करिब ९ महिनाअघि मोरङको उर्लाबारीस्थित चारघरेबाट एउटा हिउँ चितुवा (प्यान्थेरा अनसिया) लाई उद्धार गरियोे। नेपालमा समुद्री सतहदेखि ३०००–६००० मिटरसम्म मात्रै रेकर्ड गरिएको हिउँ चितुवा १४६ मिटर उचाइमै भेटिनु असामान्य घटना थियो।
वन्यजन्तुका विज्ञहरू कसैले उर्लाबारी आसपासमा यो हिउँ चितुवालाई पालिएको हुनसक्ने आकलन गरेका थिए। कोहीले हिमाली क्षेत्रबाट सिकारीले समातेर बेच्न ल्याएको बच्चा भागेको हुनसक्ने अनुमान गरेका थिए।
कसैको आकलन थियो, ‘उपल्लो क्षेत्रबाट बाटो बिराएर तल्लो क्षेत्रमा आइपुगेको हुनसक्छ।’
तराईमा भेटिएको हिउँ चितुवाको विषयमा विज्ञहरूको बोली बाझिएको थियो।
लामो समय लगाएर गरिएको अध्ययनबाट उर्लाबारीमा भेटिएको हिउँ चितुवा बाटो बिराएर तल्लो क्षेत्रतिर झरेको देखिएको छ।
२३ जनवरी २०२४ बाट उद्धार गरिएको हिउँ चितुवालाई ललितपुरको जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरेको सदर चिडियाखानामा लगिएको थियो। चिडियाखानामा एसी, कुलरको माध्यमबाट हिमाली क्षेत्रको तापक्रम कायम गरि उसको उपचार र अध्ययन गरियो। उपचारसँगै त्यहाँ देखिएको गतिविधि, शारीरिक अध्ययन, दिसाको सूक्ष्म अध्ययनबाट ऊ आफ्नो बासस्थानबाट बाटो बिराएर तल्लो क्षेत्रमा आई अड्किएको देखिएको हो।
यो अध्ययनको नेतृत्व गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख मधु क्षेत्रीले अनुसन्धानकाक्रममा उक्त हिउँ चितुवाले हिमाली क्षेत्रमा पाइने ‘नाउर’ खाएको भेटिएको बताए। उसको दिसामा भेटिएको रौंको अध्ययन गर्दा नाउरको सिकार गरेको पाइएको थियो। नाउर हिउँ चितुवाको महत्वपूर्ण आहार हो। यो समुद्र सतहदेखि २५००–५५०० मिटर उचाइमा रहन्छ।
‘सिकार गरेपछि हिँड्नेक्रममा उसले बाटो बिराएको हुनसक्छ,’ क्षेत्री भन्छन्, ‘आमाबाट छुट्टिएको बच्चा चितुवा बाटो बिराएर धेरै तल उर्लाबारी आइपुगेको संभावना प्रवल देखिएको छ।’
त्यतिखेर उर्लाबारीको तापक्रम औसत अधिकतम २२.१, न्यूनतम ९.२ डिग्री सेल्सियस थियो। त्यतिखेर कञ्चनजंघा संरक्षण क्षेत्र रहेको ताप्लेजुङको तापक्रम अधिकतम १३.७ देखि न्यूनतम ३.४ डिग्री सेल्सियससम्म थियो।
‘अधिकतम तापक्रम करिब ८ डिग्रीको फरक पर्यो। त्यो हुस्सु लाग्ने मौसम हो। हिँड्दै गर्दा हुस्सुको पनि असर भयो होला। बरालिँदै तराईको बस्तीमा पुग्यो। फर्कनेक्रममा अल्मलियो,’ क्षेत्री भन्छन्, ‘उर्लाबारी हिउँ चितुवाका लागि उपयुक्त ठाउँ होइन। त्यहाँ ल्याएर पाल्न त सम्भवै छैन।’
साथै चिडियाखानाको इन्क्लोजरभित्र देखिएको लजालु स्वभाव, आक्रामक गतिविधिहरूले पनि यो चितुवालाई मान्छेले पालेको वा समातेर ल्याएको भन्न नसकिने उनी बताउँछन्।
उनकाअनुसार सामान्यतया हिउँ चितुवाको बच्चा २०–२२ महिनासम्म आमासँगै रहन्छ। यो अवधिमा आमाले पुनः गर्भधारण गर्दैन। जब पोथी चितुवा गर्भधारणका लागि तयार हुन्छे उसको पछि भाले आउन थाल्छ। २०–२२ महिनाको बच्चासँग आमा छाडेर हिँड्नुको विकल्प हुँदैन। ऊ आफ्नो स्थायी क्षेत्र कायम गर्नतर्फ लाग्छ। धेरैजसो क्षेत्रमा अरू वयस्क चितुवाको नियन्त्रण रहने हुनाले भर्खरै आमा छाडेका बच्चालाई क्षेत्र कायम गर्न समय लाग्छ।
क्षेत्रीकाअनुसार उर्लाबारीमा भेटिएको ३७ किलोको भाले हिउँ चितुवा डेढ देखि दुई वर्षजतिको थियो। भेटिएको ठाउँबाट कञ्चनजंघा संरक्षण क्षेत्रको हवाई दूरी करिब ५७ किलोमिटरको छ। जमिनमार्फत करिब १०० किलोमिटरजति टाढा पर्छ। विभिन्न अध्ययनहरूले हिउँ चितुवाले यति दूरीको यात्रा केही दिनमै गर्ने देखाएको छ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा रेडियोकलर जोडिएको एउटा पोथी हिउँ चितुवाले उपयुक्त वासस्थानको खोजीमा लामो दूरीको यात्रा गरेको पाइएको थियो। उपयुक्त बासस्थान खोज्दै उसले सयौं किलोमिटर यात्रा गरेको जीपीएस रेकर्डमा देखिन्छ। धेरैतिर पुगेपछि ऊ पुरानै ठाउँमा फर्किएको थियो।
‘उर्लाबारीबाट उद्धार गरिएको हिउँ चितुवाको आहाराको विश्लेषण गर्दा तराईमा देखा पार्नुअघि नै नाउर खाएको देखिन्छ। यसको अर्थ आफ्नो लागि उपयुक्त क्षेत्र खोज्दै नाउर खाएको केही दिनमा ऊ तराई आइपुगेको हो। कसैले पालेको भए वा व्यापारका लागि राखिएको भए आहार फरक हुने थियो,’ उनले भने, ‘उसको शारीरिक परीक्षण गर्दा सिकारीले समातेको, आक्रमण गरेको जस्तो निशाना थिएन। त्यसैले त्यसलाई कसैले समातेर ल्याएको होइन।’
उद्धार गरिएको केही दिनमा डिभिजन वन कार्यालय उर्लाबारी र राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका अधिकारीहरू सम्मिलित टोलीले हिमचितुवा भेटिएको क्षेत्रको विस्तृत अध्ययन गरेको थियो। टोलीले चुरेसँग जोडिएको बक्रा खोलाको दुवै किनारामा ५ किलोमिटर पैदल यात्रा गरेको थियो। त्यहाँ चितुवाका पाइला भेटिए। तर कुन चितुवाको पाइला हो एकिन भएन। अध्ययनका क्रममा चारघरेका बासिन्दासँग अन्तरक्रिया गरेको थियो।
उक्त क्षेत्रमा एक किसानले बताए अनुसार २३ जनवरीको बिहान साढे नौ बजेतिर बारीमा बिरालो देखेपछि ढुंगाले हानेका थिए। भागेपछि मात्रै थाहा भयो ऊ बिरालो नभएर चितुवा थियो। त्यसपछि उनी चिच्याए। उनको आवाज सुनेर छिमेकीहरू भेला भए। सबै मिलेर चितुवालाई खेद्न थाले। चितुवा बाँसको गाँझभित्र लुक्यो। उसलाई गाउँलेले घेरे। अनि डिभिजन वन कार्यालयलाई खबर गरे। वन र एनटिएनसीका प्राविधिकहरूको टोली त्यहाँ पुगेपछि हिउँ चितुवा रहेको पुष्टि भएको थियो।
उद्धार गरेपछि उसलाई चिडियाखानाको विशेष सघन उपचार कक्षमा राखेर उपचार गरियो। कुखुरा र भैंसीको मासु खुवाउन थालियो। उद्धारको छैठौं र सातौं दिनमा उसको दिसा संकलन गरि सूक्ष्म परीक्षण र विश्लेषण गरिएको क्षेत्रीले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदी समयमै उद्धार टोली पुगेकाले हिउँ चितुवा बाँच्न सफल भएको बताउँछन्।
‘एनटिएनसी र वन कार्यालयको टोली एक घण्टामात्रै ढिला पुगेको भए यसलाई मारिसक्थे होला। स्थानीयबासी असाध्यै आक्रोशमा थिए। सयौं जनाले बाँसका भाटा बोकेर उसलाई घेरेका थिए,’ सुवेदी भन्छन्, ‘भाग्नेक्रममा उसको खुट्टामा चोट लागेको थियो। ऊ घाइते र कमजोर थियो।’
उद्धार गरिएपछि वन तथा वातावरण मन्त्रालयको आग्रहमा सदर चिडियाखानामा ल्याएर उपचार र अध्ययन गरिएको उनले बताए।
सामान्यतया उद्धार गरिएको वन्यजन्तुलाई एक हप्ताभित्रमा उसको वासस्थानमा छाड्नुपर्छ। स्वास्थ्य ठीक भएको अवस्थामा एक हप्ताभित्रै वासस्थानमा छाड्न सकियो भने ऊ प्राकृतिकरूपमै रहन सक्छ। तर ढिलो भयो भने वन्यजन्तु मान्छेसँग घुलमिल हुन थाल्छन्। प्राकृतिकरूपमा छाडिदिए पनि मानव बस्तीतिर आउने र द्वन्द्व बढ्ने डर हुन्छ।
‘लामो समय थुनेर राखेपछि उसले दुःख गरेर सिकार गर्न छाड्छ। सजिलो बाटो खोज्दै मानव बस्ती जान थाल्यो भने द्वन्द्व भइहाल्छ। त्यो अवस्थामा कुटाइ खाएर, पासोमा परेर, विष खाएर मर्ने नै हो,’ सुवेदी भन्छन्, ‘यो हिउँ चितुवाको उपचार र अध्ययनमा समय लाग्यो। तुरून्तै छाड्न सक्ने अवस्था भएन।’
अहिले पनि यो हिउँ चितुवालाई प्राकृतिक वासस्थानमा छाड्ने वा चिडियाखानामै राख्ने दुई विकल्प छन्। सुवेदी दुईमध्ये दोस्रो विकल्प लिनुपर्ने बताउँछन्।
‘हामीलाई पनि यसलाई एउटा इन्क्लोजरभित्र सीमित गर्न मन छैन। तर अर्को विकल्पतिर जाँदा द्वन्द्व बढ्ने, बाँच्नै गाह्रो हुने संभावना बढी हुन्छ,’ उनी भन्छन्, ‘ऊ अहिले चिडियाखानामै रमाउन थालेको छ। तापक्रम व्यवस्थापन गरेपछि ऊ स्वस्थ पनि भएको छ। त्यसैले अब चिडियाखाना वा उद्धार केन्द्रमै राख्दा उचित हुन्छ।’
उनले दार्जिलिङको चिडियाखानामा पनि हिउँ चितुवालाई तापक्रम व्यवस्थापन गरेर राखिएको बताए। दार्जिलिङको चिडियाखाना समुद्र सतहदेखि २ हजार १३४ मिटर उचाइमा छ। ललितपुरस्थित सदर चिडियाखाना १ हजार ३२० मिटर उचाइमा छ।
सुवेदी कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवा बाटो बिराएर खोलाखोलै उर्लाबारी आइपुगेको हुनसक्ने बताउँछन्।
हिउँ चितुवा दक्षिण र मध्य एशियाका १२ देशमा पाइन्छ। नेपालमा हिउँ चितुवा कति छन् भन्ने यकिन तथ्यांक छैन। करिब ३०० देखि ४०० वटा रहेको अनुमान गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले हिउँ चितुवालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। राष्ट्रिय रातो सूचीमा यो संकटापन्न वन्यजन्तुमा सूचीकृत छ ।
लामो समयदेखि हिउँ चितुवाको विषयमा अध्ययन गर्दै आएका क्षेत्री मान्छेका गतिविधि, अवैध सिकार, वासस्थानको ह्रास, जलवायु परिवर्तनको असर, पशुधनको विनास, प्रतिशोधात्मक हत्याजस्ता कारणले चितुवाहरू संकटमा पर्दै आएको बताउँछन्। उनले यो अध्ययनले हिउँ चितुवाको विषयमा थप अनुसन्धानका लागि नयाँ बाटो खोलेको बताए।
‘पारिस्थितीकी प्रणालीका लागि अति आवश्यक यो प्रजातिको अस्तित्वको लागि महत्त्वपूर्ण कोरिडोर र कनेक्टिभिटीको आँकलन गर्न विस्तृत अनुसन्धानको आवश्यकता छ,’ उनी भन्छन्, ‘तिनीहरूको लामो भ्रमण यात्रा कहिलेकाहीं यस्तो अनपेक्षित हुन्छ यसको मुख्य कारण विकासका पूर्वाधारहरूले भइरहेको वासस्थानको विखण्डन, मानवीय अवरोधहरू हुन्।’
नेपाल सरकारको हिउँ चितुवा अनुसन्धान कार्यदलको प्रतिवेदनले कञ्चनजंघा संरक्षण क्षेत्रलाई जोड्ने विद्यमान वन क्षेत्र र हिउँ चितुवाको हालको स्थान अत्याधिक खण्डित रहेको उल्लेख गरेको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई तल्लो भू–भागको वन र संरक्षित क्षेत्रसँग जोड्ने उत्तर–दक्षिण करिडोरमा केन्द्रित रहेर अनुसन्धानहरू शुरू गर्नु आवश्यक रहेको क्षेत्री बताउँछन्। ‘यसले आगामी दिनमा हिमचितुवा तथा अन्य महत्वपूर्ण प्रजातिको आवागमनलाई सहज तुल्याउन, भू–बनोट, वासस्थानको अवस्था बुझ्न र तराईदेखि उच्च भूभागसम्म सम्पर्क कायम गर्न महत्वपूर्ण हुनेछ,’ उनले भने।
उर्लाबारीमा भेटिएको हिउँ चितुवाको अध्ययनमा क्षेत्रीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदी, निर्देशक चिरञ्जिविप्रसाद पोखरेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम, राजकुमार गुरूङ, पर्वत जंग थापा र कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवसहितको समूहले काम गरेको थियो।
यो पनि: सदर चिडियाखानाको आइसोलेसनमा हिउँचितुवा (तस्बिरहरू)
कसरी पुग्यो मधेसमा हिउँचितुवा?