सुपर त्रिशूली जलविद्युत परियोजनाका लागि नदीको धार परिवर्तन गर्दा रिसोर्टमा क्षति पुगेको भन्दै सञ्चालकले पाँच करोड रूपैयाँ बराबरको क्षतिपूर्ति माग गरेका छन्।
नदीको धार परिवर्तन गर्दा आफ्नो गोरखाबीच रिसोर्टको पाँच करोड रूपैयाँ बराबरको संरचनामा क्षति पुगेको भन्दै हिमालयन गोरखा आउटडोर सेन्टर प्रालिका सञ्चालक महेन्द्र सिंह थापाले परियोजनासँग क्षतिपूर्ति माग गरेका हुन्।
चितवनको इच्छाकामना–३ को चुमखोला र गोरखाको गण्डकी–१ बुटारको सीमामा पर्ने भागमा सुपर त्रिशूली जलविद्युत परियोजना निर्माणाधीन छ। परियोजनाअन्तर्गत अहिले नदी बग्ने गरेको स्थानलाई सुख्खा बनाइँदैछ। अस्थायी तटबन्धमार्फत नदीको धारलाई गोरखातर्फ मोडिएको छ।
परियोजनाले आवश्यक सावधानी नअपनाई बिना पक्की संरचना रिसोर्टतर्फ नदीको धार मोडेको थापाको दाबी छ।
गएको असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले रिसोर्टको स्विमिङ पुल, डाइनिङ हल, डिजे हल, सफारी टेण्ड, कटेज, बाहिरी पर्खाल भत्काइदिएको थियो।
परियोजनाले निर्माण गरेको पुल पनि बाढीले व्यक्तिको जमिन र संरचना कटान गर्ने कारक बनेको दाबी थापाको छ। १५० मिटर क्षेत्रको नदीमा करिब ११५ मिटरमात्रै लम्बाइको पुल निर्माण गर्दा नदी साँघुरिएर बाढीको असर बढी परेको उनी बताउँछन्।
असोजको बाढीमा परियोजनाकै ३ वटा टिपर, २ वटा स्काभेटर र एउटा लोडरलगायतका उपकरण तथा सामग्रीहरू पनि बगेका थिए। थापाले नदीको किनारमा प्राकृतिकरूपमा रहेको चट्टानहरूलाई फुटाएर नदीको धार परिवर्तन गरिँदा बाढी रिसोर्टमा पसेको दाबी गरेका छन्। उनले २०६५ सालमा यहाँको जमिन खरिद गरेका थिए। केही वर्षदेखि सञ्चालनमा रहेको रिसोर्ट बाढीपछि बन्द भएको छ।
‘हाम्रो माग क्षतिबापतको पैसाभन्दा पनि रिसोर्ट पहिलेकै जस्तो बनाइदिए हुन्छ भन्ने छ। तर यो कुरालाई बेवास्ता गरिए न्यायका लागि अन्य निकायको ढोका ढकढकाउनुपर्ने हुन्छ,’ थापाले भने, क्षतिको विवरण मुचुल्कासहित परियोजना र सम्बन्धित गाउँपालिका र वडा कार्यालयहरूलाई जानकारी गराइएको छ।’
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले पनि विद्युत परियोजनाका कारण त्रिशूली नदीमा आधारित र्याफ्टिङ व्यवसाय, व्यवसायी र पर्यटन व्यवसायमा गम्भीर असर पुगेको भन्दै ध्यानाकर्षण गराएको छ।
ब्लू इनर्जी प्रालिले सन् २००८ मै लाइसेन्स लिएको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना निर्माणको काम करिब डेढ वर्षअघिमात्रै सुरू भएको थियो। अहिलेसम्म करिब २० प्रतिशत काम भएको परियोजनाका भूगर्भशास्त्री दिव्यराज पन्तले जानकारी दिए।
यहाँबाट ‘रन अफ रिभर’ प्रणालीमा विद्युत निकालिँदैछ। यसका लागि नदीको पुरानो बहाव क्षेत्रमा २४.५ मिटर उचाइको बाँध निर्माण गर्न लागिएको छ। बाँधसँगै पावर हाउस बन्ने पन्तले बताए। बाँधसँगै पावर हाउस बन्ने ड्याम 'टोई' प्रकृतिको जलविद्युत परियोजना यो नेपालमै पहिलो हो।
‘बाँध र पावर हाउस निर्माणका लागि अहिले नदीको धार परिवर्तन गर्नुपरेको हो। पछि पुरानै ठाउँमा पानी पुग्छ। बाँधदेखि करिब ३ किलोमिटर परसम्म पानी फर्कनसक्छ,’ पन्तले भने, ‘देशभर प्राकृतिक विपत्ति आउँदा त्रिशूलीमा पनी बाढी आयो। यसले परियोजनामा पनि ठूलै क्षति पुर्याएको छ। आसपासमा पनि क्षति पुर्याएको जानकारी पाएका छौं। प्राकृतिक विपत्तिमा हामीले पनि गुहार्ने सरकारलाई हो।’
बाढीले परियोजनामा करिब १५ करोड रूपैयाँको क्षति गरेको उनले बताए।
यो परियोजनाको डिजाइन क्यानडाको कम्पनी एसएनसी लवलिनले करिब ८ वर्ष लगाएर तयार पारेको थियो। करिब १६ अर्बमा तयार हुने अनुमान गरिएको परियोजनाको निर्माणको काम भारतमा रहेको निर्माण कम्पनी ट्राकटेवल इन्जिनियरिङले गरिरहेको छ।
पन्तले परियोजना ठूलो बाढीले पनि असर नपर्ने गरी निर्माण गर्न लागिएको दाबी गरे। उनकाअनुसार अहिले त्रिशूलीमा पानीको बहाव प्रतिसेकेण्ड ६०० क्युसेक छ। असोजमा बाढी आउँदा यहाँ प्रतिसेकेण्ड ५ हजार क्युसेक पानीको बहाव थियो।
‘यो परियोजना प्रतिसेकेण्ड ९ हजार ८०० क्युसेक बहावलाई पनि धान्नेगरी निर्माण हुँदैछ। यसमा बाढीको असर पर्दैन भन्नेमा हामी विश्वस्त छौं,’ भूगर्भशास्त्री पन्तले भने।
बुढीगण्डकी र त्रिशूलीको दोभानमा बाढी आएको जानकारी गराउने प्रणाली निर्माण गरिसकेको उनले बताए। उक्त प्रणालीले बाढी आएको सूचना तुरून्तै प्रवाह गर्छ। त्यहाँबाट पानी परियोजनासम्म आइपुग्न करिब डेढ घण्टा लाग्छ।
चार वर्षमा निर्माण सक्नेगरी सन् २०२३ को मार्चमा परियोजना निर्माणको सम्झौता गरिएको थियो। परियोजनाका लागि व्यक्तिको निजी जमिन करिब ५० रोपनी र वन क्षेत्र रहेको सरकारी जमिन २२ हेक्टर प्रयोग गरिएको छ।