सिन्धुली छाडेर पोखरा पुगेको हायू परिवार सोमबार गाउँ फर्किंदैछ।
गत साउन १२ गते एक्कासि घर छोडेर हिँडेको सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का १६ सदस्यीय हायू परिवारलाई वडाध्यक्ष रविन श्रेष्ठको पहलमा गाउँ फर्काइएको हो।
परिवारका सबै सदस्यहरू आजै गाउँ फर्किन तयारी गरेको उनीहरूका आफन्त रामु हायूले जानकारी दिए। राम हायू भने रामेछापका हुन्। उनी परिवारकी मूली उर्मिला हायूका आफन्त पर्छन्। हायू परिवार गाउँ छोडेर हिँडेको थाहा पाएपछि रामु पनि पोखरा पुगेका थिए।
'खानेपानी, स्वास्थ्य, शिक्षाको व्यवस्थापन गर्ने भनेपछि उहाँहरू फर्किन राजी हुनुभएको हो,' हायूले भने, 'वडाध्यक्ष रविन श्रेष्ठले हरेक समस्याहरू समाधान गर्ने वाचा गर्नुभएको छ।'
साउन १२ गतेबाट हराएको भनेर समाचार सार्वजनिक भएको हायू परिवार सोही दिन साँझ पोखरामा फेला परेको थियो। उनीहरू पोखरा महानगरपालिका–३० स्थित एक स्थानीयको घरमा भाडामा बसेका थिए।
त्यसपछि रामु हायूसहित गोलन्जोर-६ का वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूलाई भेट्न पोखरा पुगेको थियो।
त्यतिबेला हायू परिवारले आफू बसेको घर पनि अरूको जग्गामा भएको, खानेपानीको सुविधा नभएको, पढ्न विद्यालय टाढा भएको, यातायातको सुविधा नभएको, आर्थिक स्रोत नभएकाले गुजरा चलाउन समस्या भएका लगायतका समस्याहरू वडाध्यक्ष श्रेष्ठलाई सुनाएको थियो।
'उनीहरूको समस्या सुनेपछि वडाध्यक्षले ती सबै समस्याहरू समधान गरिदिने प्रतिबद्धता व्यक्त गरेपछि फर्किन तयार भएको हो,' हायूले भने, 'वडाध्यक्षले आफ्नै घरमा बस्नसमेत आग्रह गर्नुभएको छ।'
आफ्नो वडाका स्थानीयबासी आफ्नै परिवार भएकाले उहाँहरूलाई फर्काउन कुनै पनि कसर बाँकी नछोडेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हायू परिवारको घर एकान्त ठाउँमा भएकाले तत्काल आफ्नो घरमा बस्न भनिएको छ।
'वडा नम्बर ६ को सुंगुरे भन्ने ठाउँमा मेरो घर खाली छ। तत्काल त्यही बस्न भनिएको छ। पछि के गर्ने भनेर छलफल गर्छौं,' उनले भने, 'आफ्नो वडावासी अन्यत्र गएर अलपत्र परेको देख्न नसकेकाले लिन गएको हुँ।'
सोमबार उनीहरूलाई लिन वडाध्यक्ष श्रेष्ठ पोखरा पुगेका थिए। अहिले फर्किनका लागि गाडी खोजिरहेको उनले सेतोपाटीलाई जानकारी दिए।