कञ्चनपुरमा १८ वर्षीया किशोरी मृत फेला परेकी छन्।
सोमबार बिहान ९ बजेतिर बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट घरमा मृत फेला परेकी हुन्। बन्द कोठा भित्र उनी झुण्डिएकी अवस्थामा फेला परेकी हुन्।
घटना पछि अनुसन्धानका लागि २४ वर्षीय पवन भट्टलाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
सम्झना र पवन पछिल्लो ६ महिनादेखि सँगै बस्दै आएका थिए। उनीहरूले गत फागुनमा प्रेम विवाह गरेको भनिएको छ। तर १८ वर्षीया किशोरीको विवाहले कानुनी मान्यता प्राप्त नगर्ने एसपी खत्रीले बताए।
डिएसपी सागर बोहराका अनुसार उनीहरू दुई जनाबीच केही वर्षयता प्रेम सम्बन्ध थियो।
सँगै बस्न थालेपछि पनि उनीहरूबीचको सम्बन्ध राम्रो हुनसकेको थिए।
झगडा हुने गरेकै कारणले उनीहरू प्रहरी कार्यालयमा पनि बेलाबेला पुगेको खुलेको छ।
आइतबार मात्रै सम्झना र पवन इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेका थिए।
‘इप्रका बेलडाँडीका प्रहरी निरीक्षकले दुबै जनालाई सम्झाइबुझाइ गरी पठाउनु भएको रहेछ,’ डिएसपी बोहराले भने, ‘आज बिहान मात्रै सम्झना झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्नु भएको हो।’
सम्झनाका परिवार प्रहरीमा पुगेको हुँदा छलफल जारी रहेको प्रहरीले जनाएको छ। सम्झनाको शव पोष्टमर्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।