सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले आसपासका नदीहरूमा डल्फिन देखिएको कुरा कहिल्यै सुनेका थिएनन्। आफैं अध्यक्ष रहेको वनबाट बग्ने बुढीराप्ती नदीमा डल्फिन देखिने कुरा त उनका लागि कल्पना बाहिरको भयो।
आइतबार अचम्मै भयो, सौराहासँग जोडिएर बग्ने राप्ती नदीमा डल्फिन उफ्रिरहेको थियो। पर्यटकहरू दंग पर्दै फोटो खिचिरहेका थिए। नारायणी र राप्तीको तल्लो केही क्षेत्रमा बेला–बेलामा झुल्किने गरेको डल्फिन सौराहा भन्दा पनि माथिसम्म पुगेको कुराले सबै चकित परे।
‘हल्ला सुनेपछि राप्ती दोभानमा पुगेर हेर्दा डल्फिन पानीमा डुबुल्की मारिरहेको देखें। केहीबेरमा ऊ राप्तीलाई छाडेर सहायक नदी बुढीराप्तीतिर पस्यो। म, वाइलडलाइफ फोटोग्राफर मिलन तामाङसहित केही साथीहरूले नदीको डिलडिलै उसलाई पच्छ्यायौं,’ तामाङले भने, ‘ऊ बेपर्वाह पौडिरहेको थियो। त्यहाँ रहेका बढेमानमा मगर गोहीसँग पनि डर नमानी ऊ अघि बढिरह्यो।’
उनीहरूले करिब चार घण्टा डल्फिनलाई पच्छाएका थिए। ऊ बुढीराप्तीबाट अर्को सहायक नदी खगेरीतिर पनि करिब २ सय मिटरजति अगाडि पुगेको थियो। त्यसपछि ऊ फेरि बुढीराप्तीमै फर्कियो। अनि फेरि डुबुल्की मार्दै राप्तीमै पुग्यो।
‘बुढीराप्तीका मगर गोेहीले डल्फिनलाई आक्रमण गर्ने हुन् कि भन्ने डर हामीलाई थियो। तर सोचेभन्दा उल्टो भयो। डल्फिन देखेर मगर गोहीहरू पो भागे। खगेरीतिर अघि बढेपछि त्यता मानव बस्ती रहेकाले डल्फिनलाई खतरा हुने हो कि भन्ने अर्को डर हामीलाई लागेको थियो। तर ऊ धेरै अघि बढेन आफैं फर्कियो,’ संरक्षणकर्ममा सकृय तामाङले भने, ‘भिडियोमा हेरेको थिएँ, पढेको पनि थिएँ। तर आफ्नै ठाउँमा यसरी देख्न पाइएला जस्तो लागेको थिएन।’
केही महिनाअघि नारायणघाटस्थित नारायणी नदीको पुलभन्दा उपल्लो क्षेत्रमा पनि एउटा डल्फिन रेकर्ड भएको थियो।
यो गंगा र यसका सहायक नदीहरूमा पाइने ‘गंगिज रिभर डल्फिन’ हो।
प्रायः राप्ती र नारायणी नदीको दोभान गोलाघाटदेखि दक्षिणतर्फमात्रै देखिने गरेको डल्फिन उपल्लो क्षेत्रमा पनि देखिँदा संरक्षणकर्मीहरू खुसी छन्। कतिपयले डल्फिनको संख्या बढेको हुनसक्ने आँकलन गरेका छन्। तर डल्फिनको विषयमा अध्ययन, अनुसन्धान गरिरहेका विज्ञहरू भने चितवनमा बढीमा दुईवटामात्रै डल्फिन रहेको दाबी गर्छन्।
नेपालका विभिन्न नदीहरूमा पाइने डल्फिनको विषयमा विद्यावारिधी गरेका शम्भु पौडेल गोलाघाटदेखि दक्षिणतर्फ देखिने गरेको डल्फिननै अहिले सौराहा क्षेत्रमा देखिएको अनुमान गर्छन्। उनकाअनुसार डल्फिनका लागि पानीमा साढे २ मिटरभन्दा बढी गहिराइ आवश्यक पर्छ। ‘त्यति गहिराइ भयो भने ऊ जति पर पनि पुग्न सक्छ। मूख्य नदीमा असुरक्षित महसुस गर्दा डल्फिनहरू सहायक नदीतर्फ प्रवेश गर्ने गरेको अनुसन्धानहरूबाटै देखिएको छ,’ उनले भने।
पौडेल नदीमा पानीको सतह बढेको बेलामा तीव्र गतिको पानीमा ढुंगालगायतका ठोस वस्तुहरू बगेर आउने हुँदा खतरा महसुस गरे भने डल्फिनहरू सहायक नदीतिर पस्ने गरेको बताउँछन्। आफू रहेको नदीमा आहाराको कमी हुँदा, आहारालाई पच्छाउनेक्रममा पनि उनीहरू सहायक नदीतिर जानसक्ने पौडेलले बताए।
‘उनीहरूले रूचाएको माछा दोभानबाट सहायक नदीतिर गयो भने पच्छाउँदै त्यतै जाने र आफूलाई मन पर्ने आहारा प्रचुर भएको अवस्थामा त्यतै लामो समय रहने पनि हुन्छ,’ उनले भने, ‘अहिले राप्ती नदीको पानीको सतह डल्फिनका लागि पर्याप्त छ। आहारा पनि खोजेजस्तो पाएको होला। त्यसैले उसका लागि अनुकूल बनेको हुनसक्छ।’
मेघौलीस्थित जंगल बाराही लजका अपरेशन म्यानेजर सुवास गुरूङले बर्खाका केही महिना डल्फिनहरू उक्त होटलकै अगाडि राप्ती नदीमा देखिने गरेको बताए। नदीमा पानीको सतह घट्न थालेसँगै डल्फिनहरू नारायणी नदीमा कहिले गोलाघाटदेखि तल, कहिले माथि देखिने गरेको उनी बताउँछन्।
‘बुबाहरूले डल्फिन कसरा पुलसम्म पुगेको थाहा पाएको कुरा सुनाउनुहुन्थ्यो। तर हामीले त्यति माथि पुगेको देखेका थिएनौं। यसपाली त सौराहा पनि कटेको देखियो,’ गुरूङले भने, ‘नदीको स्वच्छता बढेका कारण पनि हुनसक्छ। पर्याप्त पानी र आहारा भेटाएर राप्तीलाई पनि बासस्थान बनाएको हुनसक्छ।’
हिउँदको समयमा राप्ती नदीको पानीको सतह पर्याप्त नहुने भएकाले डल्फिन नारायणीमै रहने गरेको गुरूङ बताउँछन्। ‘एकैपटकमा दुईवटा डल्फिन रेकर्ड नभएका कारण नारायणी र राप्तीमा एउटा भन्दा बढी डल्फिन छ भनेर भन्न सकिँदैन,’ उनी भन्छन्, ‘त्यही एउटा कहिले यता, कहिले उता पुगेको जस्तो लाग्छ।’
चरा विज्ञ हठन चौधरीले गत वर्ष पर्यटकलाई घुमाउन लगेको बेलामा गोलाघाटमा पहिलो पटक डल्फिन देखेको बताए। नारायणी र राप्तीमा गोलाघाटबाहेक अन्यत्र डल्फिन देख्न नपाएको उनी बताउँछन्। ‘सौराहामा देखिँदा तल्लो क्षेत्रमा नदेखिएकाले त्यो हामीले गोलाघाटमा देखेको डल्फिन नै हुनसक्छ,’ चौधरीले भने।
डल्फिनका विज्ञ पौडेलले अध्ययनको क्रममा केही वर्षअघि नारायणी नदीको गोलाघाटदेखि दक्षिणतर्फ भेलौजी क्षेत्रमा एउटा डल्फिन देखेका थिए। त्यसपछिका धेरै अध्ययनहरूमा पनि नारायणीमा एउटा भन्दा बढी डल्फिन रेकर्ड नभएको उनी बताउँछन्। भेलौजी क्षेत्रमा नदी साँघुरो रहेकाले बर्खाको समयमा पानीमा करेन्ट बढी हुँदा असुरक्षित महसुस गरेर डल्फिनहरू माथि आएको अनुमान पनि उनको छ।
कर्णालीमा गरिएको अध्ययनले बर्खाको समयमा केही महिना डल्फिनहरू सहायक नदी मोहनातिर सर्ने गरेको देखिएको थियो। उनीहरू हरेक वर्ष केही महिना मोहनामै बस्छन्। पौडेल राप्तीको उपल्लो क्षेत्रमा डल्फिन देखिनुको कारण पनि त्यही नै रहेको दाबी गर्छन्। उनले २०१० तिर गर्मीयाममा कर्णालीबाट डल्फिनहरू किन मोहना जान्छन् भन्ने विषयमा स्नातकोत्तरको थेसिस गरेका थिए।
‘केही समयअघि पनि मैले नारायणी नदीमा डल्फिनको विषयमा अध्ययन गरेको थिएँ। नदीको तल्लो क्षेत्रमा अचेल मानवीय चहलपहल बढ्न थालेछ। अल्ली तल पुगेपछि त्रिवेणी धामतिर झनै बढी चहलपहल छ। त्यसैले डल्फिनले असुरक्षित महसुस गरेको हुनसक्छ,’ पौडेल भन्छन्, ‘सबै प्राणीले आफूलाई सुरक्षित लाग्ने ठाउँलाई नै बासस्थानकारूपमा रोज्ने हुन्।’
सहायक नदी वा मुख्य नदीकै उपल्लो क्षेत्रमा डल्फिनहरू कहिलेकाहीँ नदीको गहिराइ कम भएर माथि नै फस्ने गरेका पनि छन्। पानीको गहिराइ बढी हुँदा उक्लिएकाहरू कतिपय अवस्थामा माथि÷तल दुबैतिर कम गहिराइ भएकाले बीचमै ‘ट्रयाप’ मा पर्ने गरेको पनि देखिएको पौडेलले बताए। ‘तर प्रायः प्राकृतिकरूपमै माथि, तल गरिराख्छन्। यो सामान्य प्रकृया नै हो,’ उनले भने।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का फ्रेस वाटर एशोसिएट करूण देवानकाअनुसार डब्लुडब्लुएफले करिब २ वर्ष लगाएर नारायणी नदीको अवस्थाको विषयमा अध्ययन गरेको थियो। काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत सहभागी भएको अध्ययनले सिसवारबाहेकको क्षेत्रमा नारायणीको अवस्था राम्रै रहेको देखाएको थियो।
‘हामीले नदीमा प्रदूषणको अवस्थादेखि मानवीय गतिविधिलगायतका धेरै कुराहरूलाई आधार मानेर नदीको स्वच्छताबारे अध्ययन गरेका थियौं। सोक्रममा तुलनात्मकरूपमा सिसवार क्षेत्रमा नदीको स्वच्छता बिग्रिएको देखियो,’ देवानले भने, ‘हाम्रो अध्ययनका क्रममा डल्फिन भेटिएन। संकटापन्न अवस्थामा रहेका घडियाल गोही पनि सोचेभन्दा कम देखिएका थिए।’
कोरोना महामारी पछिका दिनमा नदीको स्वच्छता बढेको पाइएको देवान बताउँछन्। ‘त्यतिखेर मानवीय गतिविधि कम भएर हो कि अरू नै कारण पनि हुन् ठ्याक्कै भन्न त सकिँदैन। नेचर गाइडहरू फुर्सदिला भएर नदीहरूमा खोजी बढेपछि रेकर्ड भएका पनि हुनसक्छ। तर नदीको स्वच्छता बढेको चाहि हो। स्वच्छता बढ्दै जाँदा पनि डल्फिन, घडियालको संख्या कम देखिनुले भने हामीलाई पनि अचम्ममा पारेको थियो,’ उनले भने।
पछिल्ला दिनमा सौराहा क्षेत्रमा पनि डल्फिन देखियो भन्ने खबरले संरक्षणमा लाग्नेहरूलाई उत्साहित बनाएको देवान बताउँछन्। डब्लुडब्लुएफले सन् २०२० देखि गैंडाकोटस्थित सहमती नामको संस्थासँग सहकार्य गरेर नारायणी नदीलाई लक्षित गरेर कार्यक्रम गरिरहेको छ।
करिब पाँच वर्षको अवस्था हेर्दा देवानलाई लाग्छ, ‘डल्फिन, घडियाल, ओंतहरू अहिले हाम्रो संरक्षण गर्न तिमीहरूका लागि अन्तिम अवसर हो, अझै पनि जोगाएनौ भने भावी पुस्ताले देख्न पाउँदैन भनिरहेका छन्।’
पछिल्ला दिनमा डल्फिन जसरी नै केही ठाउँमा फट्ट, फुट्ट खैरो ओंत (स्मुथ कोटेड ओटर) हरू पनि देखिन थालेका छन्। ओंतलाई पनि सीमसार र नदी क्षेत्रको स्वच्छ पानीको सूचककारूपमा लिने गरिन्छ। हाल लोपोन्मुख अवस्थामा रहेको ओंत ३ करोड वर्षदेखि पृथ्वीमा रहेको मानिन्छ।
डल्फिन पनि डाइनोसर युगदेखि नै पृथ्वीमा अस्तित्व रहँदै आएको मानिन्छ। यसलाई निकै चलाख र चेतनशील प्राणीकोरूपमा लिइन्छ।
नारायणी नदीमा बिगतमा धेरै संख्यामा डल्फिन रहेकोमा गण्डक व्यारेजको भारततिर सजिलै जाने तर फर्कन नसक्ने प्रणालीका कारण संख्या घटिरहेको हुनसक्ने देवान बताउँछन्। कोसीमा पनि अचेल व्यारेजभन्दा उपल्लो क्षेत्रमा डल्फिन देखिँदैनन्। नदीको तल्लो क्षेत्र करिब ७ किलोमिटरमात्रै नेपालको पर्छ। त्यहाँ १४–२० वटा डल्फिन रहेको अनुमान छ।
‘मलाई नारायणी, राप्तीमा डल्फिनको संख्या बढेर सौराहातिर पनि देखिन थालेको हो भन्ने लाग्दैन। हामीले पनि एक दिन डुंगामा जाँदा दुईपटक डल्फिन देखेका थियौं। तर त्यो एकैपटकमा देखिएको होइन। पहिले डुंगा अगाडि देखियो, अनि केहीबेरमा पछाडि देखियो। त्यो एउटै पनि हुनसक्छ। छुट्टै पनि हुनसक्छ,’ देवान भन्छन्, ‘वैज्ञानिक अनुसन्धान नभएसम्म डल्फिन यति नै छन् भनेर भन्न सकिँदैन।’
डब्लुडब्लुएफले अहिले कैलालीमा कर्णाली नदीभित्र विशेष प्रविधि राखेर डल्फिनको विषयमा अध्ययन गरिरहेको छ। देवानकाअनुसार डल्फिनले आफ्नो आवाजको प्रतिध्वनीमार्फत वरपरको अवस्था र माछा रहेको स्थान पत्ता लगाउँछ। नदीभित्र राखिएको प्रविधिले उसको आवाज रेकर्ड गर्ने र पछि आवाजलाई विश्लेषण गरेर संख्या पत्ता लगाउन सकिने उनले बताए। कर्णालीमा त्यो प्रविधि त्यो सफल भए नारायणी, कोसीलगायतका नदीहरूमा पनि प्रयोग गर्न सकिने उनी बताउँछन्।
तर नेपालमा अहिलेसम्मका डल्फिनको विषयमा भएका अध्ययनहरू प्रारम्भिक नै छन्।
'अध्ययन र अनुसन्धान बढाउन ठूला योजनाहरू चाहिन्छ। कार्ययोजना नै बनाएर जानुपर्छ,’ उनी भन्छन्, ‘नदीको स्वच्छता बढाउन सके डल्फिनलगायतका पानीमा आश्रित प्राणीलाई जोगाउन सहयोग पुग्छ। यसतर्फ पनि सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्छ।’
डल्फिन विज्ञ पौडेलले कर्णालीमा पनि डल्फिन हराउँदै गएको बताए। ठाउँ, ठाउँमा बनेका डाइभर्सन, हाइड्रोपावरका लागि बनाइएका बाँधहरूले डल्फिनको बासस्थान बिग्रिएको उनले बताए।
‘हामीले सन् २००९ मा गेरूवामा सर्भे गरेका थियौं। अहिले त्यहाँ पानी पनि छैन। हामीले चिसापानी क्षेत्रमा पनि डल्फिन देखेका थियौं। अहिले तलतल गइरहेका छन्। उनीहरू विशेष गरेर सुरक्षा र गहिराइ चाहन्छन्,’ अमेरिकामा रहेका पौडेलले सेतोपाटीसँग भने, ‘उनीहरूलाई जोगाउने हो भने उनीहरूको आवश्यकता पुरा गरिदिनुपर्छ।’
डल्फिनका लागि जलवायु परिवर्तन भन्दा खतरा मान्छेका क्रियाकलापहरू रहेको बुझाई उनको छ।
‘धेरै वर्ष पहिले पाकिस्तानीहरूले गण्डकदेखि माथि सर्बे नै गरेका रहेछन्। त्यतिखेर देवघाटसम्म पनि डल्फिन देखिएका रहेछन्। तर पछि हराउँदै गए। बाँकी रहेकाहरू लामो समय एकै ठाउँमा रहने गरेका थिए। उनीहरूलाई अचेल माथि आउनुपर्ने कारण किन प¥यो त भन्दा उनीहरूको बासस्थान सुरक्षित भएन भन्ने नै हो,’ पौडेल भन्छन्, ‘नेपाल सरकारका सम्बन्धित निकायहरूको प्राथमिकतामा पर्न नसक्दा डल्फिनहरू लोप हुने खतरामा पुगेका छन्। चासो कम भयो। राष्ट्रिय निकुञ्जहरूलाई यस विषयमा चासो छैन। मोनिटरिङ गर्ने फुर्सत पनि छैन।’
बासस्थानको गुणस्तरमा असर गर्नेगरी खोलाको बहावलाई परिवर्तन गर्ने, नदीमा ठूला मोटरबोट, क्रूजसिप चलाउने, खोलालाई डम्पिङसाइट जस्तो बनाउने, विकासको नाममा नदीको गहिराइ घट्ने खालका गतिविधिहरू गर्ने मान्छेका क्रियाकलापहरू डल्फिनलगायतका दुर्लभ प्राणीका लागि जोखिम बनिरहेको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले डल्फिनकै लागि भनेर छुट्टै कार्यक्रम नभएको बताए। तर घडियाल गोहीसँग सम्बन्धित कार्यक्रमहरूमा डल्फिनलाई पनि ध्यान दिनेगरेको उनले बताए।
‘हामीले घडियाल गोहीको गणनाकाक्रममा डल्फिनलाई पनि ध्यान दिएका थियौं। त्योक्रममा तीन ठाउँमा डल्फिन देखिएका थिए। तर एउटै डल्फिन हो कि तीनवटा हुन् भनेर छुट्टाउन भने सकिएन,’ उनले भने, ‘घडियाल गोही र डल्फिनको आहारा बगेको नदीको माछा र जोखिम माछा मार्ने मान्छे, जालहरू रहेकाले गोही संरक्षणको कार्यक्रमले डल्फिन संरक्षणमा पनि सघाएको छ।’
उनकाअनुसार डल्फिनकै लागि भनेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डल्फिन कन्जर्भेशन एक्सन प्लान’ तयार गरेको थियो। यसमा डल्फिनको अवस्थाबारे जानकारी लिने, नदी क्षेत्रमा निर्माण गरिने ड्याम तथा ब्यारेजहरूमा माछाहरूलाई आवतजावत गर्नका लागि ‘फिस ल्याडर’ निर्माणमा ध्यानाकर्षण गराउने, गण्ना गर्ने, बासस्थान सुधार्ने, अध्ययनरअनुसन्धान गर्नेलगायतका कामहरू गर्ने उल्लेख छ। साथै नदी क्षेत्रमा हुने बाह्य प्रभाव नियन्त्रण, समुदायस्तरमा यसको महत्वबारे जानकारी दिने विषयमा कार्ययोजनामा छ। तर काम भएका छैनन्।
आईयूसीएनले संकटापन्न सूचीमा राखेको यो जीवलाई नेपालले अति संकटापन्न जीवको सूचीमा राखेको छ।
गंगिज रिभर डल्फिनको संख्या पछिल्लो समय घटिरहेको छ। नेपाल, भारत र बंगलादेशमा मात्रै पाइने यो प्रजातिको संख्या करिब ३ हजार रहेको अनुमान छ।
नेपालमा सन् २०११ मा गरिएको अनुसन्धानक्रममा डल्फिनको संख्या एक सयको हाराहारीमा रहेको अनुमान गरिएको थियो। सन् २०१८ मा देशव्यापी रूपमा गरिएको गणनामा ५२ वटा डल्फिन भेटिएका थिए।
सबै तस्बिर: जितबहादुर तामाङ