कुरा गत वर्षको सुरूतिरको हो।
काठमाडौंमा कपडा पसल चलाउने ४७ वर्षीया कल्पना (नाम परिवर्तन) र उनकी बहिनी नाता पर्ने सपना (नाम परिवर्तन) बीच क्यानडा लैजाने काम गर्ने महेश पोखरेल (४२ वर्ष) को विषयमा कुरा हुन्छ।
सपनाले महेशको टिकटक देखाउँछिन्। विदेशका राम्रा घर अगाडि उभिएर उनले बनाएका टिकटक भिडिओ कल्पनालाई मनपर्छ। उनी महेशलाई फलो गर्छिन्।
टिकटकमा साथी बनेपछि कल्पनालाई म्यासेज आउन थाल्छ। उनीहरूका बीचमा मोबाइल नम्बर साटासाट हुन्छ। मोबाइलमा कुरा सुरू हुन्छ। उनी आफ्नो घर काभ्रे भएको र क्यानडामा बस्ने बताउँछन्। अहिले बिदामा नेपाल आएको भन्दै कल्पनालाई क्यानडाको विषयमा सुनाउन थाल्छन्। कल्पनालाई पनि लैजान सक्ने बताउँछन्। तर कल्पना आफू क्यानडा जाने मन बनाउँदिनन्। उनकी छोरी भने विदेश जाने सोचमा थिइन्। पासपोर्ट बनिसकेको थियो तर मेसो मिलेको थिएन।
एक दिन कल्पनाले आफ्नो मोबाइलमार्फत छोरी र महेशका बीचमा कुरा गराइदिन्छिन्। विदेश जाने रहर गरेकी छोरी क्यानडाको कुरा सुनेपछि खुसी हुन्छिन्। उनीहरू भेटेर गफ गर्ने निष्कर्षमा पुग्छन्। तर महेश आफू असाध्यै व्यस्त रहेकाले केही पछिमात्रै भेट्न सक्ने बताउँछन्। धेरै जनालाई क्यानडा लैजान लागेकाले उनीहरूको काम सकेपछि मात्रै भेट्छु भन्छन्।
कल्पना र महेशकाबीचमा नियमित कुराकानी भइरहन्छ। एकदिन महेश कल्पनाको घरमा आइपुग्छन्। कल्पनाको घरमा खुसीको वातावरण सुरू हुन्छ। बहिनीका छोराहरू पनि महेशलाई भेट्न उनको घरमा आइपुग्छन्। कल्पना आफ्नो मिल्ने साथी रचना (नाम परिवर्तन) लाई पनि घरमा बोलाउँछिन्। सबै जना महेशको कुरा सुनेर दंग पर्छन्। यति ठूलो मान्छे आफ्नो घरमा पाहुना बनेर आइपुगेकोमा गद्गद् हुन्छन्।
कल्पनाले अष्ट्रिया बस्ने आफ्ना दाइसँग महेशको कुरा गराउँछिन्। महेशले क्यानडामा आफ्ना नजिकका नातेदारको होटल, रेष्टुरेन्ट रहेको सुनाउँछन्। दाइ पनि महेशको कुरा विश्वास गर्छन्।
वर्षौंदेखि युरोप बसेका दाइ पनि विश्वस्त भएपछि कल्पनाको परिवार/साथी क्यानडा जाने मन बनाउँछन्।
महेश कल्पनालाई खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गरेर सघाउँछन्। मन जित्दै गएपछि माया नामले बोलाउन थाल्छन्। आफ्नो श्रीमती बितेको भन्दै विवाहको कुरा गर्छन्।
तर कल्पना बिहे गर्न तयार हुँदिनन्। क्यानडा टेकेपछि भने बिहे गर्न तयार रहेको बताउँछिन्। दाइले क्यानडा टेकेपछि आइपर्ने सबै व्यवस्था गर्ने विश्वास दिलाएकाले उनी दह्रो भएकी थिइन्।
कल्पनाको घरमा २ दिन बस्दा उनीसहित ६ जना क्यानडाका लागि प्रक्रिया अघि बढाउन सहमत हुन्छन्। त्यसका लागि महेशले मागेजस्ता कागजात बनाउन र पैसा बुझाउन उनीहरू तयार हुन्छन्। भोलिपल्टदेखि वडा कार्यालय पुगेर नाता प्रमाणितदेखि विभिन्न कागजात बनाउने, पासपोर्ट बनाउने दौडधुप सुरू हुन्छ। कल्पनाको घरमा महेशको आउजाउ बाक्लिँदै जान्छ। उनी छिमेकीलाई क्यानडाबाट आएको दाइको साथी भनेर महेशको परिचय गराउँछिन्। आफू र छोरी पनि उनीसँगै क्यानडा जान लागेको सुनाउँछिन्।
क्यानडा जान खोजेका ६ जनालाई पैसा बुझाउन महेश दुर्गा बजगाईं नामकी महिलाको खाता नम्बर दिन्छन्। चितवनका दुई वटा बैंकका खातामा उनीहरू १८ लाख ६५ हजार रूपैयाँ जम्मा गर्छन्। कल्पनाको घरमा रहेको ६ तोला सुनको गहना पनि महेशले लैजान्छन्। उनीहरूले गहना, खातामा र हातमा दिएको गरेर करिब ३५ लाख रूपैयाँ महेशलाई बुझाउँछन्।
कल्पनाको बहिनीको छोरा पोखरामा रहेको घडेरी धितो राखेर दश लाख रूपैयाँ ऋण निकाल्ने प्रकृयामा लाग्छन्। रचना हेटौंडामा रहेको करिब एक करोड मूल्य पर्ने घडेरी १५ लाखमै बेच्न तयार हुन्छिन्।
यी प्रकृया चल्दैगर्दा एक दिन कल्पनालाई व्यावसायिक सम्बन्ध भएका एक पुरूष नविन (नाम परिवर्तन) को फोन आउँछ। उनी नविनलाई आफू क्यानडा जान लागेको बताउँछिन्। को मार्फत, कसरी जान लागेको विषयमा कुरा हुन्छ। कल्पना क्यानडा लैजाने मान्छे असाध्यै राम्रो रहेको सुनाउँछिन्। नविन क्यानडा लैजान्छु भनेर नजिक हुँदै पैसा खाएर हिँड्ने गिरोहको विषयमा कल्पनालाई बुझाउन खोज्छन्। तर कल्पना आफूलाई लैजान लागेको मान्छे त्यस्तो नभएको दाबी गर्छिन्। जब उनी महेशको फोटो नविनलाई पठाउँछिन् क्यानडा पठाउँछु भनेर पैसा खाँदै हिँड्ने व्यक्ति त्यही हो भन्ने नविनले मेसो पाइहाल्छन्। महेशको घर काभ्रे नभई चितवनको भरतपुर हो भन्ने कुरा पनि नविनले नै जानकारी दिन्छन्।
त्यसपछि भने कल्पनाको मनमा पनि चस्को पस्न थाल्छ। महेश निकै छिटो आफूसँग नजिक भएको महसुस गर्छिन्। महेशको फोन उठ्दैन। म्यासेज गर्छिन् फिर्ता आउँदैन। त्यतिन्जेल महेश उनीहरूसँग टाढा भइसकेका थिए। लामो समय सम्पर्कमा नआएपछि कल्पना, रचनासहित पैसा बुझाउनेहरू महेशको खोजीमा लाग्छन्। कहिले काभ्रे पुगेर खोज्छन्, कहिले चितवन आउँछन्। कहिले फोटो लिएर ज्योतिषी, माता, धामी, झाँक्री कहाँ पुग्छन्। तर महेश भेटिँदैनन्।
बुझ्दै जाँदा महेशले विभिन्न ठाउँमा अरूलाई पनि यसैगरी फसाएर पक्राउ पर्दै छुट्दै गरेको थाहा हुन्छ।
महेशले कहिले काठमाडौंकी श्रीमान बितेकी महिला, कहिले कावासोतीकी अधबैसे महिलालाई फन्दामा पारेर लाखौं रूपैयाँ लिएको अभियोगमा पक्राउ परेका हुन्छन्। त्यसपछि कल्पना प्रहरीको सम्पर्कमा पुगेर महेशलाई भेट्छिन्। उनी सबै पैसा फिर्ता गर्न तयार हुन्छन्। अन्ततः पैसा फिर्ता गर्ने सहमति गरेर महेश प्रहरीबाट छुटछन्। कल्पनाको समूहले पनि ११ लाख ४० हजार रूपैयाँको चेक पाउँछन्। अरू पैसा बिस्तारै फिर्ता गर्ने प्रतिबद्धता स्वीकार्छन्।
तर चेक साटिँदैन। महेश फेरि हराउँछन्।
त्यसपछि गएको फागुनमा कल्पना महेशको घर पत्ता लगाएर भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको मेलमिलाप समितिको सम्पर्कमा पुग्छिन्। आफूसहितका व्यक्तिहरू ठगिएको निवेदन दिन्छिन्।
मेलमिलाप संयोजक पार्वती ढकाललाई सुरूमा यो कुरा ठूलो लाग्दैन। समितिमा ठगीका निवेदन धेरै आइराख्ने भएकाले सामान्य रूपमा लिन्छिन्। केही दिन बोलेको भरमा पैसा दिने भनेर कल्पनालाई हप्काउँछिन्। कल्पनाले धेरै अनुरोध गरेपछि पार्वती समितिमा महेशका बाबु, आमालाई बोलाउँछिन्। तर उनीहरू समस्या समाधानका लागि गम्भीर देखिँदैनन्।
गत असार १६ गते कल्पना, रचनासहित ३ जनाले जिल्ला प्रहरी कार्यालयमा महेश पराजुलीविरूद्ध बैंकिङ कसुरमा जाहेरी दिन्छन्।
यता मेलमिलाप संयोजक पार्वती महेशको सम्पर्कमा पुग्न प्रयास गर्छिन्। उनको टिकटकमा फलो गर्छिन्। करिब ७ महिनापछि बल्ल महेशले पार्वतीलाई फलोव्याक गर्छन्। तुरून्तै म्यासेज पठाउँछन्।
महेश सोध्छन्–हजुरको घर कता हो?
पार्वती–रामनगर हो। तपाईंको?
महेश–काठमाडौं हो। मिल्छ भने मोबाइल नम्बर दिस्यो न।
पार्वती–किन?
महेश–होइन अप्ठ्यारो पर्दैन भने दिस्यो भनेको नि।
त्यो दिन पार्वतीले नम्बर दिइनन्। छिट्टै नम्बर दिँदा हलुका भइन्छ नि भन्ने उनलाई लाग्छ।
अर्को दिन बिहान
पार्वती–गुड मर्निङ
महेश–गुड मर्निङ। नम्बर दिइस्यो न।
उनले नम्बर दिइन्। तुरून्तै मिसकल आयो। दिउँसो फोन नै आयो।
पार्वती–को बोल्नुभयो?
महेश–चिन्नु भएन?
पार्वती–नाइँ चिनिनँ।
महेश–म महेश पराजुली।
पार्वतीले तुरून्तै फोन काटेर कल्पनालाई फोन गरिन्। महेश पराजुलीको स्वर महिलाको जस्तो छ भनेर सोधिन्। कल्पनाले हो भनेपछि महेशलाई कलब्याक गरिन्। म अहिले एउटा मिटिङमा छु,४ बजेतिर कुरा गरौंला है भनेर राखिन्।
‘४ बजे नै फोन आयो। म सहकारी संस्थाको बैठकमा थिएँ। ५ मिनेटमा घर पुगेर फोन गर्छु भनें। घर पुगेर फोन गरिहालें। उसले ह्वाट्स एपमा बोलायो। भिडिओ देखाउन भन्यो तर देखाइनँ,’ पार्वतीले भनिन्।
असोज ६ गते महेशले पार्वतीलाई उनको श्रीमानबारे सोधे।
पार्वती–उहाँ हुनुहुन्न। धेरै वर्ष भइसक्यो।
महेश–ए सेम रहेछ।
पार्वती–तपाईंको पनि मेडम हुनुहुन्न?
महेश–डाक्टर थिइन् गाडी चलाउँदा दुर्घटना भएर बितिन्।
पार्वती–छोरोछोरी नि?
महेश–क्यानडा छन्।
महेश–तिम्रो टिकटकको फोटो, भिडिओ कस्तो राम्रो लाग्यो, साडी कति राम्रो सुहाएको, सर्लक्क हाइटी, मोटी।
पार्वती–हो र!
महेश–विदेशतिर पनि गइराख्ने रहेछौ। सम्पत्ति प्रशस्तै छ जस्तो छ।
पार्वती–छोरीहरू विदेश छन्। म पनि गइराख्छु। सम्पत्ति चाहिँदो छ।
त्यसपछि महेशले पार्वतीलाई विवाहको प्रस्ताव राखे।
पार्वती–यत्रो वर्ष त एक्लै बसें यो उमेरमा के बिहे गर्ने?
महेश–होइन नि, अब हो हामीलाई सहारा चाहिने नै। भगवानले यसैका लागि मलाई नेपाल ल्याएजस्तो लाग्यो।
पार्वती–भेटौं न त कतै। भेटेर कुरा गरौं।
महेश–कता भेट्ने?
पार्वती–कता हुनुहुन्छ अहिले?
महेश–हेटौंडा छु।
पार्वती–त्यसो भए म रामनगरबाट आउँछु, तपाईं हेटौंडाबाट आउनु लोथरमा भेटौं।
महेश–लोथर त कता कता सुनेको हो तर चिन्दिनँ।
पार्वती–त्यसो भए सौराहा आउनु कफी खाएर गफ गरौंला।
महेश–जबसम्म सिन्दुर र पोते लगाउँदिनँ, त्यो बेलासम्म म सँगै बस्दिनँ।
पार्वती–बस्ने होइन भेटेर कफी खाँदै गफ गर्न त हुन्छ नि। अहिले सोह्र श्राद्धको बेला पनि छ बिहे गर्न मिल्दैन।
महेश–हामी एक पटक परिवार बिग्रिएकोलाई केही गर्दैन सोह्र श्राद्धले।
पार्वती–त्यसो भए आउनु न त मेरै घर। यत्रो कुरा भइसक्यो दुई जनाको मन मिल्यो भने विवाह पनि गरौंला। मलाई र तपाईंलाई पुग्ने प्रशस्तै सम्पत्ति छ। एउटा साथमात्रै हो चाहिएको मलाई पनि।
महेश–हुन्छ। सिन्दूर रेडी बनाएर बस।
पार्वती–तपाईंका लागि औंठी पनि रेडी बनाउँछु।
उनीहरूका बीचमा राति करिब १२ बजेसम्म ह्वाट्स एपमा कुरा भयो।
असोज ७ गते पार्वतीले महेशसँग भएको सबै कुरा प्रहरीलाई बताइन्। कल्पनाको समूहलाई पनि बोलाइन्। प्रहरीसहितको टोली रामनगरमा गएर महेशलाई समाउने निर्णय भयो।
महेश विभिन्न ठाउँको फोटो, टिकटकको भिडिओ पठाउँदै आफू रामनगर आउँदै गरेको जानकारी पार्वतीलाई गराइरहेका थिए। पार्वतीले पहेंलो कपडा लगाएर बस्ने जानकारी गराएकी थिइन्।
प्रहरीसहितको टोली रामनगरमा पर्खिएर बसेको थियो।
दिउँसो एउटा गाडी पार्वतीको नजिक आएर रोकियो। कोट, पाइन्ट, गगमा चिटिक्क परेका पुरूष गाडीबाट प्लास्टिकमा फलफूल झुण्ड्याउँदै ओर्लिए। पार्वतीलाई फलफूल दिनमात्रै भ्याएका थिए प्रहरीले च्याप्पै समाइहाल्यो।
जब कल्पना र रचनालाई पनि त्यहीँ देखे महेश छाँगाबाट खसेजस्तो भए। पार्वतीले आफूलाई फकाएर रामनगर ल्याएको बल्ल थाहा पाए।
महेश पराजुली अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। चितवन प्रहरीका डिएसपी भेषराज रिजालका अनुसार महेशलाई पक्राउ गर्न प्रहरीले धेरै समयदेखि प्रयास गरिरहेको थियो।
‘टिकटकमार्फत् सम्पर्क गरी रकम ठगेर भाग्दै हिँडिरहेको ऊ अन्ततः टिकटकमार्फत् नै समातियो,’ रिजालले भने, ‘उसको विषयमा हामी अनुसन्धान गर्दै जान्छौं। संलग्न अन्यको पनि खोजी गर्छौं।’
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरू एकल महिला पत्ता लगाएर फसाउँदै हिँड्ने गरेको महेशको इतिहास देखिएको बताउँछन्।
‘मेलमिलापको संयोजकले आफ्नै तरिकाले कुरा गरेपछि हामीले समातेका छौं। उसले कति जनालाई यसरी ठगेको छ अनुसन्धानबाट खुल्दै जान्छ,’ एक अधिकृतले भने।
हिरासतमा पुगेका महेश पराजुली पनि क्यानडाको भिसा लगाई त्यहाँ रहेका आफ्ना आफन्तको होटलमा काम लगाउने भनेर पैसा लिएको स्वीकार्छन्। कल्पनाको समूहभन्दा बाहेकका अन्यबाट पनि यसैगरी रकम लिएको उनले स्वीकारे। श्रीमान नभएका केही महिलालाई फकाएर, केहीसँग विवाह, केहीसँग लिभ इन टुगेदरमा बसेर रकम लिएको स्वीकारे पनि उनले अहिलेसम्म कति जनाबाट पैसा लिएको भनेर खुलाएनन्।
जिल्ला प्रहरी कार्यालयमा भेटिएका कल्पना र रचनाले महेशले आफूहरूलाई विश्वासमा पारेर रकम ठगी गरेको बताए।
‘१८ वर्षको छँदा श्रीमान बितेर एकल महिलाको रूपमा रहेकी मलाई पहिले छोरीलाई क्यानडा पठाइदिने लोभ देखायो। पछि म आफै पनि जान चाहें। भएको जति पैसा, गहना लगेपछि बल्ल वास्तविकता थाहा भयो,’ कल्पनाले भनिन्, ‘अहिले ठगिएँ भनेर हल्ला गर्न पनि सकेको छैन। मेरो पैसा मात्रै लगेन, बुढी भनेर प्रचार गर्दै इज्जत पनि लुट्यो। मलाई त मर्छु कि जस्तो लागेको थियो छोराछोरी सम्झिएर मन बुझाएँ। आफूसँग कुरा लुकाएको भनेर छोरा रिसाएको छ। छोरीको ज्वाइँसँग सम्बन्ध बिग्रिएको छ।’
उनीहरू आफ्नो ठगिएको रकम प्रहरीले उठाइदेला भन्ने आशामा छन्।
‘एक पटक मलाई कल्पनाभन्दा पहिले तिमीलाई भेटाउनुपर्ने रहेछ भनेको थियो। किन भनेको रहेछ भन्ने कुरा धेरै पछिमात्रै थाहा पाएँ,’ रचनाले भनिन्, ‘धन्न करोड पर्ने घडेरी बच्यो भन्ने भएको छ।’
मेलमिलापकर्ता पार्वती ढकाल आगामी दिनमा अन्य महिलाहरू नफसून् भन्नका लागि दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँछिन्।
‘यसलाई सार्वजनिक गरेर ठगिएका अन्यको पनि पैसा असुल्नपर्छ,’ उनले भनिन्, ‘सामान्य कारबाही गरेर छाडियो भने फेरि अरू पनि ठगिने, लुटिने जोखिम हुन्छ।’
सामान्य चिनजान र केही दिन बोलेका आधारमा जो कसैलाई विश्वास गर्न नहुने ढकाल बताउँछिन्।