जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ का कृषक रामबहादुर रोकायाका १३ वटा भेडा यो वर्ष चट्याङ लागेर मरे। गएको भदौमा पाटन चराउन लगिएका उनका ५३ मध्ये १३ वटा भेडा चट्याङ लागेर मरेका हुन्। अब उनीसँग ४० वटा भेडा छन्। रामबहादुरले अहिले पनि पाटनमै भेडा चराइरहेका छन्।
तिला गाउँपालिकाकै अर्का कृषक परबहादुर रोकायाका ४ वटा भेडा पनि गत भदौमा मरे। जुम्लाको पान्से पाटनमा चराउन लिएका उनका भेडा पनि चट्याङ लागेरै मरेका हुन्। खुला चौरमा राखिएका भेडामा क्षति पुगे पनि ओत लागेर बसेकाले गोठालालाई भने समस्या भएन। परबहादुरले पनि आफ्ना बाँकी भेडा अहिले पाटनमै चर्न छिमेकी गोठालाको जिम्मा लगाएका छन्।
जुम्लामा यो वर्ष मात्रै चट्याङ लागेर सयौं भेडा मरेका छन्। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा गाउँपालिकाका किसानका पाटन चराउन लगिएका १२९ वटा भेडा मरेका छन्। यस्तै तातोपानी गाउँपालिकाका किसानका ५० भन्दा बढी भेडा चट्याङ लागेर मरेका छन्।
पाँच वर्षअघि जाजरकोटमा पनि २३३ भेडा चट्याङ लागेर मरेका थिए। २०७६ भदौमा जाजरकोटको कुसे पाटनमा चट्याङ पर्दा त्यहाँ चराउन लगेका भेडा मरेपछि कृषकले ठूलो क्षति बेहोर्नुपरेको थियो। जाजरकोटको पाटनमा मरेका भेडा पनि अधिकांश जुम्लाकै कृषकका थिए।
जुम्लामै चार वर्षअघि चट्याङकै कारण झण्डै पाँच सय भेडा मरेका थिए। २०७७ भदौमा पातारासी गाउँपालिकामा पर्ने पाटनस्थित मसिमसेरामा चराउन लगिएका कृषकका ५ सय भेडा चट्याङ लागेर मरेका थिए।
कर्णालीका भेडालगायतका पशुपालन गर्ने कृषकहरूका लागि वर्षात् र हावाहुरीसँगै पर्ने चट्याङ प्रमुख विपद्का रूपमा आइपरेको छ। पछिल्ला वर्षहरूमा चट्याङका कारण ठूलो संख्यामा भेडा सहित अरू पशुचौपाया मर्ने गरेका छन्। विपदमध्येको प्रमुख विपत्तिका रूपमा रहेको चट्याङका घटनाबाट बर्सेनि जनधनको पनि उत्तिकै क्षति हुने गरेको छ।
कर्णाली प्रदेशका जाजरकोट र रूकुमका माथिल्लो क्षेत्रका किसान तथा साविक कर्णालीका अधिकांश जिल्लाका किसान भेडापालन गर्छन्। यीमध्ये धेरैजसोको प्रमुख पेशा नै भेडा पालन हुन्छ। किसानहरूले चिसो सिजनमा भेडालाई घरपायक राख्छन् भने चैतदेखि असोजसम्म पाटनमा चराउन लैजान्छन्।
पाटनमा चराउन लगेका बेला भेडामा बढी क्षति हुने गरेको छ। अग्लो क्षेत्रमा मोबाइल फोन र इन्टरनेटले सहज काम नगर्दा किसानले बेलैमा विपदबारे सूचना पाउनसमेत सक्दैनन्।
‘हामी पाटनमा ल्याएपछि पनि १५/१५ दिनमा भेडाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान्छौं, त्यसो गर्दा कतै फोनै नलाग्ने ठाउँ पनि हुन्छ,’ कृषक रामबहादुर रोकायाले भने, ‘पहिलेको जस्तो रेडियो सुन्ने चलन हरायो, मोबाइलमा मौसमको सूचना पाउनलाई इन्टरनेट चाहियो, पाटनमा बस्ने गोठालालाई यस्तो सुविधा हुँदैन।’
चट्याङ पर्न सक्ने सूचना पाएमा जंगलभित्र वा ओडारमुनि राखेर भेडा बचाउन सकिने उनी बताउँछन्। उनका अनुसार पाटनमा लगिएका भेडा चरनबाट फर्किएपछि रातभर खुला चौरमा बस्छन्।
मौसमी सूचना बेलाबेलामा एसएमएसमार्फत मोबाईल फोनमा प्राप्त गर्न सके सहज हुने उनको भनाइ छ।
‘हामीले भेडा लिने पाटनमा इन्टरनेटको सम्भावना कमै हुन्छ, हामीले त चट्याङको जोखिम हुँदा फोनको म्यासेजमै जानकारी पाए सबैभन्दा राम्रो हुन्थ्यो।’ रोकायाले भने।
कर्णाली प्रदेशका अधिकांश क्षेत्र इन्टरनेटको पहुँचभन्दा बाहिर छन्। बर्खाको समयमा फोनको टावरसमेत नचल्ने स्थानका त्यस्ता नागरिकले इन्टरनेटको माध्यमबाट दिईने मौसमी सूचना तत्काल प्राप्त गर्न सक्दैनन्।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द चौलागाईंका अनुसार जुम्लामा यो वर्ष पहिलेका वर्षहरूको तुलनामा धेरै चट्याङ परेको छ।
'२०७० साल र अहिले चट्याङले धेरै क्षति गरेको छ। त्यो बेला एकैपटक चट्याङ लागेर धेरै भेडा मरेका थिए, यो वर्ष पटक–पटक परेको छ। यतातिर पछिल्लो समय निकै चट्याङ पर्न थालेको छ किन हो,’ उनले भने।
चट्याङका कारण पशुचौपायामा हुने क्षतिले पशुपालन नै प्रमुख पेशा हुने कृषकहरूको आम्दानीको स्रोत गुम्ने गरेको अध्यक्ष चौलागाईंले बताए।
तिला गाउँपालिकाका पशु सेवा शाखाका अधिकृत सुपारीदेवी भट्टराईले चट्याङका कारण भेडा मरेका पालिका भित्रका कृषकहरूको सूची तयार गरी राहतका लागि कर्णाली प्रदेश सरकारलाई पठाइएको बताइन्। कृषकले पालिकामा राहतका लागि निवेदन दिए पनि प्रदेशबाट क्षतिपूर्तिको व्यवस्था हुने थाहा पएपछि सरकारलाई नै पठाइएको उनले बताईन्।
यो वर्षको बर्खामा कर्णाली प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा चट्याङले बढी क्षति पुर्याएको छ।
गत भदौमा मात्र चट्याङ लागेर जाजरकोट र दैलेखमा एक/एक गरी दुई व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार यो वर्षको साउन यता मात्र दैलेखमा १६ पटक चट्याङ परेको छ। यसबाट एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। ६ वटा घरमा क्षति पुगेको छ। दैलेखमा पनि चट्याङले पशुचौपाया मरेका छन्।
प्रहरीसँग भएको पछिल्ला तीन वर्षको तथ्यांकानुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै दैलेखमा चट्याङ पर्ने गरेको छ। धेरै चट्याङ पर्ने जिल्लाहरूम दोस्रोमा रूकुम पश्चिम र तेस्रोमा सुर्खेत रहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकानुसार २०७८ सालयता कर्णालीका १० जिल्लाका १२७ भन्दा बढी स्थानमा चट्याङ परेको छ। यसबाट १८ जनाको मृत्यु भएको छ। १६८ जना घाइते भएका छन्। यसै तीन वर्षको अवधिमा चट्याङका कारण ४८ वटा भौतिक संरचनामा क्षति पुगेको छ भने झण्डै पाँच सय पशुचौपाया मरेका छन्।
मौसमसम्बन्धि पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतमा रहेको क्षेत्रीय कार्यालय हाल कोहलपुरमा सारिएको छ। यो कार्यालय चार वर्ष अघिसम्म सुर्खेतमा थियो।
क्षेत्रीय कार्यालय हटेपछि अहिले सुर्खेत विमानस्थल नजिक रहेको फिल्ड कार्यालयबाट मौसम पूर्वानुमान तथा परिणाम हेर्ने गरिएको छ। फिल्ड कार्यालयमा दुई जना कर्मचारीको दरबन्दी छ। हाल चौथो तहका एक जना मात्र कर्मचारी छन्। फिल्ड कार्यालयले पनि आम मानिससम्म सूचना पुर्याउँदैन। उपकरणमार्फत् प्राप्त भएका पूर्वसूचना तथा विवरण कोहलपुरमा रहेको कार्यालयलाई पठाउँछ।