सुनसरीका विक्रम चौधरी ब्लड क्यान्सर भएका ५ वर्षे छोराको लागि ताजा रगतको खोजीमा रक्तसञ्चार केन्द्र भरतपुरको कार्यालयमा पुगेका थिए। चितवनमा विल्कुलै नयाँ उनलाई तत्कालै रगत झिकेर दिने मान्छे भेटिएन।
रगत राख्ने भाँडो बोकेको मलिन चेहरा केन्द्रको परिसरमा यताउता डुलिरहेको देखेपछि कसैले उनलाई के भयो भनेर सोध्यो।
उनले आफ्नो समस्या सुनाए। संयोगले विश्व रक्तदाता अर्जुनप्रसाद मैनाली त्यही कार्यालयमा थिए। त्यहाँ ब्लड डोनर्स सोसाइटी नेपालले ‘मेची–महाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान’ कार्यक्रम राखेको थियो। विभिन्न देशमा पुगेर २०५ पटक रक्तदान गरिसकेका मैनाली यहाँ २०६ औं पटक रक्तदान गर्दै थिए। उनको रगत समूह पनि विक्रमका बिरामी छोरालाई चाहिने ‘ओ पोजेटिभ’ नै थियो।
‘डाक्टरले ताजा रगत लिएर आउ भनेका थिए। आफूले चिनेका कोही छैनन्। यहाँ त्यो रगत भएका कोही भेटिएका थिएनन्,’ विक्रमले भने, ‘अढाइ महिनादेखि क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। धेरै पटक रगत चढाउनु परिरहेको छ। रगत खोज्दा सधैं झमेला हुन्छ। यसपालि त मलाई आँखाअगाडि भगवान प्रकट भएझैं लाग्यो।’
मैनालीले ६ वटा महादेशका २० देशहरूमा पुगेर रक्तदान गरेका छन्। २०५ पटकमा उनले १ सय २ लिटर रगत दान गरेका छन्।
‘एक पटक दान गरिएको रगतले तीन जनासम्म बिरामीलाई बचाउन सकिने रहेछ। मैले दान गरेको रगतबाट ६१५ जनासम्म बिरामीलाई बचाउन सकिँदो रहेछ,’ मैनाली भन्छन्।
सन् १९८६ मा नेपाल कमर्श क्याम्पस काठमाडौंमा प्रमाणपत्र तह अध्ययन गर्दा अंग्रेजी पुस्तकमा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि मैनाली रक्तदानबारेमा जिज्ञासु भएका थिए। त्यो एक जना अमेरिकी नागरिकले रगत दिएर धेरै मान्छेलाई बचाएको कथा थियो। त्यसले उनमा ती व्यक्तिले जसरी अरूलाई बचाउन सक्छुकी भन्ने भावना विकास भयो। ‘मेरो रगत समूह कुन होला?, मानिसको रगत कसरी झिक्छन् होला, अरूको शरीरमा कसरी राख्छन् होला, रगत कसरी बन्छ होला जस्ता जिज्ञासा मनमा उत्पन्न भए।
एक दिन मैनाली काठमाडौंको विशालबजारतिर घुमिरहेका थिए। त्यहाँ रक्तदान कार्यक्रम लेखिएको ब्यानर देखे। लायन्स क्लबले रक्तदान कार्यक्रम गरिरहेको रहेछ। रगत दिएको हेर्ने मान्छेको घुइँचो थियो। स्वयंसेवकहरू रक्तदानको महत्त्वबारे उनीहरूलाई बुझाइरहेका थिए। उनले भीडमा सर्वसाधारणका जिज्ञासा मेटाइरहेकी नर्सको कुरा ध्यान दिएर सुने। आफ्ना जिज्ञासाहरू राखे। सबै कुरा बुझेपछि उनले सोही ठाउँमा पहिलो पटक रक्तदान गरेका थिए।
त्यसपछि उनको ध्यान रक्तसञ्चारको क्षेत्रमा बढेर गयो। फुर्सद र बिदाको समयमा रक्तसञ्चार केन्द्र धाउन थाले। रक्तदानमा युवाहरूको सहभागिता बढाउन सचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया, र्यालीहरूमा सहभागी हुन थाले।
एक दिन उनी ब्लड बैंकमा बसिरहेका थिए। एक जना पुरूष श्रीमतीको अपरेसनका लागि दुई पोका रगत माग्न आइपुगे। दुर्भाग्यवश त्यतिखेर ब्लड बैंकमा उनलाई आवश्यक पर्ने रगत थिएन। कर्मचारीले ती पुरूषलाई तपाईं श्रीमतीका लागि एक पोका रगत दिनूस् अरू हामी व्यवस्थापन गर्छौं भनेछन्। तर ती पुरूष डराएर रगत दिन मानेनन्।
‘त्यसपछि मलाई लाग्यो, ओहो म त रगत जरूरी पर्ने जो कसैलाई दिन्छु। आम युवालाई पनि रक्तदान गर्न प्रेरणा दिनुपर्छ भन्ने लाग्यो,’ मैनालीले भने।
सन् १९९० डिसेम्बर ५ मा १६ औं पटक रक्तदान गरेको एक घण्टापछि उनी देशव्यापी साइकल यात्रामा निस्किए। त्यसको उद्देश्य रगत दान गरेपछि पनि मान्छे कमजोर हुँदैन भन्ने जानकारी दिनु थियो। उनले ३१ दिन लगातार साइकल यात्रा गरे। त्यसपछि लियो र लायन्स क्लबमा आबद्ध भएर रक्तदान अभियानको प्रवर्द्धन गर्न थाले। विभिन्न देशमा भएका सम्मेलनमा भाग लिए।
सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा मैनाली अमेरिकाको वासिङ्टन डिसी पुगेका थिए। त्यसपछि उनले अमेरिकामै बसोबास गर्ने निधो गरे।
अमेरिकामा पनि उनले रक्तदान अभियानलाई निरन्तरता दिए। त्यहाँ रहेका नेपाली संघसंस्थाहरूलाई रक्तदान कार्यक्रमका लागि उत्प्रेरित गरे। अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान प्रदान गर्यो। सोही वर्ष अमेरिकामा ब्लड डोनर्स अफ अमेरिका, सन् २०१४ मा इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स र सन् २०१९ मा वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इनकर्पोरेसन स्थापना भए। तीनै संस्थाका संस्थापक अध्यक्ष मैनाली अहिले पनि यी संस्थामा क्रियाशील छन्।
उनले भारत, क्यानडा, बेलायत, बर्मुडा, मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, थाइल्याण्ड, इथियोपिया, रुवान्डा, केन्या, अर्जेन्टिना, मेक्सिको र घानामा पनि रक्तदान गरेका छन्।
काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपालीमा जन्मेका मैनाली रक्तदानसम्बन्धी उत्प्रेरणाका लागि बेला–बेलामा नेपाल आइपुग्छन्। अमेरिकामा बसोबास गर्ने उनी अन्य विभिन्न देशमा पुगेर नेपालीहरूलाई रक्तदानका लागि प्रेरित गर्छन्।
‘म सबैलाई वर्षमा कम्तीमा एक पटक रक्तदान गर्न अनुरोध गर्छु। तपाईंले दान गरेको रगतले कोही बिरामी बाँच्न सक्छ भनेर उत्प्रेरित गर्छु,’ उनी भन्छन्।
नेपालमा हरेक वर्ष करिब साढे ४ लाख युनिट रगत चाहिन्छ। अहिले २ लाख ५० हजार युनिटमात्रै रगत संकलन हुन सकेको छ।
शल्यक्रियाको क्रममा रगत नपाएर अहिले पनि धेरै बिरामीको मृत्यु हुने गरेको छ। धेरै अस्पताल रहेका काठमाडौं, भरतपुर लगायतका सहरहरूमा समेत समयमा रगत नपाएर शल्यक्रियामा ढिलाइ हुने गरेको छ।
रक्तदानका लागि उत्प्रेरणा जगाउन मेची–महाकाली ब्लड डोनर्स सोसाइटी नेपालले देशभर अभियान चलाउँदै आएको छ।
‘युवा विदेशिनेक्रम बढ्दा रगतको अभाव बढेको छ। त्यसैले हामीले रक्तदान गर्न मिल्नेहरूका लागि उत्प्रेरणा जगाउने कार्यक्रमहरू गरिरहेका छौं,’ सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले भने, ‘एक घर, एक रक्तदाता अभियान लिएर समाजमा चेतना अभिवृद्धि गर्ने र रगतको अभाव हुन नदिने उद्देश्य लिएका छौं।’
विश्व रक्तदाता मैनालीको कामबाट नयाँ पिँढीले पनि सिको गर्नुपर्ने उनी बताउँछन्।