
पन्तले भविष्यमा धार्मिक महत्वको क्षेत्रलाई निकुञ्जभित्रकै एउटा अंग मानेर वा नेपाल सरकारकै छुट्टै संयन्त्र बनाई गुरूयोजनाअनुरूप व्यवस्थापन गर्ने विषयमा छलफल हुनसक्ने बताए।
‘अहिले भनेजस्तो गोरेटो बनाउने विकल्पमा जाँदा तीन किलोमिटर वन क्षेत्रमा सुरक्षा चुनौती हुनसक्छ। फोहोर व्यवस्थापनका जटिलताहरू पनि आउन सक्छन्। बरू केवलकारको विकल्प पो ठीक हुने हो कि सुरक्षाका दृष्टिले,’ उनी भन्छन्, ‘दीर्घकालका लागि के गर्ने भन्ने विषयमा गम्भीररूपमा छलफल गर्नु आवश्यक छ।’
वाल्मीकि आश्रम चितवनको माडी नगरपालिकाको वडा नम्बर १ को छेउमा पर्छ। बीचमा ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएकाले माडीबाट सीधा यहाँ पुग्ने सडक छैन। यो क्षेत्रसँग नवलपरासी (बर्दघाट–सुस्तापूर्वको) विनय त्रिवेणी गाउँपालिका जोडिएको छ। नवलपरासीको बाटो (पूर्व–पश्चिम राजमार्ग) बर्दघाटबाट दक्षिण लागेपछि विनय त्रिवेणी–६ त्रिवेणीधाम पुगिन्छ। जोडिएर बगेको नारायणी नदीको पारी वाल्मीकि आश्रम छ। त्रिवेणीधाम नजिकै भारतसँग जोडिएको गण्डक व्यारेजको पुल तरेर वाल्मीकि आश्रम पुग्नुपर्छ।
गण्डक पुलदेखि वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ। त्यहाँसम्म पुग्न पटक–पटक भारतीय सुरक्षा बलको सुरक्षा जाँचको सामना गर्नुपर्छ। नदी तरेपछि चितवन राष्ट्रिय निकुञ्ज सुरू हुन्छ। केही मिटर वाल्मीकि आश्रम रहेको छ।
नेपालबाट सीधै वाल्मीकि आश्रम पुग्ने पुल निर्माण भएको थाहा पाएर दैनिक दर्जनौं पर्यटकहरू यहाँ पुग्छन्। तर पुल कटेर जान नसक्ने भएपछि उनीहरू खिन्न भएर फर्कन्छन्।
विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले राष्ट्रिय निकुञ्जका नियम, कानुनलाई पालना गर्नुपर्ने भएकाले नेपाली भूमिबाटै नेपालको मन्दिर पुग्ने मार्ग सञ्चालनमा ढिलाइ भइरहेको बताए। उनले नेपालबाटै पुग्ने मार्ग निर्माण भए वाल्मीकि आश्रमको प्रचार बढ्ने र यसको फाइदा देशले नै लिनसक्ने बताए।
‘नेपालतर्फबाट सहज पहुँच भए दैनिक एक हजार जनाजति भक्तजनहरू पुग्नुहुन्छ जस्तो लाग्छ। अहिले भारत पुगेर ठाउँ–ठाउँमा चेक जाँचको झमेला गर्दै पनि केही नेपाली पुग्ने गरेका छन्। धेरै भारतीय नै पुग्छन्,’ अध्यक्ष गिरी भन्छन्।
उनले पूर्वी नेपालबाट आउनेलाई बर्दघाट नपुगी दुम्कीबासबाट सीधै त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम पुग्ने व्यवस्था मिलाउने गरी सडक निर्माणको योजना तयार पारेको बताए।
निकुञ्जको कानुनको अवरोध र भारतको अनिच्छाका बाबजुत नेपाली भूमिबाटै झोलुंगे पुल र बाटो निर्माण गरेर वाल्मीकि आश्रमसम्म पुग्ने अवस्था सिर्जना गर्न नेपाल सरकारका पूर्वसचिव आत्माराम पाण्डे अहोरात्र खटेका छन्। २०४४ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा उपसचिव पदमा कार्यरत रहँदाबाटै उनले वाल्मीकि आश्रमलाई व्यवस्थित बनाउने सपना देखेका थिए। बावु काशिराज पाण्डेले धेरै समय वाल्मीकि आश्रममा बिताएका कारण उनको परिचय यो क्षेत्रसँग त्यसभन्दा अघिबाटै थियो।
पाण्डेले विभिन्न सरकारी कार्यालयहरू काम गर्दा वाल्मीकि आश्रमका लागि योजना बनाउने कामहरू गरेको बताए।
‘ठूलो धार्मिक महत्त्व भएर पनि ओझेलमा पर्दै आएको वाल्मीकि आश्रमको प्रवर्द्धनका लागि म राष्ट्रिय योजना आयोगमा हुँदा योजना नै पर्यो, त्यो योजना कार्यान्वयन गर्नका लागि मैले जनप्रतिनिधिहरूलाई आग्रह पनि गरें तर कसैले वास्ता गरेनन्,’ पाण्डेले भने।
वाल्मीकि आश्रमको विकासका लागि २०६५ सालतिरै योजना बनिसकेको उनले बताए। त्यतिखेर उनी राष्ट्रिय योजना आयोजमा सह–सचिव थिए। आर्थिक वर्ष २०६५/०६५ मा त्रिवेणीमा पुल निर्माण गर्ने योजना रातो किताबमा परेको थियो।
२०७० सालमा रक्षा मन्त्रालयको सचिवबाट सेवा निवृत्त भएपछि पाण्डे यो पुल निर्माणकै लागि सक्रिय भए। त्यतिखेर पुल निर्माणको सम्झौता भइसकेको थियो। नेपाल सरकारका तत्कालिन मुख्यसचिव लिलामणि पौडेलले पुलको शिलान्यास गरे।
शिलान्यास भए पनि गण्डक बाँधको नजिकै भएका कारण झोलुंगे पुल निर्माण भारतले रोक्न खोजेको थियो। पाण्डेले तत्कालीन भारतीय राजदूत रञ्जित रेसँगको सम्बन्धको उपयोग गरी पुल निर्माणमा बाधा नपर्नेगरी सहमति बनाए।
‘पुलको आईई गर्न उस्तै झण्झट भयो। सरकारी कर्मचारीहरूसँग राम्रो सम्बन्ध भए पनि नेताहरूसँग सम्बन्ध नभएका कारण काम गर्न धेरै समस्या भए,’ पाण्डेले सुनाए।
तर चितवन निकुञ्जले पुल बनाउन आईईमात्रैले नपुग्ने, युनेस्कोबाट अनुमति पनि ल्याउनु पर्ने बतायो। सरकारी सेवाका क्रममा परिचित व्यक्ति, राजदूतहरूको सहयोग लिएर पाण्डेले युनेस्कोको अनुमति प्राप्त गर्न अग्रसरता लिए।
‘युनेस्कोले संरक्षणका विषयमा धेरै चासोहरू राख्यो। मैले आफ्नो देशभित्र आफ्नै भूमिबाट जान पाउनुपर्ने स्वतन्त्रता र धार्म मान्न पाउने अधिकारको कुरा गहनरूपमा उठाएँ, मेरो कुरालाई युनेस्कोका अधिकारीहरूले गम्भीररूपमा लिए। अन्ततः अनुमति पनि पाइयो,’ उनले सुनाए।
सबैतिरबाट अनुमति आयो तर ठेकेदारले काममा ढिलासुस्ती गर्न थाल्यो। पुल निर्माणका लागि धेरै समय त्रिवेणी क्षेत्रमै बिताएको पाण्डेले बताए।
‘म आफू पनि आध्यात्मिक व्यक्ति भएका कारण वाल्मीकि र त्रिवेणी धाम वरपर रहन रूचाउँछु। यी क्षेत्रका लागि केही गर्न सक्न पाए देशकै लागि उपलब्धि हुन्थ्यो भनेर म निरन्तर लागिरहें,’ पाण्डेले भने, ‘पुलको निर्माण त सकियो। अब यो पुल भएर वाल्मीकि आश्रमसम्म पुग्ने व्यवस्था मिलाउन पाए आनन्द हुन्थ्यो।’
‘अहिले यो पुलमा उभिन पाउँदा पनि मलाई धेरै खुसी लाग्छ, अब नेपालीहरूले आफ्नो धार्मिक क्षेत्रमा जान अर्को देशको बाटो प्रयोग गर्नु पर्दैन भन्ने कुराले मलाई असाध्यै खुसी बनाउँछ,’ उनले भने, ‘सरकारी कार्यालयमा ठूलो पदमा रहेर पनि देशका लागि केही गर्न सकिनँ जस्तो लाग्थ्यो। त्यसैले रिटार्यड भएपछि लागि परें। अब सपना साकार हुने दिन नजिकिँदैछ।’
उनी अचेल वाल्मीकि आश्रमका लागि प्राप्त भएका दुई योजना कार्यान्वयन गर्न सरकारी कार्यालयहरूमा दौडधुप गरिरहेका छन्।
‘सबै प्रकृया सकेर मंसिर, पुससम्ममा बाटो बनाउन सकिन्छ कि भनेर लागेको छु,’ उनी भन्छन्, ‘नेपालीले आफ्नै भूमिको प्रयोग गरेर वाल्मीकि आश्रम पुग्न सकेको दिन मेरो लागि सबैभन्दा खुसीको हुनेछ।’