राप्ती नदीको पारी दुई वटा घडियाल र एउटा मगर गोही घाम तापिरहेका थिए। वारी बगरसँगै जोडेर बनाइएको ‘फेब्रिक फर्म कंक्रिट म्याट्रेस’ बिछ्याइएको तटबन्धन थियो। त्यसैमाथि लहरै उभिएका पर्यटकहरू ती गोहीको फोटो खिच्न व्यस्त देखिन्थे।
नेपालमा प्रायः ग्याबियन जालीमा ढुंगा भरेर तटबन्धन गर्ने गरिएकोमा देशमै पहिलो पटक यहाँ यो प्रविधिको प्रयोग गरिएको थियो। फ्रान्समा बनेको फेब्रिक म्याट्रेस ल्याएर त्यसबाट बनेका पोकाहरूमा कंक्रिटभरी नदीको किनारमा जमाएर गरिएको तटबन्धन हो यो। करिब तीन सय मिटर लामो तटबन्धन निर्माण गर्न ६ करोड ९८ लाख रूपैयाँ खर्च गरिएको थियो। बगरलाई सर्लक्कै छोपेर गरिएको तटबन्धनका कारण राप्तीको उत्तरी क्षेत्रमा गोहीको बासस्थान गुमेको भन्दै त्यतिखेर आलोचना पनि भयो।
तटबन्धनमा उभिएर गोही हेर्दैगर्दा पर एक सिंगे गैंडा देखापर्यो। सबैको ध्यान त्यतै पुग्यो। गैंडा राप्तीको किनारै किनार मान्छेहरू भएतिर लम्किरहेको थियो। त्यो देखेर विदेशी पर्यटकहरू कानेखुसी गर्न थाले। कोही डराउन थाले।
‘यत्रो ड्याक माथि त गैंडा उक्लिन सक्दैन होला,’ मान्छेहरू गफ गर्दै थिए।
कोही भन्दै थिए–उक्लियो भने त उक्लिहाल्यो नि, भाग्न तयारी अवस्थामा बस्नुपर्छ।
नजिकै आइपुगेपछि मैले यो सौराहा आसपासमै डुलिहिँड्ने रैथाने गैंडा हो भन्ने मेसो पाइहालें। उसलाई ६ वर्षअघि मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरिएको थियो। त्यसैले उसको नाम नै ‘मेघौली’ राखियो। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा राखेर प्याकेटको दूध, फलफूल खुवाउँदै हुर्काइएको गैंडा ठूलो भएपछि बस्ती चाहर्न थालेको थियो।
ऊ नदी किनारको हरियो घाँसमा चर्न व्यस्त थियो। मान्छेको होहल्लाले उसलाई कुनै असर गरेको थिएन। नदीको तिरतिरै अल्ली पर पुगेर बजारतिर उक्लन्छ होला भन्ने मेरो अनुमान थियो।मेरो अनुमानले फेल खायो।
ऊ त तटबन्धनतिर पो उक्लन थाल्यो।
‘लौ आयो माथि नै,’ मान्छेहरू डराउन थाले। यो गैंडाको बारेमा थाहा नपाएकाहरूले भाग्ने तयारी पनि थाले।
कोही भन्दै थिए–यो लाटो गैंडाको हो के, केही गर्दैन।
केही पाइला उक्लिएको गैंडा ड्याकमा चिप्लियो। अगाडिका दुई खुट्टा दोब्रिएर उसको मुख बाँधमा जोतियो। तर उसले हार मानेन। उभिएर फेरि अघि बढ्यो। चिप्लिँदै–चिप्लिँदै मान्छेले 'रक क्लाइम्बिङ' गरेझैं लाग्नेगरी ऊ बाँधको उपल्लो भागमा आइपुग्यो।
अब बाँकी थियो सबभन्दा ठूलो खुड्किलो। यो उक्लिन सके पर्यटकले भरिएको राप्ती ड्याकको 'भ्यू पोइन्ट' मा आइपुग्थ्यो। केहीबेर ऊ त्यहीँ रोकियो। मान्छेहरू धेरै भएकाले त्यहाँ रहेका नेपाली सेनाका जवानले धपाएर तलै फर्काउन खोजेका थिए। तर उसलाई मान्छेहरूको कुनै प्रवाह थिएन। मान्छेहरूको मतलब नगरी उसले बाँकी रहेको खुड्किलो पनि पार गर्यो।
सेनाका जवानले उसलाई सुरक्षित क्षेत्रतिर धपाउन थाले। पर्यटकहरूलाई उसको फोटो खिच्न भ्याइनभ्याई थियो। भीडमा उसलाई छोएर फोटो खिचाउनेको पनि कमी थिएन। दुर्लभ एक सिंगे गैंडालाई यति नजिकबाट देख्न पाएकोमा मान्छेको खुसीको सीमा थिएन।
मान्छेलाई खुसी दिइरहेको यो गैंडा आफू भने असाध्यै दुःखी छ। उसको शरीरका विभिन्न भागमा चोट छन्। ऊ सडकमा डुल्छ, सडकमै सुतिदिन्छ। भोक लागेपछि जे भेट्यो त्यही खाइदिन्छ। सार्वजनिक जमिनको घाँस खाँदा त उसलाई कसैले केही गर्दैन। जब मान्छेको खेतको बाली खान्छ उसले ‘रामधुलाई’ भेट्छ।
खेतीपाती गरेर जीविका चलाउनेका लागि ऊ ठूलो समस्या हो। तर पनि ऊ सौराहाको सान हो। किनभने यहाँका व्यवसायीहरू उसलाई ‘सौराहाको सान’ मान्छन्। उसलाई देख्न पाउँदा पर्यटक दंग परेको उनीहरू ठान्छन्। उसको शरीरमा लागेको घाउ, स्पष्ट देखिने उसको बिरामी अनुहारले भने कसैको मन पग्लिएको देखिँदैन।
‘शरीरभरी घाउ बोकेर हिँडेको गैंडाको उपचार पनि कसैले गर्दैन कि क्या हो! मान्छेले कुट्दा पनि नकुट भनेर कसैले भनेको सुनिएन,’ सौराहा घुम्न पुगेका दाङका विशाल भट्टराई भन्छन्, ‘हामी गैंडालाई देशको सम्पत्ति भन्छौं। देशको सान भनेर हेर्न आउँछौं। तर यहाँ यो गैंडालाई गरिएको व्यवहार देखेर असाध्यै दुःख लाग्यो।’
क्षेत्रीय होटल संघ नेपाल सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ घुम्न आउने पर्यटकहरू नजिकै गैंडा देख्न पाउँदा खुसी हुने गरेको बताए।
‘शरीरमा चोटहरू देख्दा त पर्यटक पनि दुःखी हुन्छन्। तर सडकमा डुलिरहेको देख्दा उनीहरू दंगै पर्छन्। निकै खुसी हुन्छन्,’ उनले भने।
'वर्ड एजुकेसन सोसाइटी' सौराहाका अध्यक्ष रहेका पर्यटन व्यवसायी टीकाराम गिरी एक सिंगे गैंडाले सौराहाको सान बढाएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउँछन्।
‘पर्यटनमा आबद्ध नभएका, खेतीपाती गर्नेहरूलाई असर पुर्याएकाले उनीहरूलाई दुःखी पनि बनाएको छ। तर यहाँ आउने पर्यटकले प्रत्यक्ष अवलोकन गर्न पाएकाले यो गैंडाले पर्यटनलाई राम्रै गरेको छ,’ उनले भने, ‘यसलाई बचाउने दायित्व हाम्रै हो। किसानलाई क्षति पुग्दा राहत दिने व्यवस्था गर्नुपर्छ। यसलाई चोट लाग्दा उपचार पनि गर्नुपर्छ।’
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले यो गैंडालाई चोट लागेको खबर पाएपछि उपचार पनि गर्ने गरेको बताए। जंगलबाट राप्ती नदी आसपासमा निस्कने गैंडाको आक्रमणबाट ऊ बेलाबेलामा घाइते हुने गरेको उनले बताए।
‘केही समयअघि घाइते भएर ढलेको थियो। हामीले निकै मेहनत गरेर उसलाई उठायौं। बेलाबेलामा ऊ बिरामी पनि पर्छ। उपचार गरेर उठाउने गरिएको छ,’ श्रेष्ठले भने।
उनका अनुसार मान्छेले मेसो नपाउने गैंडा भन्ने गरे पनि यो मेसो नपाउने गैंडा भने होइन। सानैबाट मान्छेको नजिक रहने बानी पारेकाले उसले मान्छेलाई आक्रमण नगरेको उनी बताउँछन्।
‘जनावर हो, संयमता अपनाइएन भने कुनै बेलामा उसले क्षति पुर्याइदिन पनि सक्छ,’ डा.श्रेष्ठ भन्छन्, ‘जनावरलाई यसरी सहरमा डुलिहिँड्न दिँदा समस्या निम्तन सक्छ।’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले यो गैंडालाई निकुञ्जको कोर क्षेत्रमा स्थानान्तरण गर्नु आवश्यक भइसकेको बताए। सौराहामा देखिँदा पर्यटनमा फाइदा भएजस्तो देखिए पनि गैंडाको स्वास्थ्य र भविष्यका लागि त्यस क्षेत्रमा धेरै समय रहन दिन नहुने उनी बताउँछन्।
यो गैंडा बेलाबेलामा डुल्दै चित्रसारी, निपनीसम्म पनि पुग्ने गरेको तिवारीले बताए। परको बस्ती र खेतमा पुगेको खबर पाएपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाका समूहले भैंसी धपाएजसरी धपाउँदै फर्काएर जंगलभित्र हुल्छन्। तर ऊ फेरि निस्किएर बस्तीमै पुग्छ।
‘वन्यजन्तुलाई वन्यजन्तु नै हुन दिनुपर्छ। घरपालुवा जस्तो बनाउन हुँदैन भन्नेमा हामी सचेत छौं। गैंडाहरूको आन्तरिक स्थानान्तरणको विषयमा अहिले छलफल चलिरहेको छ। यो विषयमा छिट्टै निर्णय पनि हुनसक्ने संकेत बुझेकाले तत्कालै यसलाई स्थानान्तरण नगरिएको हो,’ उनले भने, ‘त्यो निर्णय आएपछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्छौं।’
अहिले चितवन निकुञ्जको पश्चिम क्षेत्रमा बढी गैंडा छन्। ती गैंडालाई पूर्वी क्षेत्रका कम गैंडा भएका ठाउँमा बासस्थान तयार गरेर स्थानान्तरण गर्नेगरी वन तथा वातावरण मन्त्रालय तथा निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले काम गरिरहेका छन्।
केही समयअघि कोशी टप्पु वन्यजन्तु आरक्षलाई पुष्पा र अञ्जली नामका दुई वटा गैंडा दिएको समयमा छिट्टै एउटा भाले गैंडा पनि दिने घोषणा गरिएको थियो।
‘मन्त्रालयले निर्णय गरेपछि उता पनि पठाउनुपर्छ,’ तिवारी भन्छन्, ‘कुन गैंडा दिने भन्ने निर्णय त्यसपछि हुन्छ। यही भाले पनि हुनसक्छ अर्को हुन पनि सक्छ।’