गोसाइँकुण्डमा रमाउँदै डुबुल्की लगाउने क्रममा तालको पश्चिम–उत्तरी किनार नजिकै दुई युवाले ज्यान गुमाएको पनि एक साता नाघिसकेको छ।
वर्षकै ठूलो जनै–पूर्णिमा मेला भर्न चारै दिशाबाट तीर्थारूको भिड बढेसँगै तालमा दुई युवा बिलाएको दृश्य प्रत्यक्ष देखेकी छिरिङवाङ्मु तामाङ र अन्य साना व्यापारी झन् झन् व्यस्त हुँदैछन्।
तैपनि उनले साउन ११ गते आइतबार दिउँसो अबेर ती दुई युवा डुबेको दुखान्त भुल्न सकेकी छैनन्। समुद्र सतहबाट ४,४०० मिटर उचाइमा हिमाली टाकुराबीच फैलिएको तालको अत्यन्त चिसो पानीमा बिलाएका उनीहरूको शव भोलिपल्ट सोमबार बिहान मात्र नेपाली सेनाले बाहिर निकालेको थियो।
त्यसको एक सातापछिको सोमबार बिहान म गोसाइँकुण्ड उत्तर–पश्चिमी डिलमा उभिएको थिएँ।
लापरबाही र जोखिम
मोरङका दुई युवा डुबेको स्थान नजिकै सोमबार बिहान देखिएका तीर्थारू। तस्बिर: सुरेन्द्र फुयाल
'उनीहरू त्यहीँ तल किनार नजिकै डुबेका थिए। हेर्नुस् त त्यहाँ तल दुई जना मानिस पानीमा उभिएको ठाउँनिर,' डिलदेखि तल्लोपट्टि ताल भित्रबाट जल थाप्दै गरेका एक जोडी महिला र पुरूषलाई देखाउँदै उनले भनिन्।
त्यति भन्दै गर्दा उनी थोरै आत्तिइन्, किनभने यदि कोही त्यसैगरी डुबिहाल्यो भने उनीहरूलाई बचाउने कोही गोताखोर किनारमा थिएन।
न त डुबेकालाई बचाउन आवश्यक डोरी गाँसिएको ट्युब वा लामो लाठो जस्ता कुनै उपकरण नै सोमबारसम्म त्यहाँ पुगिसकेको थियो। तीर्थारू र रमितेहरू तालमा नुहाउन र आफू नुहाएको वा रमाएको दृश्य र क्षण आफ्ना मोबाइलमा कैद गर्न मस्त थिए। एक जना युवा त किनार नजिकै पौडी खेल्दै थिए। उनीहरूलाई रोक्न वा सावधान गराउन त्यहाँ कोही सुरक्षाकर्मी पुगिसकेको थिएन।
गोसाइँकुण्डको उत्तर–पश्चिम डिलबाट तल शिव मन्दिर र त्रिशुल धारा जाने बाटोमा तीर्थारूको भिड बाक्लो थियो। बाटोको दायाँबायाँ थर्पु भनिने अस्थायी टहरा बनाएर व्यापार गर्न व्यस्त स्थानीयवासी ग्राहकलाई चिया खाजा वा पूजा सामग्री किन्न बोलाउन व्यस्त थिए।
ताल किनारमा त्यस्तै थर्पु थापेर बसेका रहेछन् नुवाकोट दुप्चेश्वर घर भएका युवा साजन तामाङ।
साउन ११ को घटनापछि तालमा डुबुल्की लगाउनेको सुरक्षा बन्दोबस्तबारे सोध्दा उनले भने, 'अहिले (सोमबार बिहान १० बजे) सम्म केही पनि भएको छैन। धेरै मानिस किनारमा नुहाइरहेका छन्। कोही डुब्न लाग्यो भने बचाउने कोही छैन।'
दुर्घटना लगत्तै सुरक्षा अधिकारीहरूले सेतोपाटीलाई भनेजस्तो नुहाउन मिल्ने र नमिल्ने क्षेत्र सोमबारसम्म छुट्ट्याइ सकिएको थिएन।
मन्दिर अगाडिको किनारदेखि अलि पश्चिमतिर एक युवा तालको किनार नजिकै पौडी खेल्न मस्त थिए। उनका साथी त्यो क्षण मोबाइलमा रेकर्ड गर्न व्यस्त थिए।
साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाका भिडिओहरूको विश्लेषण गरेका एक अधिकारीका अनुसार तालमा डुबेर मृत्यु भएका युवा पनि 'मोबाइल फोनमा फोटो र भिडिओ खिच्दै' रमाउँदै थिए।
उनले सेतोपाटीसँग भने, 'डुबेर मृत्यु भएका दोस्रा युवा केही क्षणअघि पहिला डुबेका युवाको भिडिओ खिचिरहेका थिए। पछि पहिलो युवालाई बचाउन फाल हालेका उनी पनि बिलाएको भिडिओमा देखिन्छ।'
गोसाइँकुण्डमा विरलै हुने तर बेलाबखत भइरहने त्यो दुर्घटनापछि यो तालबाट धेरै पानी त्रिशुली नदीमा झरिसकेको छ।
तर अहिले केही प्रश्नहरूले धेरैलाई घोचिरहेको छ — गोसाइँकुण्डमा लिइने पवित्र डुबुल्कीका क्रममा हुने यस्ता दुर्घटना रोक्न सरकारले के गर्दै होला? खासगरी जनै–पूर्णिमाको बेला, जति बेला १५ हजारभन्दा बढी तीर्थारू यो ताल पुग्ने अनुमान गरिएको छ?
अझै परसम्म सोच्दा, बाह्रै महिना तीर्थारू र रमितेहरू पुगिरहने गोसाइँकुण्ड स्नान वा डुबुल्कीका क्रममा मानिस डुबेर मर्न सक्ने खतरा पूरै हटाउन अधिकारीहरूले के के काम गर्न सक्लान्?
गोसाइँकुण्डमा युवाहरूसँगै पाका उमेर र ज्येष्ठ नागरिकहरू समेत पुग्ने गरेका छन्। उनीहरूको स्नान थप सुरक्षित गर्न के गर्नुपर्ला?
उद्धारको प्रबन्ध
गोसाइँकुण्डको पश्चिमी किनार। तस्बिर: सुरेन्द्र फुयाल
रसुवाका पुराना पत्रकार ज्ञानेन्द्र न्यौपानेको गणनामा २०४२ सालदेखि अहिलेसम्म गोसाइँकुण्डमा डुबेर कम्तीमा ७ जनाको ज्यान गइसकेको छ। साथै नेपालमा बर्सेनि करिब १,५०० जनाको डुबेर मृत्यु हुने गरेको अनुसन्धानकर्ता ठहर छ।
साउन ११ को दुखान्तपछि रसुवाको मुकाम धुन्चेमा लामा बैठकमा सहभागी अधिकारीहरूले आसन्न मेलामा त्यस्तै दुर्घटना नहोस् भनेर डोरी गाँसिएको ट्युब, तैरिन सघाउने लाइफ ज्याकेट र बिरामी बोक्ने स्ट्रेचर लगायत सामान माथि पठाइसकेका छन्।
ती उपकरण बोकेका प्रहरी र सैनिक मंगलबार दिउँसो धुन्चे–गोसाइँकुण्डको ठाडो उकालो चढ्दै गरेका भेटिए। तीर्थारूको भिड हुने मेला अवधिभर तालको किनारमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी नेपाली सेना र लाङटाङ निकुञ्जका रेन्जर खटाइसकिएको अधिकारीहरूको भनाइ छ।
सोमबारसम्म उनीहरू ताल किनारमा नभेटिए पनि अहिले पुगिसकेको उनीहरू बताउँछन्।
रसुवा र लाङटाङको ठूलो भूभागमा फैलिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार मेलाका बेला ताल किनारमा उद्धारका लागि पोखराको फेवा ताल किनारमा राखिएको जस्तै रबरको डुंगा ल्याउनेबारे समेत गृहकार्य भइरहेको छ।
बाह्रै महिना सुरक्षित स्नान कसरी?
गोसाइँकुण्डको पश्चिमी डिलमा रहेको नमस्ते होटलका सञ्चालक कर्मा तामाङ र उनका श्रीमान सिंगी तामाङ। तस्बिर: सुरेन्द्र फुयाल
बाह्रै महिना तालमा डुबुल्की लगाउने सबैलाई सुरक्षित राख्ने उपाय चाहिँ तालको उत्तर–पश्चिमी डिलमै रहेको नमस्ते होटलका सञ्चालक सिंगी तामाङले सुझाए — यहाँ चार वटा होटल छन् तर हामी यतै व्यस्त रहन्छौं। कुण्डमा नुहाउन आउने मानिसलाई बचाउने हो भने मन्दिर अगाडिपट्टिको किनारदेखि अलि परसम्म रेलिङ लगाएर नुहाउने स्थान छुट्ट्याउनुपर्छ।
'महिला र पुरूषका लागि छुट्टाछुट्टै ठाउँ तोकेर रेलिङ लगाउनुपर्छ,' उनले भने।
तर अधिकारीहरूको चिन्ता अर्कै छ।
नजिकै उस्तै आकार प्रकारका सूर्यकुण्ड र भैरवकुण्ड जस्ता तालहरूको लगभग बीचमा अवस्थित गोसाइँकुण्डलाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत थियो। रामसार क्षेत्रमा अंकित भएका तालतलैयाले अन्तर्राष्ट्रिय महत्त्व बोकेका हुन्छन्। त्यसैले गोसाइँकुण्ड जस्ता सिमसार क्षेत्रको दिगो उपयोग तथा संरक्षण बाध्यकारी हुन जान्छ।
'गोसाइँकुण्ड रामसारमा समावेश निकै ठूलो महत्त्वको ताल हो। त्यसैले त्यहाँ फलामे बार वा रेलिङ लगाएर सौन्दर्य बिगार्न हुँदैन,' गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सेतोपाटीसँग भने, 'बरू मेलाको बेला हामी उद्धारका लागि रबरको डुंगा पनि राख्न सक्छौं।'
तालमा बाह्रै महिना युवाहरूको घुइँचो भइरहन्छ। उनीहरूमध्ये कैयौंबीच भाइरल हुने खालका फोटो र भिडिओ बनाउने प्रतिस्पर्धा चलिरहेको पाइन्छ। त्यस्तै दृश्य मेरो यस पटकको गोसाइँकुण्ड यात्रा क्रममा पनि देखिए।
लाङटाङ निकुञ्जका वार्डेन श्यामकुमार शाह पनि गोसाइँकुण्ड ताल र पदमार्गको भूदृश्य संरक्षित रहनुपर्नेमा जोड दिन्छन्। अहिले नै उनी तालसम्म पुर्याइएको बिजुलीको तार भूमिगत गर्नुपर्नेमा जोड दिइरहेका छन्।
गोसाइँकुण्डको किनारमा रेलिङ लगाउनुपर्ने सुझावबारे उनको धारणा के होला?
'हो गोसाइँकुण्डमा ज्येष्ठ नागरिकहरू समेत पुग्ने गरेका छन्। त्यसैले नुहाउने बेला उहाँहरूको सुरक्षाको प्रश्न निकै महत्त्वको छ। ताल किनारको निश्चित ठाउँलाई स्नान गर्ने क्षेत्र तोकेर त्यहाँ भूदृश्य नबिग्रिने गरी रेलिङ लगाउने सुझावबारे छलफल अघि बढाउन सकिन्छ,' उनले भने।
हरिद्वार, भारत। तस्बिरः सुरेन्द्र फुयाल
शाहले भारतको उत्तराखण्ड स्थित प्रसिद्ध हिन्दु तीर्थस्थल हरिद्वारमा गंगा नदी किनारमा स्नान गर्ने तीर्थारूको सुरक्षाका लागि सुरक्षित रेलिङ लगाइएको देखेका रहेछन्।
'त्यस्तै खालको रेलिङ गोसाइँकुण्डमा पनि लगाउन सकिन्छ,' उनले भने।
पदमार्गमा जोखिम
हिमाली क्षेत्रको पदयात्रालाई साहसिक खेल मानिन्छ। तर गोसाइँकुण्ड वा लाङटाङ वा अन्यत्रका साहसिक पदयात्रामा जान लागेका युवाहरूले सडक र पदमार्गको अवस्थासँगै मौसम पूर्वानुमानप्रति पनि सचेत रहनैपर्छ।
उदाहरणका लागि गोसाइँकुण्ड पदयात्रा सुरू हुने धुन्चे परको घट्टेखोलामा त्रिशुली नदीमा ठूलो बाढी आएका बेला मानिसलाई बाढीले बगाउने जोखिम रहन्छ। त्यसै क्षेत्रमा रहेका निकै अग्ला अग्ला भिरबाट पहिरो वा ढुंगा खस्न सक्ने जोखिमबारे पनि सचेत रहनैपर्छ।
घट्टेखोला। तस्बिरः सुरेन्द्र फुयाल
काभ्रेको तेमालबाट गोसाइँकुण्ड हिँडेको तामाङ समुदायको धामी झाक्री टोली। तस्बिर: सुरेन्द्र फुयाल
बाटोमा रहेका होटल तथा खाजा घरमा सजिलै पाइने स्थानीय रक्सी वा झ्वाइँखट्टे धेरै सेवनले उच्च हिमाली क्षेत्रमा तपाईंको स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे त थाहै होला।
साथै छिटो छिटो एकै दिनमा काठमाडौं (१३०० मिटर) वा पोखरा (८०० मिटर) बाट ४४०० मिटरको भूभागमा पुग्दा हुने लेक लाग्ने जोखिमबारे पनि जानकार हुनु नै होला।
यी पनि पढ्नुस्ः
के गोसाइँकुण्डले 'तानेर' मानिस डुब्ने गरेका हुन्?
जनै पूर्णिमामा गोसाइँकुण्ड जाँदै हुनुहुन्छ? यी ५ कुरामा सावधानी अपनाउनुहोस्
(लेखक सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal