बाटुली पोखरीभित्र ठडिएका सालका सयौं रूखहरूमा पात देखिन छाडेको वर्षौं भयो। तर हाँगा हाँगामा बसेका चराहरूले ती पुराना रूखलाई जीवन्त बनाइरहेका छन्।
चितवन, भरतपुर महानगरपालिकाको वडा नम्बर १३ मा रहेको बाटुली पोखरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
नेपालमा 'घुँगीफोर' भनिने 'एसियन ओपन बिल स्ट्रक' नामका चराले यो पोखरीलाई बासस्थानका रूपमा अपनाउन थालेको केही वर्ष भयो। पोखरीभित्र रहेका प्रायः जसो सुकेका सालका रूखमा अहिले यी चरा देख्न सकिन्छ। कुनै रूखमा त चराले दर्जनभन्दा बढी गुँड लगाएका छन्। बचेराहरूको चिरबिरले पोखरी वरपरको क्षेत्र गुलजार बनाइदिएको छ।
नेचर गाइड गजेन्द्र पोखरेल केही वर्षदेखि बाटुली पोखरी सिमसारमा आश्रित चराका लागि स्वर्ग जस्तै बनेको बताउँछन्।
'मेरो घर पनि यहाँ नजिकै हो। पर्यटक लिएर बेला बेलामा आइराख्छु। पानीमा आश्रित चराहरू देखेर उनीहरू खुसी हुन्छन्। फोटो खिचेर रमाउँछन्,' उनले भने, 'यहाँको वातावरण जोगाइराख्न सकियो भने आगामी दिनमा अन्य प्रजातिका चरा पनि बढ्दै जान्छन् होला।'
मंगलबार दिउँसो हामी पुग्दा चरा विज्ञ र नेचर गाइडहरूको समूह बाटुली पोखरीका रूखमा रहेका चरा र गुँडहरू गनिरहेका थिए। दुरबिनको सहायताले चराको गन्ती गर्न अगुवाइ गर्दै थिए चरा विज्ञ हठन चौधरी। मेघौली-घटगाईं नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बु सहितका नेचर गाइडहरू चराको गणनामा व्यस्त थिए।
चौधरीका अनुसार बाटुली पोखरीमा विभिन्न चराका ४१० वटा गुँड भेटिए। तीमध्ये ३९४ वटामा चल्ला सहितका माउ चरा थिए। १५ वटा गुँडमा चराहरू ओथारो बसिरहेका भेटिए। एउटा गुँडमा केही पनि देखिएन। ती सबैमध्ये एउटा गुँडमा एसियन वुलीनेक र दुइटामा ओरियन्टल डार्टर चल्ला हुर्काउँदै थिए। अरू सबै गुँड एसियन ओपन बिल स्ट्रकका थिए।
चौधरीले पोखरीभित्रका ६१ वटा सालका रूखमा चराले गुँड लगाएको भेटिएको बताए। माउ र चल्ला गरेर ८०० बढी चराहरू बाटुली पोखरीभित्र गणना गरिएको उनी बताउँछन्।
एसियन ओपन बिल स्ट्रक नेपालको रैथाने चरा हो। यो मेचीदेखि महाकालीसम्मको तराई क्षेत्रमा बस्छ। समुद्र सतहदेखि ५-७ सय मिटर उचाइसम्म यो चरा भेटिएको छ। यी चराहरू हरेक वर्ष जुन महिनातिरबाट ओथारो बस्ने, अगस्टमा चल्ला कोरल्ने गर्छन्। सेप्टेम्बर भित्रमा चल्ला हुर्किएर उड्न थालिसक्छन्।
बच्चाहरू उड्नसक्ने भएपछि घुँगीफोर चरा बाटुली पोखरीमा खासै देखिँदैनन्। कात्तिक-मंसिरतिर धान खेततिर पुग्छन्। त्यसपछि दलदल, खोलाहरूमा पुग्छन्। उनीहरूको मुख्य आहारा घुँगी र गँगटा हुन्।
'तालको बीचमा प्रशस्त सुकेका सालका रूखहरू रहेकाले चराले सुरक्षित महसुस गरेको हुनसक्छ,' चौधरीले भने, 'प्रायः जसो गुँडमा बच्चा हुर्किरहेका छन्। बच्चा नभएको गुँड खासै देखिएन। केही ओथारो बसिरहेको पनि देखियो। यहाँ उनीहरूको प्रजनन निकै सफल भइरहेको छ।'
चौधरीले राष्ट्रिय स्तरको तथ्यांक हेर्दा घुँगीफोर चरा संकटमा रहेको मान्नुपर्ने बताए। विगतमा खेतबारीमा पनि प्रशस्तै पाइने घुँगी, गँगटा जस्ता उनीहरूका आहारा अचेल जंगलभित्रका सिमसारमा मात्रै सीमित हुन थाल्दा संख्या घटिरहेको उनले बताए।
'तर यहाँ देखिएको संख्याले उत्साहित बनायो,' चौधरीले भने, 'हामीले यहाँको वातावरण खलबलिन दिएनौं भने अझै राम्रो हुनसक्ने देखियो।'
नजिकै रहेको बीसहजार तालमा भने अचेल चरा देख्नै मुस्किल हुन थालेको छ। रामसार क्षेत्रमा सूचीकृत रहेको उक्त तालमा चरा घट्दै गएको बेलामा यो मानव निर्मित तालमा भने चराको संख्या बढिरहेको छ।
विगतमा घोलको रूपमा रहेको क्षेत्रलाई २०६५ सालतिरबाट ताल बनाउन प्रयास गरिएको थियो। विभिन्न निकायबाट बजेट प्राप्त भएपछि तटबन्ध गरेर पानी जम्मा गरी बाटुली पोखरी निर्माण गरिएको भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले बताए।
'अहिले यो पोखरी हाम्रो वडाको प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको छ,' दवाडीले भने, 'आगामी दिनमा यो ताल क्षेत्रलाई चराको बासस्थानका रूपमा विकास गर्न काम गर्छौं।'
बर्खाको समयमा घुँगीफोरले गुँड लगाउने यहाँ हिउँदमा बसाइ सरेर आउने ग्रेटर कर्मोरेन्ट, ब्ल्याक स्ट्रोक लगायत चराहरू प्रशस्त देखिन्छन्।
वाइल्डलाइफ तथा ट्राभल फोटोग्राफर ओम यादव विगतमा धेरैपटक चरा खोज्दै यो पोखरीमा पुगेका छन्। तर उनले यसपालि जति धेरै चरा पहिले देखेका थिएनन्।
'चल्लाहरू चिरबिर गरिरहेका छन्। माउहरू आहारा खोजेर ल्याउँदै चल्लालाई खुवाइरहेका छन्। छिमेकी गुँडका माउहरू एक आपसमा झगडा गरिरहेका छन्। कोही गफ गरेजस्तो गरिरहेका छन्। यो हेर्दा बडो आनन्द लागिरहेको छ। फोटो खिच्न पनि मज्जा भइरहेको छ,' उनले भने, 'चराका गतिविधि र आनीबानी हेर्न रूचाउनेहरूका लागि यो निकै राम्रो गन्तव्य हो।'
मेघौली-घटगाईं नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बु पोखरी र आसपासको क्षेत्रलाई फोहोर र कंक्रिटमुक्त बनाउन सके यहाँको जैविक विविधताको संरक्षण थप प्रभावकारी बन्ने बताउँछन्।
'यहाँ अहिले डुंगा पनि चलिरहेको छ। जथाभावी फोहोर फालिएको देखिन्छ। यसलाई नियन्त्रण गर्नुपर्छ,' उनले भने।