रूपन्देहीको तिलोत्तमा नगरपालिका–८, मक्रहरका गोविन्द खाम्चाको हरेक बिहान सिँचाइको कुलोमा फोहोर सोहोर्छन्। उनी ३६ सिँचाइ मौजाअन्तर्गत मक्रहरका ‘शाखा मुख्तियार’ हुन्।
शाखा कुलोअन्तर्गत सिँचाइको पालो परेका किसानको खेतमा पानीको व्यवस्थापन गरिदिने, थुनिएको र भत्किएको कुलो मर्मतका लागि किसानहरूलाई जानकारी गराउने उनको मुख्य जिम्मेवारी हो।
कुलो धेरै जसो अनेक थरीका प्लास्टिकले थुनिने गरेको छ। कति ठाउँमा त मरेका पशु चौपाया पनि हुन्छन्।
कुलो सफा गरी सक्दा नसक्दै माथिबाट बग्दै आएको फोहोरले फेरि थुनिन्छ। हैरान भएका किसानहरूले शाखा मौजाको कुलो सफा गर्न चौकीदार राखेका छन्।
दिनभरि ज्याला मजदुरीमा जाने बाबुलाल विश्वकर्मा मक्रहर शाखा मौजामा चौकीदारी पनि गर्छन्। बिहानैदेखि कुलोमा थुप्रिएको प्लास्टिक र झारपात पन्छाएर सफा पारिदिन्छन्।
तिलोत्तमा नगरपालिकाका किसानहरूले बुटवल उपमहानगरपालिका–३ को पुल्चोक कन्नेढुंगा हुँदै वडा नं ५, ७, ९ र ११ भएर बग्ने दुई वटा नहरबाट सिँचाइका लागि पानी पाउँछन्।
सोह्र र छत्तीस मौजा सिँचाइ प्रणाली नामका ती दुई नहरबाट तिलोत्तामाको छ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरेको छ। नहरबाट पानीमात्रै जाँदैन। पानीसँगै बगेर जाने फोहोरले तिलोत्तमाका किसान हैरान छन्।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि तिलोत्तमा नागरपालिकाले ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ नाराका साथ सरसफाइ अभियान थालेको थियो।
२०७६ साल साउन १ गते नगरपालिकालाई प्लास्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको थियो।
उक्त घोषणापछि सार्वजनिक स्थानमा प्लास्टिक प्रयोग निरूत्साहित गरिएको छ। अभियानको क्रममा नहर, कुला, सडक किनार र खाली जग्गामा वर्षौंदेखि थुप्रिएको प्लास्टिक फोहोर संकलन गरी व्यवस्थित गरिएको थियो।
छिमेकी बुटवल उपमहानगरबाट नहरमा बग्दै आउने प्लास्टिक फोहोरका कारण तिलोत्तमामा खेतबारी प्लास्टिकले ढाकिने गरेको छ।
यस्तो प्लास्टिकले तिलोत्तमाको प्लास्टिक निषेधित क्षेत्र घोषणाको उपहास गरेको छ।
बुटवलबाट बग्दै आउने प्लास्टिक फोहोर छेक्न छत्तीस मौजा सिँचाइ आयोजना अन्तर्गत बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटीमा नहरमा फलामे जाली लगाएको भए पनि त्यसले काम गरेन। पछि जाली हटाइयो।
नहरको नजिकका बासिन्दाहरू तरकारी, फलफूल, माछा मासुको फोहोर नहरमा फल्छन्। ठेलामा खानेकुरा बेच्नेहरूले पनि फोहोर सिधै नहरमा फाल्ने गरेका छन्।
‘हामी त बजारको फोहोर सोहोर्नकै लागि किसान बनेका रहेछौंजस्तो भएको छ। दिनदिनै कुलोबाट फोहोर निकाल्दा हैरान हुन्छ,’ मक्रहर शाखाका मुख्तियार गोविन्दले भने।
नहर आसपासका व्यापारी र बासिन्दाले नहरमा फाल्ने प्लास्टिकका झोला, बोतल, थर्मकोल, कपडा, अस्पतालको फोहोर आदि सोझै किसानको खेतमा पुग्ने गरेको छ।
‘सिसाले खुट्टा काट्ला भनेर धान रोप्दा पनि बुट लगाएर जानु पर्ने जस्तो हुन्छ। जराको फेदमा प्लास्टिक हुन्छ। अहिले त थर्मकोल र अरू फोहोर फालेर नहरको मुहान नै थुनिने गरेको छ,’ गोविन्दले भने।
खेतबारीमा खाडल खनेर जम्मा गर्दा कुहिएर मल हुने फोहोर पनि प्लास्टिकका थैला र बोरामा पोका पारेर नहरमा बगाइदिने गरेको किसानहरूको गुनासो छ।
‘तरकारी र फलफूलका खोस्टामात्रै भए त हुन्थ्यो; मरेका कुखुरा, बिराला र कुकुर पनि नहरमै फाल्छन्,’ गोविन्दले भने, ‘आज बिहान त मरेका दुई वटा बाख्रा फेला परेका थिए। हामी त माथिको सिनो सोहोर्ने जस्ता पो भयौं।’
छत्तीस मौजा सिँचाइ नहरका मेठ मुख्तियार भीमप्रसाद पाण्डेका अनुसार नहर छेउका कतिपय घरले आकाशको पानीको नाममा ढल पनि नहरमै मिसाउने गरेका छन्।
घरको फोहोर सिधै नहरमा फ्याँक्दा किसानलाई परेको समस्याबारे बुटवल उपमहानगरमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले बताए।
‘आफ्नो फोहोर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकाले नै लिनुपर्छ, नहर नजिकका बासिन्दालाई नहरमा फोहोर फाल्न नदिने र कारबारही गर्ने काम गर्नुपर्छ। बुटवलले यो सबै बेवास्ता गरेको छ,’ उनले भने।
शाखा कुलोको छेउमै घर भएका मक्रहरका शिव पोखरेल पानीसँगै बगेर आउने फोहोरका कारण साँझ–बिहान घरबाहिर बस्न नसकिने बताउँछन्।
भन्छन्, ‘गर्मीका बेला साँझ–बिहान घर बाहिर शितल खाएर बसौं भन्यो, के के बगेर आएको हुन्छ, डुङ्डुङ्ती गन्हाउँछ।’
स्थानीयवासी बालकृष्ण यादवले पनि घर वरिपरि सफा गरे पनि कुलोको फोहोरले वातावरण दूषित गराएको बताए।
‘वर्षातमा कुलोमा पानी भरिएर आउँदा बगेर आएको फोहोर बाटोमा र खेतमा पुग्छ,’ उनले भने, ‘बाहिरबाट आउनेले झट्ट हेर्दा त घर अगाडि फोहोर थुपारेजस्तो देख्छ।’
छत्तीस मौजाका मेठ मुख्तियार पाण्डेले घरबाट मात्र होइन, उद्योगहरूले पनि नरहमै फोहोर मिसाउने गरेको बताए।
‘प्लास्टिकका चप्पल काटेर वरिपरिको घेरा पनि यहीँ फाल्छन्। रासायनिक फोहोर पनि यहीँ मिसाउँछन्,’ उनी भन्छन्।
पाण्डेले मल र बिउ नपाउने किसानलाई बजारले फोहोर दिएर सास्ती थपिदिएको बताए। नहरको फोहोर नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ।
पानीसँगै बगेर आउने प्लास्टिक र अन्य फोहोरले खेतीयोग्य जमिन प्रदूषित बन्दै उत्पादन घटेको किसानहरूको भनाइ छ।
मुख्य नहर र शाखा कुलोको मुखमा जम्मा भएको फोहोर किसानहरूले सोहोरेर थुपार्छन्। नगरपालिकाको ट्र्याक्टरले उठाएर लैजाने गरेको पनि छ। किसानहरूका अनुसार पानीले बगाएको फोहोर भने सोझै खेतमै पुग्छ।
अहिले धान खेतमा पानी लगाउने र गोडमेल गर्ने समयमा किसानहरू प्लास्टिक टिप्दैमा हैरान छन्।
पानीसँगै बगेर आएको प्लास्टिक कुलो छेउका खेत छरपस्ट देखिन्छ। कुलो र खेतबाट निकालिएको फोहोर खेतको आली, कुलोको डिल र बाटोको किनारमा जताततै देखिन्छ।
प्लास्टिक नकुहिने वस्तु हो। विज्ञका अनुसार माटोभित्र गाडे पनि वर्षौंसम्म सड्दैन। यस्तो प्लास्टिकले खेतबारीमा बिरूवाको जरा बाँधिदिन्छ, माटोको तापक्रम बढाउँछ र बाली सप्रिन पाउँदैन।
यसको सिधा असर उत्पादनमा पर्छ। खेतमा पुगेको प्लास्टिक धानको गाँजमा जेलिएर बस्दा धान सप्रिन नपाएको शंकर नगरका किसान खिमलाल पाण्डेले बताए।
उनले भनेजस्तै प्लास्टिक फोहोरका कारण माटोको भौतिक र रासायनिक अवस्थामा असर परेको छ।
कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत देवेश मिश्र बिरूवा मल्चिङको लागि प्रयोग गरिने प्लास्टिकले बालीलाई फाइदा पुग्ने भए पनि फोहोरको रूपमा खेतबारीमा थुप्रिएको प्लास्टिक हानिकारक हुन्छ।
‘माटोमुनि पसेको प्लास्टिक वर्षौंसम्म पनि कुहिँदैन। त्यसले त बालीलाई नोक्सान गर्छ,’ मिश्रले भने, ‘जरामुनि प्लास्टिक परेको छ भने बिरूवाले माटोबाट पोषक तत्व लिन सक्दैन। पोषक तत्व नपाएको बोटले राम्रो फल दिने कुरै भएन।’
बुटवलको फोहोर व्यवस्थापन गर्ने दायित्व उपमहानगरको भए पनि नहरमा फोहोर फाल्न रोक्न सकेको छैन।
बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले नहर हुँदै बगेको फोहोरले तल्लो क्षेत्रका किसानलाई समस्यामा पारेकोबारे आफूहरूलाई जानकारी रहेको बताए।
यस्तो फोहोर नियन्त्रण र व्यवस्थापनका लागि योजना बनाइरहेको उनको भनाइ छ।
उनले घरबाट सिधै नहरमा फोहोर फाल्ने कुरा मानिसको प्रवृत्तिसँग जोडिएकोले यसमा सुधार गर्दै फोहोर व्यवस्थापनमा सघाउ पुर्याउने गरी कार्यक्रम ल्याउनुपर्ने बताए।
बुटवल उपमहानगरभित्र उत्पादन हुने जैविक र अजैविक फोहोर नछुट्याउँदा पनि यस्तो समस्या आएको मिश्रको भनाइ छ। घरबाटै जैविक र अजैविक फोहोर छुट्याएर अलग–अलग व्यवस्थापन गर्न सके समाधान हुने उनले बताए।