आइतबार छात्रावासको गेटमा केही प्रहरी र सुरक्षा गार्डहरू तैनाथ थिए।
उनीहरूलाई विश्वविद्यालयको निर्देशन रहेछ–‘भित्र कसैलाई प्रवेश नदिनू।’
भित्र रहेका तीनवटा भवन झाडीले घेरिएको छ। यस्तो लाग्छ यहाँ महिनौंदेखि मान्छे बसेका छैनन्। मान्छे बसेको प्रमाण हेर्न भवनको पछाडि वा झाडीभित्र पुग्नुपर्छ। त्यहाँ सिसाका बोतलसहितको फोहोर भेटिन्छ।
‘तपाईंहरू को हो, यहाँ कसैलाई पनि भित्र प्रवेश गर्ने अनुमति छैन,’ सुरक्षागार्ड कडा स्वरमा बोले।
हामीले परिचय दिएपछि एकछिन पर्खनू भन्दै उनले मोबाइलबाट कसैलाई फोन गरे।
‘कसैलाई पनि प्रवेश नदिनु भनेको छ। तपाईंहरू फर्किनुभए हुन्छ,’ सुरक्षागार्डले फोनबाट प्राप्त भएको निर्देशन हामीलाई सुनाए।
हामीले विश्वविद्यालयका उपकूलपति पुण्यप्रसाद रेग्मीलाई पटक–पटक फोन गर्यौं। उनले उठाएनन्। कृषि संकायका डिन अर्जुन श्रेष्ठको मोबाइल स्विच अफ थियो। त्यसपछि रजिष्ट्रार शारदा थपलियालाई फोन गर्यौं। थपलिया र श्रेष्ठ बुधबार हुने विश्वविद्यालयको सिनेटका लागि काठमाडौं जाँदै रहेछन्।
यहाँको कृषि संकायको छात्रावासमा भदौ १३ गते नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका विद्यार्थीहरूबीच झडप भएको थियो। त्यही झडपबारे बुझ्न हामी गएका थियौं।
गेटमै भेटिएका प्रहरीले हामीलाई भदौ १३ को दिनबारे सुनाए।
‘त्यो दिन हामी आइपुग्दा यो ठाउँ रणमैदान जस्तो थियो। विद्यार्थीहरू विद्यार्थी होइन लडाकुजस्ता देखिन्थे। एउटा समूहले अर्को समूहलाई ढुंगा, इट्टा, बोत्तल, क्रिकेटको ब्याट प्रहार गरिरहेका थिए। कोठाभित्र पनि लडाइँ चलिरहेको थियो,’ उनले भने, ‘सुरूमा आएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रण गर्न सकेन। थप प्रहरी आइपुगेपछि बल्ल झडपलाई साम्य पार्न सकियो।’
त्यसपछि विश्वविद्यालयको हाताभित्र प्रवेश कडा पारिएको रहेछ।
झडपमा एक दर्जन बढी विद्यार्थी घाइते भएका थिए। गम्भीर घाइते भएका दुई जना विद्यार्थीको काठमाडौंको वीर र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरू नेपाल विद्यार्थी संघमा आवद्ध थिए। घटनापछि नेपाल विद्यार्थी संघ समर्थित घाइते विद्यार्थीहरूको किटानी जाहेरीका आधारमा प्रहरीले अनेरास्ववियुका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमध्ये तीन जनालाई हिरासतमा राखेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ।
भदौ १३ गते झडप भएको दिन पशु विज्ञान संकायको तेस्रो, पाचौं र सातौं समेस्टरको परीक्षा चलिरहेको थियो। कृषिको सातौं सेमेस्टरमा पढ्नेहरूको छैठौं सेमेस्टरको प्राक्टिकल गरिरहेका थिए। पशु विज्ञानको तेस्रो सेमेस्टरको ६ वटा, पाँचौं सेमेस्टरको ३ वटा र सातौं सेमेस्टरको ५ वटा विषयको परीक्षा हुन बाँकी छँदा झडपलाई कारण देखाएर विश्वविद्यालयले साइन डाई (अनिश्चितकालका लागि बन्द) गरिदिएको थियो।
भदौ २८ गतेबाट हुने तय भएको प्रवेश परीक्षा पनि अनिश्चित भएको छ। विश्वविद्यालय अनिश्चितकालका लागि बन्द भएपछि विद्यार्थीहरू अन्यौलमा परेका छन्।
‘यसपालि डोरी तान्ने प्रतियोगितामा जित–हारको विषयलाई ठूलो बनाएर विवाद बढाउँदै गएछन्। एक पक्षले अर्काको आलोचना गर्नेक्रम बढ्दै जाँदा केही दिनपछि झडपको रूप लिएको जस्तो देखिन्छ,’ विश्वविद्यालयका प्राध्यापकले भने, 'यस्तो हुनु पुरानै रोग हो।'
विश्वविद्यालयमा नौ छात्रावास छन्। पाँचवटामा स्नातक तह पढ्ने पुरूष विद्यार्थीहरू बस्छन्। तीनवटामा विभिन्न तहमा पढ्ने महिला विद्यार्थी बस्छन्।एउटामा स्नातकोत्तर तहका विद्यार्थीहरू छन्।
धवलागिरी, सगरमाथा र कञ्चनजंगा नाम दिइएका तीनवटा भवनहरूमा कृषि संकायमा स्नातक तह पढ्ने पुरूष विद्यार्थीहरु बस्छन्। यी भवनमा राजनीतिक दलका तीन विद्यार्थी संगठन (नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी) को राज चल्छ। उनीहरूले जसलाई चाह्यो उसले छात्रावासमा कोठा पाउँछ।
यी तीन भवन वर्षौंदेखि विद्यार्थी संगठनको ब्यारेक जस्ता बनिरहेका छन्।
‘क्याम्पसमा कस्तो गतिविधि गर्ने, संगठनले भनेको नमान्नेलाई कसरी तह लगाउने, शिक्षक, प्राध्यापक, कर्मचारी, पदाधिकारीहरूलाई कस्तो व्यवहार गर्ने, कसलाई पदाधिकारी बनाउने, कहिले ताला लगाउने जस्ता निर्णय छात्रावासरूपी ब्यारेकभित्रै हुन्छ,’ विश्वविद्यालयका एक प्राध्यापक भन्छन्, ‘निर्धक्कसँग मदिरा पार्टी हुन्छ। कसैको रोकतोक चल्दैन। चाहेजस्तो भएन भने सामान्य विषयमा पनि लडाइँ सुरू भइहाल्छ।’
कृषि क्याम्पसदेखि विश्वविद्यालयसम्मको इतिहास हेर्दा शैक्षिक कार्यक्रमलाई सबैभन्दा धेरै असर यही छात्रावासले पुर्याइरहेको देखिन्छ।
सामान्य विषयमा झडप हुने र त्यसपछि महिनौंसम्म पठनपाठन ठप्प हुने प्रवृत्ति इतिहासदेखि नै रहेको उनले बताए।
२०४२ वैशाख १८ गते तत्कालीन छैठौं पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा स्ववियु सभापति मित्रमणि आचार्यमाथि आक्रमण भएको घटनालाई कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (रामपुर क्याम्पस) मा भएको सबैभन्दा ठूलो घटना मानिन्छ। उपचारको क्रममा उनको मृत्यु भएपछि लामो समयसम्म क्याम्पस बन्द भएको थियो। त्यतिखेर पनि छात्रावासमा विद्यार्थी संगठनकै चल्थ्यो। पञ्चायत कालमा राजनीतिक दलका नेताहरूले पनि छात्रावासलाई सेल्टरका रूपमा प्रयोग गर्थे।
पछि नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उसको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले मित्रमणि घटनाको बदला भन्दै कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्धहरूलाई निसाना बनाउन थाल्यो। त्यसअघि रामपुरमा नेपाल विद्यार्थी संगठन सबैभन्दा बलियो मानिन्थ्यो।
विश्वविद्यालय बन्नुअघि नै रामपुर क्याम्पसले विद्यार्थीहरूबीच धेरै झडप हुने क्याम्पसका रूपमा परिचय बनाइसकेको थियो।
त्रिभूवन विश्वविद्यालय मातहतको क्याम्पसले भोगचलन गर्दै आएको क्षेत्रमा २०६७ सालमा विश्वविद्यालय स्थापना भयो। विकृति भने त्यसपछि पनि हट्न सकेन।
‘बेला–बेलामा झडप हुने, त्यसपछि क्याम्पस बन्द हुने कुरा सामान्य जस्तै थियो। असाध्यै साना कुराबाट विवाद सुरू हुन्थ्यो। त्यो विवाद बढ्दै गएर केही दिनमा विद्यार्थीहरू बीच कुटाकुट हुन्थ्यो,’ रामपुर क्याम्पसबाटै उच्च शिक्षा पुरा गरेका विश्वविद्यालयको अर्का प्राध्यापक भन्छन्, ‘प्रायः लफडाको निर्णय छात्रावासमै हुन्थे। झडप पनि त्यही क्षेत्रमा बढी हुन्थ्यो। विश्वविद्यालय बनेपछि पनि अवस्था त्यस्तै छ।’
ती प्राध्यापककाअनुसार पहिले छात्रावासमा बस्ने विद्यार्थीको छनोट गोलाप्रथाबाट हुन्थ्यो। पछि मेरिटका आधारमा आवासको छनोट हुन थाल्यो। त्यतिखेर खानाका लागि मेस राजनीतिक संगठनका छुट्टाछुट्टै बनाउने चलनको सुरू भयो। त्यतिखेर रामपुर क्याम्पसमा ‘भातमा पनि राजनीति हुन्छ’ भन्ने गरिन्थ्यो।
‘जब नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो चितवनको शक्तिखोरमा ब्यारेक बस्यो। माओवादीले क्याम्पसहरूमा पनि चहलपहल बढाउन थाल्यो। उनीहरूले रामपुर क्याम्पसको छात्रावासलाई शक्तिखोर ब्यारेकको ब्याकअपका रूपमा प्रयोग गर्न थाले। एकातिर अखिल क्रान्तिकारी अर्कातिर नेविसंघ, अनेरास्ववियु लगायतका संगठनको ध्रुविकरण देखिन थाल्यो। क्रान्तिकारी संगठनले छात्रावासको एउटा भवन नै कब्जा गरेर अरूलाई बस्न नदिएपछि अरू संगठनलाई बाँकी भवन बच्यो। पछि बाँडेर अनेरास्ववियु र नेविसंघले लिएको देखिन्छ,’ उनले भने।
विश्वविद्यालय बनेपछि पनि यसमा परिवर्तन गरिएन। छात्रावासमा कसलाई राख्ने भन्ने विषय अहिले पनि सम्बन्धित संगठनले निर्णय गर्छ। आफ्नो संगठनका विद्यार्थी भएनन् भने खाली छाड्ने तर अर्को संगठनका विद्यार्थीलाई नदिने चलन छ। छात्रावासको व्यवस्थापन गर्न विश्वविद्यालयले कृषि संकायका डिन अध्यक्ष रहने होस्टल व्यवस्थापन समिति पनि बनाएको छ। तर विद्यार्थी संगठनका अगाडि त्यो समितिको जोर चल्दैन।
‘स्नातक तहको प्रवेश परीक्षा हुने दिन त क्याम्पस परिसरमा मेला नै लागेजस्तो हुन्छ। विद्यार्थी संगठनका नेताहरू नयाँ विद्यार्थीलाई आफ्नो बनाउन मरिमेटेर लाग्छन्। त्यतिखेर उनीहरूले दिने मुख्य आश्वासन छात्रावासकै हुन्छ,’ ती प्राध्यापक भन्छन्, ‘धेरैजसो झडपहरू प्रवेश परीक्षा हुने बेलातिरै हुन्छ। यसको उद्देश्य नयाँ विद्यार्थीलाई आफ्नो संगठनको पावर देखाउने हो। त्यतिखेर उनीहरू सकेसम्म फकाएर नभए तर्साएर भएपनि आफ्नो संगठनको बनाउने अभियानमा लागेका हुन्छन्।’
विद्यार्थीहरूलाई बेला–बेलामा प्राध्यापक, कर्मचारीहरूले आफ्ना माग पूरा गर्ने माध्यम पनि बनाउने गरेको पाइन्छ। नयाँ शिक्षक, कर्मचारी, प्राध्यापक भर्नाको बेलामा, विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिको बेलामा विद्यार्थीहरूले आन्दोलन गर्ने गरेका छन्। कहिलेकाहीँ त विश्वविद्यालयमा ताला माथि ताला लगाएर महिनौंसम्म पठनपाठन ठप्प पार्ने गरिएको छ।
‘विद्यार्थीहरूलाई उचाल्ने, केही परिहाले हामी मिलाउँछौं भनेर आश्वासन दिने काम राजनीतिक दलहरूले पनि गर्छन्। माउ पार्टीको बल पाएपछि विद्यार्थी संगठन अराजक भएर लाग्ने गरेका छन्,’ उनी भन्छन्, ‘एक किसिमले यहाँ संठगठित अपराध नै भइरहेको छ। छात्रावासभित्र अपराधीले प्रयोग गर्नेजस्ता हतियार राखिन्छ। कहिले संगठनको निर्णयमा कहिले प्राध्यापक, कर्मचारी, कहिले राजनीतिक दलको निर्णयमा छात्रावासबाटै परिचालित हुने चलन छ।’
विश्वविद्यालयका सह–प्राध्यापक ईश्वरीप्रसाद कडरिया पनि विद्यार्थीहरूको झडप यहाँको पुरानो रोग रहेको बताउँछन्। उनकाअनुसार पञ्चायत कालमा व्यवस्थापन परिवर्तनका लागि राजनीतिक दलहरू विश्वविद्यालयलाई सक्दो प्रयोग गर्थे। विद्यार्थीहरूलाई आन्दोलनमा उत्प्रेरित गर्न भूमिका खेल्थे। २०४६ सालमा पञ्चायत त हट्यो तर रामपुर क्याम्पसमा राजनीति थप झाँगियो। राजनीतिक दलहरूले क्याम्पसलाई कार्यकर्ता उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्न थाले।
‘पञ्चायतपछि दलहरूले हस्तक्षेप नगरेको भए राम्रो हुन्थ्यो। तर उनीहरूले त शक्ति आर्जन गर्ने केन्द्र नै क्याम्पसहरूलाई बनाउन थाले। रामपुर क्याम्पसमा सुरू भएको संगठनअनुसारको मेसले विद्यार्थीहरूलाई राजनीतिकरूपमा विभाजित बनायो,’ कडरिया भन्छन्, ‘विद्यार्थी नेताहरूलाई पार्टीले, क्याम्पसको पदमा रहनेले प्रयोग गर्न थाले।’
छात्रावास ब्यारेकीय ढाँचामा चल्न थालेपछि थप समस्या भएको उनको पनि भनाइ छ। सामान्य खाले व्यक्तिगत झगडा फैलिँदै केही दिनमा राजनीतिकरूप लिने गरेको उनले बताए।
विश्वविद्यालय बनेपछि विद्यार्थी संगठनहरूलाई पद जोगाउने हतियारका रूपमा प्रयोग गर्ने गरिएको कडरिया बताउँछन्।
‘सम्बन्धित पार्टीबाट आएका पदाधिकारीले भातृ संगठनका गतिविधिलाई ढाकछोप गर्ने, दोषी भएपनि जोगाइदिने, छानविन नै नगर्ने, भातृ संगठनले पदाधिकारीलाई टिकाउन, आफ्नो पक्षको ल्याउन सहयोग गर्ने प्रणाली बस्दैगयो,’ उनी भन्छन्, ‘कहिलेकाहीँ त विश्वविद्यालयको प्रशासन नै छैन कि जस्तो लाग्छ।’
अन्यभन्दा स्रोत साधनले सम्पन्न भएकाले स्रोत साधन हत्याउन स्थानीयदेखि जिल्ला र केन्द्रसम्मका राजनीतिक दलले आँखा लगाउँदा पनि समस्या बढेको उनी बताउँछन्। कसैले गाडीबाट कसैले जागिरमा फाइदा लिने गरेको र विश्वविद्यालयमा राजनीति दिनप्रतिदिन बढिरहेको उनी बताउँछन्।
यहाँको धौलागिरी नाम दिइएको छात्रावास भवनमा नेपाल विद्यार्थी संघका ९० जना, सगरमाथा भवनमा अनेरास्ववियुका ९० जना, कञ्चनजंगामा अनेराववियु क्रान्तिकारीका ९० जना पुरूष विद्यार्थी बस्ने गरेका छन्।
यी बाहेक महिला छात्रावासमा विभिन्न तहका १७९ जना छात्राहरू बस्छन्।
विश्वविद्यालयको सबै तहमा गरेर अहिले ४ हजार १९१ जना विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा ३ हजार ५५०, स्नातकोत्तरमा ५२६ जना पढिरहेका छन्। ११५ जनाले विद्यावारिधी गरिरहेका छन्। २ हजार ६३९ जनाले कृषिमा स्नातक गरिरहेका छन्। उनीहरूमध्ये ४१८ पुरूष र ४०५ महिलासहित ८२३ जना रामपुरमा पढिरहेका छन्।
छात्रावासमै बसेर स्नातकोत्तरको अध्ययन पूरा गरेका भुवन पौडेल हरेक वर्षको भदौ, असोजताका विद्यार्थीहरू बीच झडप हुने गरेको बताउँछन्।
‘कोठाभित्र बसेर पढिरहेको अवस्थामा एक्कासि होहल्ला सुरू हुन्थ्यो। बाहिर हेर्दा कुटाकुट भइरहेको हुन्थ्यो। धेरै पटक मै पनि कुटिएँ,’ उनले भने, ‘पहिले सामान्य झगडा कुटपिटसम्म पुग्ने गरेकोमा अचेल ज्यानै जाने गरी झडपका घटना हुने गरेको छ। झडपपछि एक महिनाजति क्याम्पस बन्द हुनु त सामान्य भइसक्यो।’
पौडेल यस्ता गतिविधिले केही नेतालाई फाइदा भएको र अरू विद्यार्थीलाई हानी भइरहेको बताउँछन्।
विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मी शिक्षा क्षेत्र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यता हुँदाहुँदै पनि कहिलेकाहीँ सामान्य विषयले जटिल अवस्था उत्पन्न हुने गरेको बताउँछन्। उनले विद्यार्थीहरूको लडाईंका कारण अवरूद्ध भएको शैक्षिक कार्यक्रम जतिसक्दो छिटो सुरू गर्न प्रयास भइरहेको बताए।
उपकुलपति रेग्मीले आगामी दिनमा झडपका घटनाहरू नदोहोरिने गरेर छात्रावास व्यवस्थापन गर्नुपर्छ भन्ने निष्कर्षमा विश्वविद्यालय पुगेको बताए। ‘घाइते भएर उपचार गरिरहेका विद्यार्थी डिस्चार्ज भएपछि केही सहज हुँदै जाला। हामी वार्ता, संवाद, छानविन सबै गरिरहेका छौं,’ उनले भने, 'अब आइन्दा दीगो व्यवस्थापन गर्नका लागि सोचिरहेका छौं।’
छात्रावासका कारण विश्वविद्यालय भद्रगोल भयो बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ नि भन्ने जिज्ञासामा उपकुलपति रेग्मीले भने, ‘हो त्यो छ। हामी उचित निर्णय गर्छौं। अहिले मैले त्यत्ति भने। बुधवार सिनेटमा पनि ती कुरा आउलान्।’
भूकम्पका कारण जोखिम भएर रातो स्टिकर टाँसिएको पुरानो भवनलाई सामान्य मर्मत गरेर विद्यार्थीले प्रयोग गरिरहेको, छात्रावासकै कारण झडप भइरहेकोले छिट्टै कुनै न कुनै उपयुक्त निर्णय हुने बताए।
छात्रावासमा धेरै होहल्ला र झडप भइराखेपछि लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसले पुरूष छात्रावास नै बन्द गरिदिएको छ। त्यहाँ अहिले छात्रावासमा छात्राहरूमात्रै बस्न पाउँछन्। उक्त क्याम्पसले विद्यार्थीहरूका कारण भएको क्षतिको क्षतिपूर्ति पनि विद्यार्थीबाटै भराउने प्रणाली विकास गरेको छ।
२०७८ सालमै भएको थियो होस्टल बन्द गर्ने निर्णय
विश्वविद्यालयमा रहेको पुरूष छात्रावास हटाउने निर्णय २०७८ सालमै भएको थियो। २०७८ फागुन ११ गतेदेखि १५ गतेसम्म छात्रावासमा बस्ने विद्यार्थीहरूका बीचमा पटक–पटक झडप भएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले फागुन १७ गते साँझ ६ बजेसम्म स्नातक तहको पुरूष छात्रवास खाली गर्ने निर्णय गरेको थियो। तर त्यो निर्णय कार्यान्वय हुन सकेन। त्यतिखेरको सहमतिमा भएको विश्वविद्यालयभित्र सिसिटिभी क्यामेरा जडान गरि रामपुर प्रहरी चौकीले ‘मनिटरिङ’ गर्ने विषय पनि कार्यान्वयन हुन सकेन।
छात्रावास विगतमा जसरी चलेको थियो त्यसरी नै चलिरहेको थियो। भदौ १३ गते झडप भएपछि प्रशासनले सबै विद्यार्थीलाई बाहिर निकाल्यो। तर अब के गर्ने भन्ने निर्णय भएको छैन।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले झडपपछि विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल भएको तर कुनै निर्णय नभएको बताए। उनले भरपर्दो, राम्रो व्यवस्थापन र समन्वय व्यवस्थित नभएसम्म छात्रावास सञ्चालन गर्न सम्भव नरहेको बताए।
‘छात्रावास विश्वविद्यालयको सुरक्षाका लागि सबैभन्दा खतरा बनिरहेको कुरामा त्यहाँका पदाधिकारीहरू पनि सहमत हुनुहुन्छ। अहिले होस्टल आफैले चलाउन सक्ने सामर्थ्य छैन बरू त्यहाँ सुरक्षा बेस राख्न सकिन्छ कि भनेर कुलपतिलाई अनुरोध गर्छौं भन्नुभएको छ,’ यादवले भने, ‘अहिले पनि दुई पक्षका विद्यार्थीहरू तुस पालेर मौका पर्दा हान्छु भनेर बसिरहेको जस्तो देखिन्छ। यो अवस्थामा छात्रावास सञ्चालन गरियो भने जुनसुकै समयमा झडप हुने, अंगभंग हुने, मृत्युकै घटना हुनसक्ने खतरा छ। त्यसैले होस्टल चलाउन सुझाव दिने अवस्था छैन।’
स्नातक तहको पुरूष छात्रावास क्षेत्रमा रहेका तीनवटा भवनमध्ये दुईवटा भूकम्पीय जोखिममा छन्। २०७२ सालमा भूकम्प जाँदा यी भवन चर्किएका थिए। दुबैमा ‘रातो स्टिकर’ टाँसिएको छ। तै पनि विद्यार्थीहरूले भवन छाडेका छैनन्।
प्रमुख जिल्ला अधिकारी यादव भूकम्पीय जोखिम रहेका कारण पनि ती भवनहरूलाई छात्रावासको रूपमा प्रयोग गर्न दिन नमिल्ने बताउँछन्।
‘यहाँ भूकम्पीय जोखिम र शान्ति सुरक्षाको जोखिम देखियो। हालको परिस्थितिको आकलन, विश्लेषण गर्दा फेरि झडप हुने र त्यसले ठूलो दुर्घटना निम्त्याउने सिनारियो देखिन्छ,’ यादव भन्छन्, ‘यसको जवाफदेहिता, जिम्मेवारीबोध कसले गर्ने? केही भयो भने हामीमाथि पनि प्रश्न आउँछ।सुरक्षामा परिवर्तन नगरेसम्म छात्रावास चलाउ भनेर सल्लाह दिन सकिँदैन।’
उनले विश्वविद्यालयमा राजनीतिक संगठनको आवरणमा अपराधिक गतिविधि भएको बताए। जे गर्दा पनि राजनीतिक दलको संरक्षण पाउँछु भन्ने विश्वासमा विद्यार्थीहरू अराजक बनेको उनी बताउँछन्।
चितवनका प्रहरी प्रमुख एसपी भावेष रिमालले भदौ १३ गतेको घटना अपराधिक मनासयबाट भएको जस्तो देखिने बताए।
‘घटनास्थलमा पेट्रोल बम जस्तो देखिने वस्तु, अन्य शंकास्पद हतियारहरू पनि भेटिएका छन्। हामी अनुसन्धान गर्दैछौं। केहीलाई नियन्त्रणमा पनि राखेका छौं,’ उनले भने, ‘यो घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने र आगामी दिनमा यस्ता घटना हुन नदिने विषयमा गम्भीर हुनुपर्छ।’
के भन्छन् राजनीतिक दल?
नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेल झडप भएर केही विद्यार्थी गम्भीर घाइते भई अस्पतालमा हुँदा पनि विश्वविद्यालयले बेवास्ता गरेको बताउँछन्। घाइते विद्यार्थीको उपचार र दोषीलाई कारबाही गर्ने विषयमा विश्वविद्यालयको उदासीनता देखिएको उनले बताए।
पोखरेलले विश्वविद्यालयको छात्रावासलाई सुरक्षित र अनाधिकृत व्यक्तिको प्रभाव न्यूनीकरण गर्नुपर्ने कांग्रेसको माग रहेको बताए।
‘सुरक्षित गर्न सजिलो छैन, संभव छैन भने एउटा अध्ययन गरौं। समस्याको कारण होस्टल नै हो भन्ने निष्कर्ष आउँछ भने कारक तत्व होस्टललाई किन राख्ने,’ उनी भन्छन्, ‘हामीसँग फेरि हुनसक्ने संभावित घटनाको शंकाको सुविधा अहिले पनि छ। त्यसैले अध्ययन गरेर स्थायी समाधान निकाल्नुपर्छ।’
उनले दीर्घकालीन समाधान खोज्नतिर नलागी केही दिनमा अवस्था सामान्य हुन्छ अनि छात्रावास खोलौंला भन्ने टालटुले प्रवृत्तिमा क्याम्पस प्रशासन गइरहेको दाबी गरे।
‘त्यस्तो गर्नु प्रत्युत्पादक हुन्छ। अहिलेको जस्तो घटना दोहोरिन नदिन बेलैमा काम गर्नुपर्छ,’ पोखरेलले भने।
नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक छात्रावास नै खारेज गर्नुपर्ने बताउँछन्। विश्वविद्यालयले छात्रावासको नाममा युवाहरूलाई ब्यारेकीकरण गरेको आरोप उनको छ।
‘यो छात्रावास नै होइन एक प्रकारको ब्यारेक हो। यसको नतिजा भनेको झडप नै हो। सधैं भइराख्छ। ब्यारेकमा राखेर विद्यार्थीलाई भिडाउने काम गर्न हुँदैन,’ पाठकले भने, ‘हामीले त छात्रावास नै खारेज गर्नुपर्छ भनेका छौं। अनि त्यसलाई भत्काउनुपर्छ। बन्द गर्ने भनेर पहिल्यै भइसकेको निर्णयलाई अब भनेपनि कार्यान्वयन गर्नुपर्छ।’
उनले छात्रावासलाई कायमै राख्ने हो भने राख्नेले नै सबै जिम्मा लिनुपर्ने बताए।
‘फेरि झडप भयो र मान्छे मर्यो भने कसले जिम्मा लिन्छ,’ अध्यक्ष पाठक भन्छन्, ‘अहिलेकै घटनाको रियाक्सन हुनसक्छ। क्याम्पसले कसरी बचाउँछ? त्यसैले विद्यार्थीहरूलाई ब्यारेकीकरण गर्न एमाले सहमत छैन। केटाहरूलाई राखेर भिडाउने काम आगामी दिनमा गर्न हुँदैन।’
उनले बरू छात्रावास छात्राहरूका लागिमात्रै बनाउन सकिने बताए। त्यसो गर्दा झडपको अवस्था आउँदैन। सुरक्षित छात्रावास तयार पारेर आवश्यकताका आधारमा छात्राहरूलाई मात्रै राख्दा उपयुक्त हुने उनले बताए।
नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी भने विश्वविद्यालयका पदाधिकारीहरूको कार्यसम्पादन कमजोर भएकाले समस्या बढ्दै गएको बताउँछन्। शैक्षिक विकासका लागि प्रणाली बसाउने विषयमा पदाधिकारीहरू गम्भीर भएर नलागेकाले विश्वविद्यालय भद्रगोल बनिरहेका उनी बताउँछन्।
‘विश्वविद्यालयमा शिक्षण, अनुसन्धान र विस्तारका लागि उपयुक्त वातावरण बनाउन सबैभन्दा धेरै भूमिका उपकुलपतिको हुन्छ। तर कृषि तथा वन विज्ञान विश्वविद्यालय जुन उद्देश्यले स्थापना भएको हो त्यो पुरा गर्ने दिशामा गएको छैन। उपकुलपतिले विश्वविद्यालयको प्रणाली बसाउनका लागि काम गर्नुपर्नेमा त्यो उद्देश्यप्रति प्रतिबद्ध नहुने, विद्यार्थी, कर्मचारी, प्राध्यापकको दबाबमा परिरहने समस्या देखियो। यसको अर्थ विश्वविद्यालयले सक्षम उपकुलपति पाएन भन्ने हुन्छ,’ अधिकारी भन्छन्, ‘दोष संरचनालाई लगाए हुँदैन। त्यसलाई व्यवस्थित बनाउने त प्रशासनले हो।’
उनले छात्रावासलाई व्यवस्थित बनाएर चलाउने जिम्मा विश्वविद्यालय प्रशासनको रहेको बताए।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य कृषि विश्वविद्यालयमा अहिले छात्रावास नभई ‘क्याम्प’ चलिरहेको बताउँछन्। उक्त क्याम्प तत्कालका लागि बन्द गरेर व्यवस्थित छात्रावास सञ्चालन गर्नुपर्ने संगठनको धारणा रहेको उनले बताए।
‘२०७८ सालमै बन्द गर्ने निर्णय भइसकेको छात्रावास फेरि किन चलाइयो, त्यतिखेरै निर्णय कार्यान्वयन गरेको भए अहिलेको घटना हुन्थेन होला,’ उनी भन्छन्, ‘भूकम्पीय जोखिम रहेको भवनमा विद्यार्थीलाई बस्न दिनु नै गलत हो। जोखिममा रहेको भवन भत्काएर व्यवस्थित संरचनामा व्यवस्थित छात्रावास सञ्चालन गर्नुपर्छ।’
आचार्यले संगठनलाई नभई विद्यार्थीलाई आवश्यकताका आधारमा सुविधा दिनेगरी छात्रावास सञ्चालन गर्नुपर्ने बताए।
नेपाल विद्यार्थी संघ चितवनका नेता (पूर्व सचिव) अमृत मिश्र विश्वविद्यालयले छात्रावास चलाउने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। संगठनअनुसार नभई सेमेस्टरअनुसार विद्यार्थीलाई आवास सुविधा दिन सकियो भने समस्या हल हुने तर्क उनको छ।
‘फरक सेमेस्टरका विद्यार्थीका बीचमा खासै संवाद पनि हुँदैन। त्यसले झगडा घटाउँछ,’ उनी भन्छन्, ‘अहिलेको जस्तो प्रणालीले छात्रावासलाई कहिल्यै शान्त हुन दिँदैन।’