गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको निर्माणाधीन भवनभित्र टायल काट्दै थिए टमबहादुर चेपाङ। उनी मिस्त्री हुन्।
१५ वर्षभन्दा अघिदेखि यस कलेजमा मर्मत सम्भारको काम गर्दै आएका छन् उनी।
कलेजका कर्मचारीहरू उनलाई ‘जेठा दाइ’ भनेर चिन्छन्। तर विद्यार्थीको माझमा भने जेठा दाइको परिचय फेरिँदैछ। विद्यार्थीहरू अचेल उनलाई दिलेश र दिव्याका बुवा भनेर चिन्छन्।
दिलेश यही कलेजमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा स्नातक तह छैठौं समेस्टर र दिव्या व्याचलर अफ कम्प्युटर एप्लिकेशन पाचौं सेमेस्टर पढ्दैछन्।
टमबहादुर विपन्न परिवारमा जन्मिए। सानैदेखि बाबुआमासँग काममा लागे। इच्छाकामना–४ कुरिनटारमा जन्मिएका उनी १२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएका थिए। तर घरको दुःखले उनलाई पढ्न दिएन। उनले १५ वर्षको उमेरबाटै लेबरको काम गर्न थाले। कुरिनटारमा मनकामना केबलकार स्थापना हुँदा उनले ज्यालादारीमा मजदुरी गरेका थिए। उनले टायलको काम त्यहीँ सिके।
२०५० सालमा मनकामना केबलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको घरमा टायलको काम गर्न भनेर भरतपुर अएका टमबहादुर त्यसपछि बस्नेगरी गाउँ फर्किएनन्। भरतपुरतिरै मिस्त्रीको काम गरेर बस्न थाले।
२०५७ सालमा विवाह गरेपछि जिम्मेवारी बढ्यो। श्रीमती तुलकुमारी लाछा डोरी बनाउने काम गर्थिन्। उनीहरू भरतपुर–२ मा भाडामा कोठा लिएर बस्न थाले। छोरा छोरी त्यही कोठामा जन्मिए। हुर्कँदै गए। उनीहरूलाई निजी स्कुलमा पढाउने इच्छा थियो तर कमजोर आर्थिक अवस्थाका कारण सकेनन्। कोठा नजिकै रहेको आदिकवी भानु माविमा भर्ना गरिदिए।
दिलेशले ३.२९ र दिव्याले ३.०७ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका थिए। छोराछोरीको राम्रो नतिजाले टमबहादुरलाई खुसी त बनायो सँगै उच्च शिक्षा कसरी बढाउने भन्ने तनाब पनि सुरू भयो। यही कुरा उनले अक्सफोर्ड कलेज कलेजका प्रन्सिपल हरि भण्डारीलाई सुनाए। आफ्नो कलेजप्रति टमबहादुरको मेहनत र लगावले प्रभावित बनेका भण्डारीले उनका छोराछोरीलाई छात्रबृत्तीमा पढाइदिएका थिए। दिलेश र दिव्याले प्लस टु पनि राम्रो नतिजा ल्याएर उत्तीर्ण गरे। त्यसपछि स्नातक तह कसरी पढाउने भन्ने चिन्ताले टमबहादुरलाई सताउन थाल्यो।
‘आफ्नो कमाई राम्रो छैन। कोठा भाडा बुझाउने, खाने गर्दैमा सकिन्छ श्रीमान–श्रीमतीको कमाइ। छोराछोरीले राम्रो पढिरहेका छन्। उपल्लो तह पनि राम्रो पढाइदिन पाए भविष्य बन्थ्यो भन्ने त लाग्यो तर राम्रो पढाउन चाहिने पैसा थिएन,’ टमबहादुरले भने, ‘अनि फेरि मैले प्रिन्सिपल सरलाई नै गुहारें।’
प्रिन्सिपल भण्डारीलाई पछ्याउँदै उनीहरूले पोखरा विश्वविद्यालयको छात्रवृत्तिका लागि आवेदन दिए। उनीहरू दुबै परीक्षामा उत्कृष्ट नतिजा ल्याएर छात्रवृत्तिमा नाम निकाल्न सफल भए।
प्रिन्सिपल भण्डारीकाअनुसार दिलेश र दिव्या दुबैले अहिले राम्रो नजिता ल्याएर पढिरहेका छन्।
‘चेपाङ समुदायमा इन्जिनियर पढ्नु भनेको अझै पनि सपना जस्तो छ। हाम्रो कलेजमा जेठा दाइले लामो समयदेखि गरिरहेको मिहिनेतले मलाई प्रभावित बनाएको थियो। छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहनालाई पुरा गर्न कलेजले सहयोग गरेको हो,’ उनले भने ‘दुबैले राम्रो पढिरहेका छन्। यहीअनुसार पढ्दै गएभने केही वर्षमा उनीहरू इन्जिनियर र आइटी अफिसर बनिसक्छन्।’
यो कलेजमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयको स्नातक तह शुल्क तिरेर पढ्न १० लाख ४० हजार रूपैयाँ खर्च हुन्छ।ब्याचलर अफ कम्प्युटर एप्लिकेशन पढ्न ७ लाख ४० हजार रूपैयाँ लाग्छ। व्यवस्थापन संकायमा प्लसटु सक्न एक लाख रूपैयाँ खर्च लाग्ने भण्डारीले बताए। दिलेश र दिव्याका लागि किताब, कपी, पोशाक, खाजा, भ्रमणलगायतका खर्चमात्रै आवश्यक पर्छ।
मजदुर परिवारमा हुर्किएका दिलेशले सानैदेखि इन्जिनियरिङ पढ्ने चाहना भएपनि पढ्न पाउने सपना कहिल्यै नदेखेको बताए।
‘परिवारको कमजोर आर्थिक अवस्थाका कारण यति धेरै खर्च हुने विषय पढ्न सक्ने अवस्था थिएन। बुबाले लामो समयदेखि कलेजमा गर्नुभएको काम, कलेजले गरेको सहयोगले सपना पूरा हुँदैछ,’ उनले भने, ‘हामी दुबैजना मिहिनेत गरेर पढिरहेका छौं।’
दिव्याले पढाइ सकेपछि नेपालमै बसेर केही गर्ने सोच रहेको बताइन्।
'धेरै युवाहरू नेपालमा पढेर कामका लागि विदेश जाने गरेको देखेको छु। तर मलाई नेपालमै धेरै अवसर छन् जस्तो लाग्छ,’ उनले भनिन्, ‘आइटी अफिसरका लागि अहिले सरकारी कार्यालयहरूमा पनि अवसर छ। कलेज, बैंकहरूमा पनि अवसर धेरै हुन्छन्।’
चेपाङ परिवारमा जन्मिए पनि भरतपुरमा हुर्किएको, नारायणघाट र गैंडाकोटमा पढेकाले उनीहरूलाई ग्रामीण भेगमा बसोबास गर्ने चेपाङ समुदायको वास्तविकता राम्ररी बुझ्न पाएका छैनन्। समाचार र समाजिक सञ्जालहरूमा आउने भिडिओहरूमार्फत विकट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायमा गरिबी नै गरिबी छ भन्ने थाहा पाएका छन्।
‘पढाइको चापका कारण गाउँतिर जाने अवसर मिलेको छैन। आफ्नो समुदायको अवस्थाको बारेमा बुझ्न मन छ,’ दिव्याले भनिन्, ‘भविष्यमा सघाउन पनि सकिन्छ कि।’
टमबहादुरको कुलमै सबैभन्दा बढी पढेका यी दुई जनाले नै हो। उनका साइँला भाइले प्लसटुसम्म पढेका थिए। अहिले उनी साउदी अरेबियामा रोजगारी गर्दैछन्।
‘हाम्रो कुलमा पढाइमा कसैले पनि चासो दिएनन्। सानैदेखि खेतबारीमा खनजोत, कुल्ली, मजदुरी गर्ने चलन बस्यो। धन्न म कलेजमा काम गर्न आइपुगेछु, काम गर्दा पढेका मान्छेहरूसँग संगत भएकाले छोराछोरीलाई राम्रो पढाउन पाइयो,’ उनी भन्छन्, ‘हामी श्रीमान–श्रीमती छोराछोरीले पढाइ सकेर काम गर्न थालेको दिनको प्रतिक्षामा छौं।’