धनुषा जिल्लाकी छोटु साह (परिवर्तित नाम) ले 'सम्मान गृह' मार्फत आफू पारलैंगिक युवती भएको कुरा आफ्ना परिवारजनलाई थाहा दिइन्।
२५ वर्षीया छोटु एक महिनाअघि जनकपुरस्थित उक्त गृहमा एक हप्ता बसेकी थिइन्। त्यहाँ बस्नुअघि उनी पारलैंगिक हुन् भन्ने कुरा परिवारमा थाहा थिएन। परिवारका लागि उनी छोरा थिए। उनको बिहेको कुरा चल्दै थियो। बुहारी भित्र्याउन केटीको खोजी हुँदै थियो।
छोटु केटासँग बिहे गर्न चाहन्थिन्। उनी बिहेको कुरा टार्दै थिइन्। परिवारजन करकाप गर्दै थिए। उनले आफ्नो शरीर छोराको जस्तो भए पनि मेरो मन छोरीको हो भन्न सकेकी थिइनन्। आफू पारलैंगिक रहेको कुरा परिवारमा थाहा भए स्वीकार हुने छैन भन्ने डर उनमा थियो।
'अहिले बिहे गर्दिनँ भनेर प्रतिवाद मात्रै गरेँ। आफ्नो वास्तविक पहिचान बताउन सकिनँ। जति भन्न खोजे पनि हिम्मत आएन,' उनले सेतोपाटीसँग भनिन्, 'थाहा भयो भने परिवारले स्वीकार गर्नु हुन्न भन्ने डर थियो।'
बिहेको दबाब बढ्दै गएपछि उनले घर छोड्ने निधो गरिन्। घर त छोड्ने तर कता जाने? उनलाई थाहा थिएन।
जनकपुरमा पढ्दा छोटुले नीलहिरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) नामको संस्थाबारे थोरै जानकारी पाएकी थिइन्। संस्थाले सम्मान गृह सञ्चालन गरेको पनि एक जना साथीमार्फत थाहा पाइन्। त्यहाँ हिंसामा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पीडित व्यक्तिलाई केही दिन राखेर परामर्श दिइन्छ भन्ने पनि उनलाई थाहा भयो।
उनले नीलहीरा समाजका प्रतिनिधिहरूलाई भेटिन्। आफ्नो पीडा सुनाइन्। उनीहरूले घरमा उपयुक्त वातावरण नबन्दासम्म सम्मान गृहमा बस्न सुझाव दिए। यहाँ बस्न कुनै शुल्क लाग्दैन।
गृहमा बिताएको एक हप्ता उनको जीवनका लागि कोशेढुंगा साबित भयो। त्यहाँ बसेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने नीलहीरा समाजका प्रतिनिधिहरूले उनका समस्याहरू थाहा पाए।
सबै जानकारी लिएपछि उनीहरू छोटुको घर गए। परिवारजनलाई सबै कुरा बताए। उनको लैंगिक पहिचानबारे जानकारी गराए। सबै तथ्यहरू खुलाए। उनीहरूले छोटुलाई बिहेका लागि करकाप नगर्न परिवारजनलाई आग्रह गरे।
उनीहरूले कुनै व्यक्ति पारलैंगिक हुनुको अर्थ बुझाए। यो बनावटी नभई प्राकृतिक हो भनेर सम्झाए। जबर्जस्ती बिहे गरिदिँदा अवस्था झन् जटिल हुन सक्छ भनेर पनि सम्झाए।
यसपछि छोटु घर फर्किने वातावरण बन्यो। सम्मान गृहको बसाइले हिम्मत पनि बढ्यो। आफ्नो बारेमा आफैंले उचित निर्णय लिनुपर्छ, करकापमा पर्नु हुँदैन भन्ने उनले बुझिन्।
'उहाँहरू (नीलहीरा समाजका प्रतिनिधि) ले घरमा सबै कुरा सम्झाई दिनुभयो। म घर फर्केँ,' उनले भनिन्, 'आफ्नो पहिचानका लागि संघर्ष गर्नुपर्छ, भाग्नु हुँदैन भन्ने हिम्मत आएको छ।'
अहिले छोटुलाई परिवारबाट बिहेको करकाप छैन। तर उनको पारलैंगिक पहिचानबारे थाहा भएपछि उनले परिवारजनको व्यवहारमा अप्रत्यक्ष रूपमा नकारात्मक परिवर्तन देखिन्। परिणामस्वरूप उनी सधैं ढुक्कले घर बस्न नसक्ने निष्कर्षमा पुगिन्।
छोटुले स्कुल पढ्दा नै आफ्नो लैंगिक पहिचान बुझेकी थिइन्।
उनको घर नजिकैकी एक महिला नृत्य गर्थिन्। छोटु कहिलेकाहीँ ती महिलासँग हिँड्थिन्। यसरी हिँडेको थाहा पाउँदा उनले घरमा गाली खानुपर्थ्यो। ती महिलालाई नभेट्नू, उनीसँग नहिँड्नू भन्ने आदेश पाउँथिन्। यसो हुनुको कारण छोटुलाई थाहा थिएन। एक दिन ती महिलाले आफ्नो लैंगिक पहिचानबारे बताइन्, उनी पारलैंगिक महिला थिइन्।
परिवारजनले छोटुलाई पढाइका लागि जनकपुर पठाए। जनकपुर बस्न थालेपछि उनले आफ्नो शरीर छोराको जस्तो भए पनि मन छोरीको हो, म छोरी जस्तो भएर बाँच्न चाहन्छु भन्ने बुझिन्। जनकपुरमा केही पारलैंगिक साथीहरूसँग भेट पनि भयो। यसपछि उनलाई आफू पारलैंगिक महिला हुँ भन्ने झनै प्रष्ट भयो।
यससँगै आफूलाई पढाइको निहुँमा जनकपुर पठाउनुको कारण पनि थाहा पाइन्।
'गाउँको पारलैंगिक दिदीसँगको संगत छुटाउन रहेछ,' हालै १२ कक्षाको पढाइ पूरा गरेकी छोटुले भनिन्।
केही समयअघि मात्र उनको भेट आफूजस्तै सम्मान गृहमा बसेर आएकी एक पारलैंगिक युवतीसँग भएको थियो। २३ वर्षीया सलिना (परिवर्तित नाम) मुश्लिम समुदायकी हुन्। उनी पनि परिवारमा बिहेको करकाप बढेपछि त्यहाँ पुगेकी रहिछन्। सर्लाहीकी उनी भागेर काठमाडौं आएकी थिइन्।
सलिनालाई अधिकारकर्मी नग्मा खानले सहयोग गरिन्। नग्मा पनि पारलैंगिक महिला हुन्। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि काम गर्छिन्।
नग्माकै सहयोगमा सलिना काठमाडौंको हाँडीगाँउस्थित सम्मान गृहमा बसेकी थिइन्। यसबीचमा नग्माले नै सलिनाको परिवारजनलाई सम्झाई–बुझाई गरिन्। अनिच्छामै भए पनि परिवारजन सलिनाको लैंगिक पहिचान स्वीकार गर्न र उनलाई बिहेका लागि करकाप नगर्न सहमत भए।
अहिले सलिना घरमै बस्छिन्।
नीलहीरा समाजले अन्तर्राष्ट्रिय संस्था 'सेभ द चिल्ड्रेन' को सहयोगमा एक वर्षअघि (जनवरी, सन् २०२२) मा सम्मान गृह सुरू गरेको हो। समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार नौ वटा जिल्लामा दुई/दुई कोठे सम्मान गृहहरू छन्। उनी सबै जिल्लाका गृहको समन्वय गर्छन्।
हिंसामा परेका महिलाका लागि सरकारी र गैरसरकारी स्तरमा परार्मश केन्द्रहरू भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि व्यवस्था नभएको शर्माको भनाइ छ। शर्माका अनुसार कोरोना भाइरस फैलिएको समयमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३२ जनाले आत्महत्या गरे। त्यो समय अहिलेको जस्तो सम्मान गृह भइदिएको यति धेरैको ज्यान जाने थिएन कि भन्ने उनलाई लागेको छ।
'कोरोनामा जताततै बन्द थियो। एकै छिन बाहिर नगई घरमा बस्दा परिवारभित्रै समस्या सिर्जना भयो। तनावमा कतिपयले आत्महत्याको बाटो रोजे,' उनले भने।
गृह बनेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई परामर्श दिन र परिवारमा सहज अवस्था सिर्जना गर्न मद्दत पुगेको उनको भनाइ छ।
'परिवारमा समस्या भएर घर छाडेकाहरूलाई कहाँ राख्ने भन्ने समस्या हुन्थ्यो। अहिले सजिलो भएको छ। परिस्थिति सहज नभएसम्म सम्मान गृहमा बस्न सक्छन्,' शर्माले भने।
गृहमा कुनै खास समस्यामा परेका र एचआइभी संक्रमित अरू व्यक्तिले पनि एक हप्तासम्म आश्रय पाउँछन्।
नीलहीरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि कानुनी सहायताको पनि प्रबन्ध गरेको छ। उनीहरूको अधिकारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगसँग र उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पतालसँग समन्वय भएको छ।
हाल इटहरी, वीरगञ्ज, जनकपुर, चितवन, काठमाडौं, पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज सम्मान गृह सञ्चालनमा छन्। यो खासमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूका लागि परामर्श केन्द्र हो। प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न मौलिक हकको कुरा दृष्टिगत गरेर यसको नाम 'सम्मान गृह' राखिएको कार्यक्रम संयोजक शर्माले बताए।
छोटु सम्मान गृहले राम्रो काम गरेको बताउँछिन्। गृहले आफूजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको हिम्मत बढाएको र अलपत्र पर्न नदिएको उनको भनाइ छ।
'पढ्न किताबहरू र मनोरञ्जनका लागि केही सामग्रीहरू भए बस्न अझै सहज हुने थियो,' छोटुको सुझाव पनि छ।
गृहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका र एचआइभी संक्रमित व्यक्तिका साथै उनीहरूका परिवारजनलाई पनि आवश्यक परामर्श दिएर पीडितका लागि सहज वातावरण बनाउने काम गर्छ। नीलहीरा समाजले सम्भव भएसम्म यस्ता व्यक्तिको रोजगारीका लागि पनि सहयोग गर्छ।
तर सम्मान गृह नीलहीरा समाजको स्थायी संरचना होइन। हालका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोग सञ्चालित परियोजना मात्रै हो।
शर्माले भने, 'यो (सम्मान गृह) प्रोजेक्ट (परियोजना) मात्र भएकाले केही समयका लागि मात्र हुन सक्छ। हामीले स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन ढंगले काम गर्ने योजना बनाएका छौं।'
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहायताका लागि प्रदेश सरकारहरूले सुरक्षित आवास र पीडितलाई परामर्शको प्रबन्ध गर्नुपर्ने शर्माको भनाइ छ। सरकारी स्तरमा सम्मान गृहजस्ता स्थायी संरचना निर्माण गर्न सके पीडितहरूका लागि ठूलो मद्दत पुग्न सक्ने पनि उनी बताउँछन्।