काठमाडौंलाई आफ्ना मागहरू सुनाउन पूर्वबाट पैदल यात्रा गरी आएका मिटरब्याज पीडितहरू र स्थानीयबासीबीच मकवानपुरमा झडप भएको छ।
माघ १५ गते काकडभिट्टाबाट हिँडेका मिटरब्याज पीडितहरूको समूह मंगलबार साँझ मकवानपुरको मनहरी आइपुगेको थियो। साँझ सडक किनारमा बसेर खानाको तयारी गर्दै गरेको करिब दुई सय जनाको समूह र स्थानीयबासीबीच झडप गरेको सिराहाको गोलबजारकी पुनमकुमारी महतोले बताइन्।
झडपमा परी घाइते भएका १७ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ जना मिटरब्याज पीडित हुन्। एक जना स्थानीय पनि घाइते भएका छन्।
मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीका अनुसार मनहरी पुग्नै लागेको पैदलयात्रीको समूह नजिकै एक युवक सवार स्कुटी आएर ठोक्किएको थियो। त्यसपछि पीडित र ती व्यक्तिबीच केहीबेर विवाद चल्यो।
'विवाद मिलिसकेको थियो, केहीबेरमा २०–२५ जनाको हुल आएर अन्धाधुन्ध आक्रमण गरे। कसैले ढुंगाले हाने, कसैले हतियारले नै हाने। हाम्रा धेरै साथीहरू घाइते भए,' क्षेत्रीले भने।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा घाइतेहरूलाई उपचार गर्न चितवन मेडिकल कलेज ल्याइएको थियो। मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले मिटरब्याज पीडित र स्थानीयबासीबीचको विवाद बढ्दै गएपछि झडपको रूप लिएको बताए।
'उहाँहरू मकवानपुर आइपुगेपछि हामीले सक्दो समन्वय गरेका थियौं। बुधबार साँझ सुरूमा एउटा अटोरिक्साले समूहमा रहेका मान्छेलाई छोएछ। पछि स्कुटीले पनि छोएछ। त्यसको बदलामा उहाँहरूले स्कुटीको सिसा फुटाइदिनुभएछ। पछि एउटा गाडी पनि फोडिदिएपछि स्थानीयबासीको समूह आइपुगेको रहेछ,' प्रमुख जिल्ला अधिकारी सेडाईंले भने, 'विवाद बढ्दै गएपछि दोहोरो झडप भयो। झडपमा स्थानीय पनि घाइते भए। मिटरब्याज पीडित पनि घाइते भए।'
उनले घाइतेलाई आफैंले निर्देशन दिएर तुरून्तै भरतपुर पठाएको बताए।
सेडाईंले मिटरब्याज पीडितहरूले पैदलयात्राका क्रममा प्रहरीलाई अटेरी गर्ने, प्रशासनलाई गाली गर्ने गरेको तर आफूहरू संयमित भएको बताए।
'पछि मलाई किन महँगो अस्पताल पठाउनुभयो भनेर गाली गर्न थाले। मैले त राम्रो उपचार गराउनु भनेर एम्बुलेन्स चढाएर पठाएको हुँ। कता लग्यो मलाई थाहा छैन,' उनले भने, 'उनीहरूको उपचार गराउने खर्च प्रशासन कार्यालयले बेहोर्ने अवस्था छैन।'
घाइतेहरूले भने पैसाको अभावमा उपचारमा समस्या भएको बताएका छन्। उपचारका क्रममा अहिलेसम्म डेढ लाख रूपैयाँभन्दा बढी खर्च भएको छ।
'साथीहरूको उपचार चलिरहेको छ। तर उपचारमा लागेको खर्च कसरी तिर्ने, थाहा छैन। जिल्ला प्रशासन, प्रहरीदेखि गृह मन्त्रालयसम्म कुरा गरिसकेका छौं। तर उहाँहरूबाट कुनै जबाफ आएको छैन,' क्षेत्रीले सेतोपाटीसँग भने, 'हामी पीडित भयौं भनेर सरकारलाई सुनाउन पैदल यात्रा गर्दै आएका मान्छे झन् पीडित भयौं।'
चितवन मेडिकल कलेजका कार्यकारी प्रमुख प्रताप देवकोटाले घाइतेको उपचारका लागि अस्पतालको तर्फबाट सक्दो सहयोग गर्ने बताए।
'हामीले गर्ने भनेको बिरामी आइसकेपछि सक्दो छिटो उपचार सेवा दिने हो। त्यो हामीले दिइरहेका छौं। उपचार खर्चमा अस्पतालले सक्ने जति छुट दिन्छौं,' देवकोटाले भने, 'पूरै निःशुल्क गर्न त अस्पतालले पनि सक्दैन नि।'
क्षेत्रीका अनुसार पूर्वबाट आएको मिटर ब्याजपीडितहरूको समूह पैदलयात्रा गर्दै बुधबार साँझ पूर्वी चितवनको रत्ननगर आइपुगेको छ। पश्चिम नेपालबाट पनि डेढ सय जनाको समूह काठमाडौंतर्फ हिँडिरहेको छ।