अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पालामा हेनरी किसिन्जर सुरूमा राष्ट्रिय सुरक्षा सल्लाहकार र पछि विदेशमन्त्री नियुक्त भएका थिए। यी दुवै महत्त्वपूर्ण पदमा एकै पटक आसिन हुने किसिन्जर पहिलो अमेरिकी थिए।
राष्ट्रपति निक्सनको पालामा किसिन्जर कति शक्तिशाली थिए भन्नेबारे त्यो बेला नै ह्वाइटहाउसमा एउटा जोक प्रचलित थियो- अहिले नै किसिन्जरको मृत्यु भयो भने के हुन्छ? त्यसपछि निक्सन पक्का राष्ट्रपति बन्नेछन्!
निक्सनलाई उनको कर्मका कारण मन पराउने र मन नपराउने दुवै खाले मानिस प्रशस्त छन्। तर कसैले मन पराए पनि, नपराए पनि, पछिल्लो पचास वर्षमा विश्वका सबभन्दा प्रभावशाली व्यक्तिमध्ये एक थिए हेनरी किसिन्जर।
सन् १९६९ मा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेपछि शक्ति प्रयोग गर्ने ठाउँमा पुगेका किसिन्जर सय वर्ष लामो दीर्घ जीवन बाँचे। अनि आफ्नो मृत्यु हुन्जेलसम्म पनि संसारलाई प्रभाव पार्ने हैसियत राखे।
बुधबार कनेक्टिकटस्थित आफ्नै घरमा उनको निधन भयो।
किसिन्जर सन् १९७७ मै विदेश मन्त्रीबाट सेवा निवृत्त भएका थिए। तर विदेश नीतिमा उनको प्रभाव अहिलेसम्म छ। यति लामो समयसम्म प्रभावशाली रहिरहनुमा प्रमुख कुरा उनको तिक्ष्ण दिमाग र सक्रियता हो। उनीभन्दा धेरै कम उमेरका अरू मानिस अवकाश पाएर आराम गरी बसे पनि किसिन्जर भने निरन्तर अध्ययन र किताब लेख्नमा व्यस्त रहे।
गत मे २७ मा उनी सय वर्ष पुग्नु करिब एक महिनाअघि 'द इकोनोमिस्ट' अखबारले उनीसँग घन्टौं कुरा गरेको थियो। कुराकानीपछि द इकोनोमिस्टले उनी कुप्रिएका र हिँड्न कठिन हुने भए पनि उनको दिमाग 'सियो जस्तो तीखो' रहेको लेखेको थियो।
उनलाई उत्कृष्ट विद्यार्थी, प्राध्यापक र प्राज्ञ बनाएको दिमाग सय वर्षको उमेरसम्म पनि उस्तै तेज थियो।
किसिन्जरले हार्वर्ड विश्वविद्यालयमा अन्डरग्राजुएट पढ्दा ३८३ पृष्ठ लामो थेसिस लेखेका थिए। उनले त्यति लामो थेसिस लेखेपछि हार्वर्डले त्यसको आधा लामो मात्रै थेसिस लेख्न पाउने 'किसिन्जर नियम' नै ल्याएको मानिन्छ। उनी हार्वर्डबाट सन् १९५० मा सर्वोच्च विशिष्टता (summa cum laude) सहित ग्राजुएट भएका थिए।
त्यसपछि उनले आफ्नो दिमाग निरन्तर परराष्ट्र नीति र भूराजनीतिमा लगाए। उनको प्रभाव कति लामो समयसम्म रह्यो भन्ने कुरा उनले सन् १९६१ मा ३५ औं राष्ट्रपति भएका जोन एफ केन्नेडीदेखि हालका जो बाइडेनसम्म गरी १२ जना अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिएकोबाट पुष्टि हुन्छ।
यसरी हेर्दा सन् १७७६ मा स्वतन्त्र भएको अमेरिकाका ४६ जना राष्ट्रपति (बाइडेनसम्म) मध्ये उनले एक चौथाइभन्दा बढीलाई सल्लाह दिए। अमेरिकाको विदेश नीतिमा यति धेरै दखल राखेको र प्रभाव पारेको अर्को व्यक्ति छैन।
त्यस्तै, उनले अहिलेको उदाउँदो महाशक्ति चीनका माओ त्सेतुङदेखि अहिलेका राष्ट्रपति सी जिनपिङसँग संगत गरे। अमेरिका-चीन सम्बन्ध धेरै बिग्रेको अहिलेको समयमा किसिन्जरले आफू सय वर्ष पुगेको केही महिनामै, गत जुलाइमा बेइजिङमा सी र अरू उच्च चिनियाँ नेतासँग भेटे। सम्बन्ध सुधार्न पहल गरे।
उनले शीत युद्धकालमा अमेरिकाको तत्कालीन महाशक्ति प्रतिद्वन्द्वी सोभियत संघसँग सम्बन्ध सुधार्न पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
द इकोनोमिस्टसँगको अन्तर्वार्तामा उनले चीन-अमेरिका सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएका थिए।
'हामी साँचो अर्थमा प्रथम विश्व युद्धअघिको अवस्थामा छौं। जहाँ कुनै पनि एक पक्षसँग अर्को पक्षलाई राजनीतिक छुट दिने धेरै ठाउँ छैन र सन्तुलनमा सानो गडबडीले पनि विनाशकारी परिणाम निम्त्याउन सक्छ।'
शीत युद्धताका अमेरिका र सोभियत संघले आणविक हतियार नियन्त्रण गरेजस्तै चीन र अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नियमन गर्न सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका थिए।
उनले मानवजातिको भविष्य अमेरिका र चीन नलडी बस्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुने भन्दै आर्टिफिसियल इन्टेलिजेन्समा भइरहेको व्यापक प्रगतिले दुई महाशक्तिलाई मिल्न पाँचदेखि बढीमा दस वर्षको समय मात्रै भएको औंल्याएका थिए।
सय वर्षको उमेरमा पनि आर्टिफिसियल इन्टेलिजेन्स र गठबन्धनबारे दुइटा किताब लेख्दै गर्नुले पनि उनी दिमागी रूपमा कति स्वस्थ, सक्रिय र तेज थिए भन्ने प्रस्ट्याउँछ।
मुख्यतः अमेरिका-भियतनाम युद्ध अन्त्य गराउन, सोभियत संघसँगको तनाव कम गर्न, कम्युनिस्ट चीनसँग सम्बन्ध सुधार गर्न र सन् १९७३ को योम किपुर युद्धपछि इजरायल र इजिप्टबीच सम्बन्ध सुधार्न खेलेको भूमिकाका लागि उनलाई याद गरिन्छ।
आधा शताब्दीभन्दा बढी समय चीन र रूस (सोभियत संघ) का नेतासँग सम्पर्क गरेका किसिन्जरले द इकोनोमिस्टसँगको अन्तर्वार्तामा हाल चीन र रूसबीचको राम्रो सम्बन्धबारे पनि रोचक टिप्पणी गर्दै त्यो अनौठो भएको संकेत गरेका थिए।
'मैले अहिलेसम्म कोही पनि रूसी नेता भेटेको छैन जसले चीनबारे केही राम्रो भनोस्। र, अहिलेसम्म कोही पनि चिनियाँ नेता भेटेको छैन जसले रूसबारे केही राम्रो भनोस्। यी दुवै देशमा राम्रो भन्नेहरूलाई एक प्रकारले तिरस्कार गरिन्छ,' उनले भनेका थिए।
महाशक्ति अमेरिकाको परराष्ट्र नीतिको बाटो देखाएकाले किसिन्जरको भूमिकाले सारा संसारमा प्रभाव पारेको छ। उत्तरी छिमेकी चीनसँगको सम्बन्ध सुधारमा उनले खेलेको भूमिका नेपालका लागि धेरै नै महत्त्वपूर्ण छ। नेपाली राजपरिवारसँग सम्बन्ध भएका किसिन्जरले सरकार बाहिर पुगेको झन्डै आठ वर्षपछि, सन् १९८५ मा नेपाल भ्रमण गरेका थिए।
दुवै कम्युनिस्ट मुलुक भए पनि चीन र सोभियतसंघबीच कहिल्यै राम्रो सम्बन्ध थिएन।
कम्युनिस्टले चीनको गृहयुद्ध जित्नेबित्तिकै सन् १९४९ डिसेम्बरमा माओले सोभियत संघको भ्रमण गरेका थिए। त्यो बेला चीन अत्यन्त गरिब थियो भने सोभियत संघले केही समृद्धि हासिल गरिसकेको थियो। माओ आर्थिक सहयोग माग्न गएका थिए। पहिलो भेटमै स्तालिनले हेपेको माओले महसुस गरेका थिए। त्यही भ्रमणका बेला दोस्रो पटकको भेटमा माओले ठूलो अपमान बेहोरे। पछि सार्वजनिक भएका ऐतिहासिक अभिलेख अनुसार स्तालिनले उनलाई दोस्रो भेटका लागि रूसको मुटु छेड्ने जाडोमा हिटर पनि नभएको घरमा १७ दिन कुराएका थिए।
त्यसबारे पछि एक सोभियत कुटनीतिज्ञलाई उनले आफू ज्यादै रिसाएर टेबलमा बेस्सरी हानेको र कुरेर बस्दा आफूसँग केवल तीन काम मात्र भएको गुनासो गरेका थिए। 'पहिलो खाने, दोस्रो सुत्ने र तेस्रो शौच गर्ने।'
पहिलो भेटमै यति अपमानित भएपछि माओले नेतृत्व गरेको चीन र सोभियत संघको सम्बन्ध कहिल्यै हार्दिक बनेन। सन् १९६९ मा किसिन्जर राष्ट्रपति निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार बनिन्जेलसम्म दुई देशको सम्बन्ध लगभग कटु बनिसकेको थियो।
चतुर किसिन्जरले यी दुई देशबीच बिग्रिएको सम्बन्धको फाइदा उठाउँदै सोभियत संघलाई एक्ल्याउन चीनसँग अमेरिकी सम्बन्ध सुधारको प्रयास गरे। उनको बुझाइमा अमेरिका र सोभियत संघको त्यो प्रतिस्पर्धामा चीन जतातिर लाग्यो, उसको पल्ला भारी हुन्थ्यो।
चीनसँग सम्पर्क बढाउन उनले पाकिस्तानसँग कसिलो रहेको अमेरिकी सम्बन्धको प्रयोग गरे। पाकिस्तानी राष्ट्रपति याया खानको माध्यमबाट चीनसँग गोप्य रूपमा वार्ताको पहल गरे। त्यो कुरा कतिसम्म गोप्य राखिएको थियो भने, १९७१ जुलाइमा उनी पाकिस्तान गएका बेला पत्रकारलाई आफ्नो स्वास्थ्य खराब भएको र एक हिमाली रिसोर्टमा आराम गर्न जाने भनेर मोटरको लश्कर त्यता पठाए। उनी भने सुटुक्क चीनतर्फ उडे।
त्यहाँ उनले पहिलो पटक चिनियाँ प्रधानमन्त्री झाउ इन्लाईसँग भेटे। तीन दिनको उनको प्रयत्नको परिणाम निस्कियो। १९७२ फेब्रुअरीमा निक्सनले चीन भ्रमण गर्ने तय भयो। निक्सन चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने।
त्यति बेलासम्म अमेरिकाका कारणले संयुक्त राष्ट्र संघले कम्युनिस्ट चीनलाई आधिकारिक चीन नै मान्दैन थिए। माओको जनमुक्ति सेनासँग गृहयुद्ध हारेर ताइवान गएर लुकेका चियाङ काइसेकको सरकारलाई आधिकारिक चीनको मान्यता थियो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको पाँचमध्ये एक स्थायी सदस्यको हैसियत पनि ताइवानले नै प्रयोग गर्थ्यो।
किसिन्जरको पहलमा चीन-अमेरिका सम्बन्ध सुध्रिन थालेपछि बल्ल सन् १९७९ मा अमेरिका र संयुक्त राष्ट्र संघले कम्युनिस्ट चीनलाई आधिकारिक मान्यता दिए। र, अमेरिका र चीनको आधिकारिक दौत्य सम्बन्ध सुरू भयो। चीन संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सदस्य बन्यो। किसिन्जरले चीनसँग सम्बन्ध सुधार्न खेलेको भूमिकाका कारण सोभियत संघसँगको तनाव कम गर्न समेत मद्दत पुग्यो।
सन् १९७१ मा निक्सनले अचानक १९७२ मा चीन भ्रमण गर्ने घोषणा गरेका थिए। त्यसले गर्दा तिलमिलाएको सोभियत संघले तुरून्तै निक्सनलाई भ्रमणको निम्तो दियो। निक्सन चीन जाने मितिको तीन महिनापछि मात्र सोभियत संघ जाने तय भयो। त्यही भ्रमण तयारीका लागि सोभियत संघ गएका बेला किसिन्जरले तनाव कम गर्ने वार्ता सुरू गरे। र, अन्ततः अमेरिका र सोभियत संघले आणविक हतियारको संख्या घटाउने सन्धि गरे।
ठूलो संख्यामा अमेरिकी सैनिक र स्रोतको नोक्सान बेहोरिरहेको भियतनाम युद्ध अन्त्य गर्ने वार्तामा पनि किसिन्जरले प्रमुख भूमिका खेले। त्यसका लागि उनलाई सन् १९७३ को नोबेल शान्ति पुरस्कार दिइयो। उत्तर भियतनामी वार्ता टोलीको नेतृत्व गरेका ले डुक थोले भने संयुक्त रूपमा दिइएको सो पुरस्कार लिन अस्वीकार गरे।
किसिन्जरलाई नोबेल शान्ति पुरस्कार दिएपछि धेरैले चर्को विरोध गरे। कतिले त उनलाई 'युद्ध अपराधी' भन्दै मुद्दा चलाउनुपर्ने माग राखेका थिए।
बंगलादेश स्वतन्त्रताका लागि क्रान्ति हुँदा उनले तत्कालीन पूर्व पाकिस्तानमा नरसंहार गर्न पाकिस्तानी सेनालाई सहयोग गरेको आरोप छ। आफ्नै कूटनीतिज्ञले विरोधमा पत्र लेख्दै त्यसको विरोध गरे पनि याया खानलाई चीनसँग सम्बन्ध सुधार गर्न प्रयोग गरेकाले अमेरिकाले त्यतिबेला पाकिस्तानलाई सहयोग गरेको थियो।
अमेरिकासँगको युद्धताका उत्तर भियतनामी लडाकुहरुले क्याम्बोडियाको भूमि प्रयोग गरेका थिए। त्यसको रिस फेर्न पछि त्यहाँ व्यापक बमबारी गरियो। त्यति बेला 'अलिकति पनि हल्लिने वा उड्ने चिजमा प्रहार गर्नू' भनेर किसिन्जरले अमेरिकी सेनालाई भनेको खुलासा भयो। त्यो बेला पचास हजार जनाभन्दा बढी सर्वसाधारणको हत्या भएको थियो।
शीत युद्धताका अमेरिकी गुप्तचर संस्था 'सिआइए' प्रयोग गरेर उनले धेरै देशको आन्तरिक मामिलामा हस्तक्षेप गरे। चिलीका मार्क्सवादी राष्ट्रपति साल्भाडोर आयन्डेविरूद्ध 'कू' गर्न निर्देशन दिए। अरू पनि धेरै देशमा हस्तक्षेप गरे।
उनीसँग काम गरेका र उनलाई चिन्ने-जान्नेहरूले उनी ज्यादै कुटिल र धूर्त मान्छे भएको दाबी गरेका छन्। उनी कसैलाई पनि विश्वास गर्दैन थिए। आफ्नै कार्यालयमा काम गर्ने कर्मचारीको चियो गर्न समेत जासुस खटाउँथे।
शक्तिशाली मानिसलाई फुर्क्यायाएर हुन्छ कि चाप्लुसी गरेर, राम्रो सम्बन्ध बनाउँथे। उनले प्रेस (मिडिया) सँग पनि राम्रो सम्बन्ध राखेका थिए। आफूलाई फाइदा हुने खालका धेरै सूचना चुहाएर खबर बनाउँथे।
कतिले उनको यो स्वभावलाई उनको व्यक्तिगत इतिहासको प्रभाव मान्छन्।
उनी हाइन्ज अल्फ्रेड किसिन्जरका रूपमा जर्मनीमा यहुदी परिवारमा जन्मिएका थिए। १५ वर्षकै उमेरमा, सन् १९३८ मा नाजी जर्मनीमा हिटलरले यहुदीविरूद्ध मच्चाएको नरसंहारबाट जोगिन परिवारसँगै अमेरिका भागेका थिए। पछि उनको परिवारनिकट १३ जनालाई नाजीले मारे।
द न्यूयोर्क टाइम्सका अनुसार दोस्रो विश्व युद्धमा अमेरिकी सेनामा भर्ती भएर जर्मनी गएका उनी युद्धपछि आफ्नो गाउँ फर्केका थिए। त्यति बेला उनको गाउँमा ३७ जना मात्रै यहुदी जिउँदा थिए।
नाजी 'कन्सन्ट्रेसन क्याम्प' बाट जोगिएर बाँचेका धेरैसँग कुरा गरेपछि २३ वर्षकै उमेरमा उनले मानव प्रकृतिबारे निष्कर्ष निकालेका थिए — विद्वान, आदर्शवादी र उच्च नैतिकता भएकाको (बाँच्ने) कुनै पनि मौका हुन्न!
जर्मन दार्शनिक गेटेको भनाइ उद्धृत गर्दै किसिन्जर जहिल्यै पनि भन्थे — यदि न्याय र व्यवस्था (थिति) मध्ये एउटा चुन्नुपर्ने भए जहिल्यै व्यवस्था रोज्छु।
जतिबेलै पनि अध्ययन गरिरहने र काममा व्यस्त हुने किसिन्जरको व्यक्तिगत जीवन भने त्यति बेला 'रंगीन' भनेर चित्रण गरिन्थ्यो।
खासै राम्रो जिउडाल नभए पनि निक्सनको कार्यकालका बेलामा उनको व्यक्तिगत जीवनबारे धेरै हल्ला मिडियामा छापिन्थ्यो। आफूभन्दा अग्ला देखिने धेरै महिला फिल्म-स्टार र सेलेब्रेटीसँग उनको फोटो छापिन्थ्यो र सम्बन्धबारे चर्चा हुन्थ्यो। त्यतिबेला राष्ट्रपति निक्सनपछिका सबभन्दा शक्तिशाली व्यक्ति भएको र उनको विद्वता र तीक्ष्णताले महिलाहरू उनीप्रति आकर्षित हुन्थे।
तर उनीसँग 'डेट' गरेका धेरै फिल्म-स्टारले किसिन्जर अति नै व्यस्त भएकाले उनीसँग रोमान्सका लागि समय नै हुँदैन थियो भनेर वर्षौंपछि सार्वजनिक गरेका छन्। एक जनाले त एक रात किसिन्जरले उनलाई घरमा पुर्याएपछि चुम्बन गर्नै लाग्दा निक्सनले तुरून्तै भेट्न सन्देश पठाएको र उनी हिडेको भनेर खुलासा गरेकी छिन्।
किसिन्जरले पनि 'म नायिकाहरूसँग बाहिर जान्छु किनभने म उनीहरूसँग बिहे गर्न उपयुक्त मानिस होइन' भनेर सन् १९७२ मा टाइम म्यागजिनलाई भनेका थिए।
नजिकबाट चिन्नेहरू भने उनी 'प्लेब्वाइ' नभएको भन्छन्।
द वासिङटन पोस्टले एक जनाको भनाइ उद्धृत गर्दै लेखेअनुसार सधैं अध्ययन र काममा तल्लीन हुने किसिन्जरलाई निक्सनले अलि अलि त सामान्य मान्छे जस्तो स्वाभाव देखाऊ भनेपछि उनले स्त्रीहरूसँग सम्बन्ध बढाएका थिए।
उनकै दोस्री श्रीमती न्यान्सीले पनि किसिन्जर 'बोरिङ' मान्छे भएको बताएकी छिन्।
किसिन्जर सोझा वा प्लेब्वाइ के थिए भन्ने पक्का नभए पनि शक्तिशाली चाहिँ थिए नै। र, उनले विश्व राजनीतिलाई लामो समयसम्म दिशानिर्देश गरे। विशेष गरी सोभियत संघसँग अमेरिकाको आणविक हतियारको होड कम गर्न र चीनसँग सम्बन्ध विस्तार गर्न उनले खेलेको भूमिकालाई संसारले सधैं याद राख्ने छ। अमेरिकासँग दौत्य सम्बन्ध पनि नभएको चीनसँग सम्बन्ध विस्तार गर्न उनले हालेको जगले विश्वलाई अहिले पनि प्रभाव पारिरहेको छ।
उनले पहल नगरेको भए अमेरिकासँग सम्बन्ध विस्तार गरेर, बिस्तारै खुला अर्थ व्यवस्था अपनाएर चीन अहिले यसरी महाशक्ति राष्ट्र हुन्थ्यो भनेर कल्पना गर्न पनि सकिँदैन।
अमेरिका र चीनबीच अहिले तनाव धेरै नै बढेको छ। यो तनाव नसुल्झिए फेरि अर्को शीतयुद्ध सुरू हुने र किसिन्जरका शब्दमा मानवजातिकै अस्तित्व खतरामा पर्ने छ। अहिलेको यो पेचिलो समयमा वासिङटन र बेइजिङबीच सेतुको काम गर्न सक्ने किसिन्जरको मृत्यु भएको छ। उनको खाँचो महसुस भइरहने छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)