चितवन राष्ट्रिय निकुञ्जका पुराना हात्तीमध्येको एक लम्बोदरप्रसादको मंगलबार मृत्यु भएको छ।
यो हात्ती २०४४ सालमा हात्ती प्रजनन् केन्द्र स्थापना हुने समयमा भारतबाट ल्याइएको थियो।
नेपालले भारतलाई चारवटा एकसिंगे गैँडा उपहार दिएपछि भारतले नेपाललाई १६ हात्तीहरू दिएको थियो। लम्बोदरप्रसाद भारतले दिएका ११ पोथी र ५ भाले मध्येको एक भाले हात्ती हो।
अन्दाजी ६७ वर्षको यो हात्ती चितवन राष्ट्रिय निकुञ्जको सौराहा कार्यालयमा रहेको हात्तीसारमा रहँदै आएको थियो।
सधैं झैं मंगलबार इचर्नी क्षेत्रमा चराउन लगिएको हात्तीलाई जंगली हात्ती ‘मकुना’ बाट जोखिम भयो। मकुनाबाट जोगाउन भनेर फरक बाटो ल्याउँदैगर्दा लम्बोदर बाटैमा ढलेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले बताए।
‘मकुनाले अरू भाले हात्तीलाई देखिसहँदैन। त्यसमाथि पालुवा हात्ती अगाडि पर्यो भने झनै आक्रामक हुन्छ। मकुना लम्बोदर भएकै क्षेत्रमा रहेको थाहा पाएपछि जोगाउन भनेर फरक बाटो ल्याउँदैगर्दा बाटोमै ढल्यो,’ डा.श्रेष्ठले भने, ‘हामी हतार हतार उपचारका लागि गएका थियौं तर उठाउन सकिएन।’
हात्तीसारबाट जंगलकै बाटो चराउन लैजाने, जंगलकैबाटो फर्काउने गरिएकोमा मंगलबार फर्काइएको बाटो लामो थियो। ‘सौराहादेखि केही किलोमिटर पर मगरटोलतिर आइपुगेपछि ढलेछ। एकपटक त बल्ल तल्ल उठेछ, अर्को पटक ढलेपछि उठ्न सकेन,’ उनले भने।
श्रेष्ठकाअनुसार यो हात्ती पाँच वर्षअघिसम्म नवलपरासी जिल्लामा पर्ने गिद्धेनी पोष्टमा कार्यरत थियो। कुनै समय लम्बोदरप्रसाद चितवन निकुञ्जका हात्तीहरूमा सबैभन्दा विशाल मानिन्थ्यो। यसको तौल वयस्क अवस्थामा ४ हजार ७०० किलोसम्म रेकर्ड गरिएको श्रेष्ठ बताउँछन्। यतिधेरै तौल चितवनमा अन्य हात्तीको रेकर्ड गरिएको छैन।
‘लम्बोदरप्रसाद यती बलियो थियो कि एक पटक निकुञ्जभित्र खोलामा एउटा गाडी फसेछ। त्यो गाडीलाई तान्न यसैलाई खटाइयो। उसले गाडी त तान्यो तर दाइने दाह्रा भाँचियो,’ श्रेष्ठले भने, ‘पछिसम्म उसको एउटा दाह्रामात्रै थियो।’
लम्बोदरप्रसादलाई अन्य हात्तीलाई अनुशासन राख्न पनि प्रयोग गरिन्थ्यो। निकुञ्जभित्रका कुनै बयस्क हात्ती मातिएको अवस्थामा लम्बोदरप्रसाद आवश्यक पर्थ्यो।
‘पालिएका बयस्क भाले हात्ती कहिलेकाहीँ मातिन खोज्थे। त्यो अवस्थामा लम्बोदरलाई नजिक लगिदिएपछि शान्त भइहाल्थे। यसको मतलव सबै पालुवा हात्ती उसँग डराउँथे,’ श्रेष्ठले भने, ‘हात्ती हराएको अवस्थामा खोजी गर्न, निकुञ्जभित्रका गाह्रा, अप्ठेरा काममा लम्बोदर महत्वपूर्ण मानिन्थ्यो।’
श्रेष्ठले धेरै उमेर भएका कारण हात्तीको मृत्यु भएको बताए। उनकाअनुसार गिद्धेनी पोष्टमा छँदा नै लम्बोदरप्रसाद कमजोर भइसकेको थियो। पटक–पटक ढलेपछि उसलाई सौराहास्थित हात्तीसार ल्याइयो। यहाँ ल्याएर उपचार र पोषणयुक्त खाना नियमित दिएपछि केही वर्ष गस्तीको काम पनि गर्यो।
‘पछिल्लो समयमा बेला–बेलामा ढल्ने, उपचार गरेर उठाउने गरिएको थियो। यसपालि उठाउन सकिएन,’ उनले भने।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका पशु चिकित्सक डा.अमिर षडौलाले दोस्रो पटक ढल्दा हात्तीले सन्तुलन गुमाएको बताए।
‘पछाडिबाट पेटले फोक्सोलाई थिच्यो, सुँड पनि च्यापियो टाउकोले, पोजिसन नमिलेर श्वासप्रश्वासमा समस्या भयो, प्रयास गर्दा पनि उठ्नै सकेन,’ उनले भने।
हात्ती प्रजनन् केन्द्र खोरसोरका प्रमुख मनपुरण चौधरीले मृत हात्तीको मंगलबार राति नै विधिवतरूपमा अन्तिम संस्कार गरिएको बताए। पोष्टमर्टम पछि हात्तीलाई सेतो कपडाले ढाकेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि जमिनमा गाडिएको चौधरीले बताए।
लम्बोदरप्रसाद चितवन निकुञ्जमा रहेका भाले हात्तीहरूमा सबैभन्दा जेठो हो। भाले हात्ती ६० वर्षभन्दा बढी बाँच्नुलाई दुर्लभ मानिन्छ। ऊ भन्दा पुराना पोथी हात्ती धिरेन्द्रकली बेलसर र कोमलकली बगई पोष्टमा छन्। उनीहरूको उमेर ७० वर्षभन्दा बढी भयो।