हेटौंडाकी एक महिलाले भरतपुर अस्पतालमा जन्माएको शिशुको ढाडको तल्लो भागमा ठूलो ट्युमर देखिएपछि हल्लाखल्ला भयो। भर्खरै जन्मिएको बच्चाको शरीरमा देखिएको जटिल समस्याको उपचार गर्न यहाँ सम्भव थिएन। ट्युमरलाई यसै छाडिदिँदा क्यान्सरको खतरा हुनसक्थ्यो।
भरतपुर अस्पतालले शिशुलाई चितवन मेडिकल कलेजमा रिफर गर्यो। अस्पतालका चिकित्सकहरूले ट्युमरले शरीरमा पारेको असरको अध्ययन गर्न एमआरआई गरे। ट्युमरको असर क्षेत्र पहिचान गरेपछि छैठौं दिनमा शल्यक्रिया गरे।
केही दिन बच्चाको आइसियूमा राखेपछि शिशुलाई निको भयो। उनी सामान्य अवस्थामा घर फर्किए।
चितवन मेडिकल कलेजका अपरेशन म्यानेजर पारस अधिकारी यहाँको बाल रोग विभागमा रहेको ‘सुपर स्पेसियालिटी’ सेवाका कारण जटिल समस्या भएका बालबालिकाको उपचार संभव भएको बताउँछन्।
‘प्रायः अस्पतालमा सबै उमेर समूहका बिरामीहरूको उपचार एउटै डाक्टरले गर्ने चलन छ। तर यहाँ बालबालिकाको उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ,’ अधिकारी भन्छन्, ‘बाल रोगमा विशेषज्ञता हासिल गरेका र बालबालिकाको उपचारमा लामो अनुभव भएका चिकित्सकहरू भएकाले जटिल रोगको उपचार पनि संभव भएको छ।’
चितवन मेडिकल कलेजमा बाल रोग विशेषज्ञ, बाल मुटुरोग विशेषज्ञ, पेडियाट्रिक एनेस्थेसियोलजिष्ट, पेडियाट्रिक सर्जन, पेडियाट्रिक अर्थोपेडिक्स छन्। ‘बाल रोगका धेरै विधाका विशेषज्ञ चिकित्सक काठमाडौं बाहिर यहाँमात्रै रहेकाले चितवन मेडिकल कलेज रिफरल अस्पताल बनिरहेको छ,’ अधिकारीले भने।
बाल रोग विशेषज्ञ (इन्टेन्सिभिष्ट) डा.विराज पराजुली यहाँ सुपर स्पेसियालिटी सेवा सुरू भएपछि जटिल रोगका बिरामीलाई काठमाडौं रिफर गर्न नपरेको बताउँछन्। चितवन मेडिकल कलेजमा १५ शैयाको एनआइसियू र १७ शैयाको पिआइसियू छ। सरूवा रोगको उपचारका लागि छुट्टै आइसोलेसन शैया पनि छ।
‘केही वर्षअघिसम्म केही जटिल रोगका बिरामीलाई रिफर गर्नैपर्ने बाध्यता थियो। तर अचेल रिफर गर्नुपरेको छैन,’ उनी भन्छन्, ‘चितवन र वरपरका जिल्लाका अस्पताललेमात्रै होइन पूर्व, पश्चिम नेपालबाट पनि रिफर भएर यहाँ आउने गरेका छन्।’
पेडियाट्रिक सर्जन डा.प्रकृति गिरी समाजमा अहिले पनि सबै उमेर समूहका लागि उही चिकित्सकले स्तरीय सेवा दिनसक्छन् भन्ने भ्रम रहेको बताउँछिन्। बच्चाको उपचार अन्य उमेर समूहको भन्दा जटिल र संबेदनशील भएको उनले बताइन्।
‘जति सानो शरीर भयो त्यती नै जटिल हुन्छ उपचार। शल्यक्रिया त अझै जटिल हुन्छ। कतिपय बच्चाको त अंगहरू नै विकसित भइसकेको हुँदैन। त्यो अवस्थामा उसलाई चाहिने उपचारको पहिचान गर्नु सामान्य कुरा होइन,’ गिरी भन्छिन्, ‘हामीले हासिल गरेको विशेषज्ञताले उपचारमा सघाउँछ। यही क्षेत्रको लामो अनुभवले झट्ट्रै निर्णय गर्न मद्दत गर्छ।’
भर्खर जन्मिएका बच्चालाई उपचार आवश्यक परेको अवस्थामा धेरै समय अड्काउन नमिल्ने उनी बताउँछिन्।
‘काठमाडौंकोमात्र भरपर्दा समयले नभ्याउन सक्छ,’ उनले भनिन्।
नवजात शिशुमा नाइटो राम्ररी नबन्ने, आन्द्रा बाहिर आउने, दिसा गर्ने प्वाल नबनेको, ठाउँमा नभएको, पेटभित्र आन्द्रा बटारिने, खाने र श्वास फेर्ने नली जोडिएको, पेट र छातीको भाग छुट्टाउनुपर्ने, ट्युमर लिएर जन्मने, अण्डकोश नखसेको, पिसाब नली नबनेको, हात, खुट्टाहरू बिग्रिनेजस्ता धेरै समस्या देखिने गरेका छन्। मासिक ६० भन्दा बढी यस्ता विभिन्न समस्याका बच्चाहरूको शल्यक्रिया गर्ने गरिएको उनले बताइन्।
डा.गिरीका अनुसार केही दिनअघि तीन दिनको शिशुलाई सानो आन्द्राको सुरूआती भाग साँघुरो भएर दूध पनि पचाउन नसकेपछि चितवन मेडिकल कलेजमा रिफर गरेर ल्याइएको थियो। उनको आमाशय फुलेको थियो।
‘हामीले केही समय समस्याको पहिचान गर्नमा लगायौं। सबै अध्ययन सकिएपछि शल्यक्रिया गर्ने निर्णय गर्यौं,’ उनले भनिन्, ‘साँघुरो भएको भागलाई बाइपास गर्ने अप्रेशन गरियो। केही दिन आइसियूमा बसेपछि शिशु दूध पचाउन सक्ने भए। अहिले फलोअपमा आइरहेका छन्। अवस्था सामान्य छ।’
पेडियाट्रिक एनेस्थेसियोलजिष्ट डा.प्रवेशकुमार ज्ञवाली बाल रोगमा विशेषज्ञता हासिल गरेकाले बालबालिकाको मनोविज्ञानलाई बुझ्न सक्ने बताउँछन्। उनले वयस्कको सानो रूप बालक हो भन्ने भन्ने बुझाई गलत भएको बताए।
‘उनीहरूको छुट्टै संरचना र बनावट हुन्छ। त्यसैले उपचारका प्रणाली नै फरक हुन्छन्। नेपालमा वयस्कहरूलाई केन्द्रित गरेर उपचार गर्ने प्रणाली विकास हुँदै आयो। विस्तारै बालबालिकातिर ध्यान जाँदैछ,’ ज्ञवालीले भने।
उनकाअनुसार बच्चालाई औषधि दिएर बेहोस बनाउने काम निकै जोखिमपूर्ण हुन्छ। बच्चाहरूलाई नरूवाइकन बेहोस बनाउन, बेहोस बनाउँदा अन्य असर पर्न नदिन पेडियाट्रिक एनेस्थेसियोलजिष्टको कौशलले काम गर्छ।
‘बच्चालाई एमआरआई गर्दा पनि बेहोस बनाउनुपर्छ। नत्र चलेर जे पत्ता लगाउनुपर्ने हो त्यो पत्ता लगाउन सकिँदैन,’ ज्ञवाली भन्छन्, ‘शल्यक्रिया गर्नुपर्दा फेरि बेहोस बनाउनुप¥यो। बिचार पुर्याएन भने जोखिम हुन्छ। त्यसैले बच्चाकै विषयमा पढेका, अनुभव भएका विशेषज्ञबाट सेवा लिँदा प्रभावकारी हुन्छ।’
बाल मुटुरोग विशेषज्ञ डा.अजितकुमार मिश्रले जन्मनुअघि र जन्मेपछि मुटुमा समस्या भएका धेरै बालबालिकाहरूको उपचार गरिरहेको बताए। उनकाअनुसार एक सय नवजात शिशुमा २ देखि २.५ प्रतिशतजतिको मुटुमा कुनै न कुनै किसिमको समस्या देखिने गरेको छ। तीमध्ये करिब २० प्रतिशतको शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ।
‘बच्चामा देखिने समस्या नै फरक हुन्छ। त्यसैले उनीहरूका लागि छुट्टै विशेषज्ञ चाहिने हो,’ डा.मिश्र भन्छन्, ‘नेपालमा ठूला मान्छेका धेरै डाक्टर छन्। उनीहरू नै बच्चाको पनि हेर्छन्। तर त्यो बच्चाकै विशेषज्ञले हेरेजस्तो प्रभावकारी हुँदैन।’
उनले बच्चाहरूमा मुटुमा सानो प्वाल हुने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता समस्याहरू देखिने गरेको बताए। लक्षणको आधारमा ‘स्कृनिङ’ गरेर रोग पहिचान गरि आवश्यकताअनुसार औषधि दिने, डिभाइस राख्ने वा शल्यक्रिया गर्ने गरेको उनले बताए।
गर्भमा रहेको बच्चाको मुटुमा समस्या देखिएको पनि पत्ता लगाएर उपचार गर्न मिल्ने उनले बताए। चितवन मेडिकल कलेजमा यहीँ जन्मिएका र रिफर भई आएका करिब ३०/३५ जनाको हरेक महिना मुटुरोगको उपचार हुँदै आएको छ।
यहाँ जन्मदै वा पछि हाडजोर्नीमा समस्या भएका बालबालिकाको पनि जटिल शल्यक्रिया भएको छ। पेडियाट्रिक अर्थोपेडिक्स डाक्टर सौगात केसी बालबालिकामा पैताला माथि फर्किने, ढाड, मांसपेशीको समस्या, हड्डी बांगो टिङ्गो भएको, जोर्नीको गेडीका समस्या, खुट्टा लामा–छोटा भएका, पक्षघात, चोटपटक, इन्फेक्सनलगायतका समस्याहरू देखिएको बताउँछन्।
‘बालबालिकाका यस्ता समस्याहरूको पहिचान गर्नै गाह्रो छ। पहिचान भइसकेपछि पनि उपचार कसरी गर्ने भन्ने विषय जटिल हुन्छ,’ डा.केसी भन्छन्, ‘बालबालिकाका लागि आइसियू, पिआइसियूको व्यवस्था भएको, मुटु, एनेस्थेसियालगायतका विशेषज्ञको पनि व्यवस्था भएकाले उपचार यहीँ भएको छ।’
चितवन मेडिकल कलेजका मुटु, छाती र रक्तनली सर्जन डा.अनिल आचार्यले एउटै स्थानमा विभिन्न विधाका विशेषज्ञहरू रहेकाले बालबालिकाको सबैजसो रोगको उपचार संभव भएको बताए।
गत साउनदेखि यो मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम पनि सुरू गरेको छ। पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर भएर आउने बिरामीले यहाँ स्वास्थ्य बीमा कार्यक्रमको सुविधा पाउने छन्। आकस्मिक कक्षमा भर्ना हुने बिरामीले पनि यो सुविधा प्रयोग गर्न पाउने छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम बिरामीहरूलाई उपचारका लागि सहयोगी बन्ने बताए।