वंशाणुगत रूपमा बाबुआमाबाट सर्ने रक्तअल्पता सम्बन्धी रोग 'सिकल-सेल एनिमिया' थारू समुदायमा प्रमुख स्वास्थ्य समस्या बन्दै गएको छ।
लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका तराईका ६ वटा जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकल-सेल एनिमियाका बिरामीको संख्या बढ्ने क्रममा छ।
मन्त्रालयका अनुसार सिकल-सेल एनिमिया रोग परिचान भएको एक दशक भइसके पनि परीक्षण व्यापक नभएकाले यसका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन।
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूका अनुसार लुम्बिनी प्रदेशमा सिकल-सेल एनिमियाका यति नै बिरामी छन् भन्ने यकिन तथ्यांक नभए पनि थारू समुदायका १२ प्रतिशतमा हुनसक्ने अनुमान छ।
मन्त्री थारूले भने, 'अहिलेसम्म जहाँ जहाँ परीक्षण गरिएको छ, तिनमा १२ प्रतिशतमा सिकल-सेल एनिमिया भेटिएको छ।'
रोग पहिचान भएको दस वर्षमा सिकल-सेलले थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूप लिएको उनले बताए।
यसअघि २०७३ सालमा बाँके जिल्ला र केही मुक्त कमैया शिविरहरूमा गरिएको परीक्षण तथा अध्ययनमा पनि थारू समुदायका १२ प्रतिशत व्यक्तिमा यो समस्या देखिएको थियो।
पहिलो पटक २०६८ सालमा नेपालमा सिकल-सेल एनिमिया पहिचान भएको थियो। सरकारले २०७२ सालदेखि मात्रै बिरामीहरूको उपचारका लागि बजेट विनियोजन गरेर उपचारमा सहयोग गर्दै आएको छ।
अहिले सिकल-सेलका बिरामीहरूका लागि एक लाख रूपैयाँसम्मको निःशुल्क उपचार हुने गरे पनि परीक्षण विस्तार हुन सकेको छैन। सरकारले २०७२ साल साउन १ गते सिकल-सेल एनिमियाका बिरामीलाई एक लाख रूपैयाँसम्म उपचार खर्च दिने व्यवस्था थालेको थियो। रगत परीक्षण विस्तार गर्न नसक्दा बिरामीहरूले सरकारी सहयोग पाउन सकेका छैनन्।
चिकित्सकहरूका अनुसार रगतमा 'हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस' परीक्षण गरेपछि मात्रै सिकल-सेल भए नभएको पुष्टि हुन्छ।
लुम्बिनी प्रदेशमा तराईका ६ जिल्लाका प्रादेशिक र जिल्ला अस्पताल गरी ८ वटा सरकारी अस्पतालबाट सिकल सेल तथा थालेसेमिया रोगको निदान तथा उपचारका लागि सिकल-सेल परामर्श केन्द्र सञ्चालन गरिए पनि परीक्षण गाउँगाउँमा पुगेको छैन।
सिकल-सेलले थारू समुदायमा महामारीको रूप लिइरहे पनि संघीय सरकारले समाधानका लागि खासै पहल नगरेको मन्त्री थारूले गुनासो गरे।
'वंशाणुगत रूपमा सर्ने रोग भएकाले बच्चाहरूमा छ कि छैन भनेर तत्काल परीक्षण गरिनुपर्छ। सिकल-सेल हुन नदिन स्वास्थ्य शिक्षाकै रूपमा लैजानुपर्छ,' उनी भन्छन्, 'यो काम संघीय सरकारबाट गरिनुपर्ने हो।'
थारू समुदायका युवायुवतीमा सिकल-सेल जाँच गरेर मात्रै विवाह गर्नुपर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा अघि बढाएको छ। मन्त्री थारूका अनुसार लुम्बिनी प्रदेश सरकारले पनि हरेक वर्ष सिकल-सेलविरूद्ध विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ। आगामी वर्ष २०७९/८० का लागि पनि सिकल-सेलविरूद्धको अभियानका लागि दुई करोड रूपैयाँ छुट्याएको उनले जानकारी दिए।
मन्त्रालयका अनुसार सिकल-सेलका धेरै बिरामी भेटिएका दाङका केही स्थानीय तहमा यसै साता दस वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूको रगत परीक्षण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको समन्वयमा तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा, राजपुर, राप्ती र दंगिशरण गाउँपालिकामा रगत परीक्षण गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका अनुसार हालसम्म रूपन्देहीमा २७ जनामा सिकल-सेल पुष्टि भएको छ। ती बिरामीमध्ये केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र केहीको काठमाडौंमा पनि उपचार हुँदैछ।
परीक्षण समुदायमा नपुर्याएको अवस्थामा २७ जनामा रोग पुष्टि भएकाले रूपन्देहीमा पनि यसका बिरामी धेरै हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ। स्वास्थ्य कार्यालय, रूपन्देहीका प्रमुख गौरव ढकालले रूपन्देहीमा सिकल-सेल रोगको वास्तविक अवस्था पत्ता लगाउन थारू समुदायको बाहुल्य रहेका क्षेत्रमा नमूना परीक्षण गर्ने बताए।
उनका अनुसार भैरहवास्थित भीम अस्पतालमा स्क्रिनिङ उपकरण जडानपछि सिकल-सेल परीक्षण सुरू हुनेछ। थारू समुदायमा परीक्षणसँगै जनतेचनाका कार्यक्रमहरू पनि सञ्चालन गर्ने उनले बताए।
सिकल-सेल फोकल पर्सन भेषराज शर्मा वंशाणुगत रूपमा सर्ने कतिपय रोगहरू उमेर बढ्दै जाँदा र उपचारपछि निको हुने भए पनि यो रोग भने पूर्ण रूपमा निको नहुने बताउँछन्।
'एक प्रकारको रक्त अल्पता नै भएकाले सिकल-सेल देखिएपछि उसलाई जीवनभर उपचार गर्ने र रगत चढाउनुपर्ने हुन्छ,' शर्मा भन्छन्, 'यसको नियन्त्रणको एक मात्रै विकल्प भनेको बच्चा जन्माउनुअगाडि नै बुबाआमालाई यो रोग छ कि छैन भनेर परीक्षण गर्नु हो। यो रोग भएका दम्पतीबाट जम्मिने बच्चा सिकल-सेल लिएरै जन्मिन्छ।'
उनले थपे, 'यो रोग लागिसकेपछि पूर्ण रूपमा निको हुँदैन। उपचार समेत खर्चिलो हुन्छ। त्यसैले बिहेअगाडि हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच र 'सिकल-सेल कुण्डली' मिलाएर मात्र बिहे गर्नुपर्छ।'
उनका अनुसार सिकल-सेललाई सामान्य, वाहक र बिरामी गरी तीन श्रेणीमा विभाजन गरी कुण्डली बनाइएको छ। दम्पतीमध्ये एक जना सिकल-सेलको बिरामी र अर्को एक जना वाहक छन् भने उनीहरूबाट जन्मिने चार जना बच्चामा २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहक हुने सम्भावना रहन्छ।
महिला र पुरुष दुवै सिकल-सेलका वाहक छन् भने ७५ प्रतिशत सन्तान सिकल-सेल वाहक वा बिरामी हुने जोखिम हुन्छ। त्यस्तै सिकल-सेलका बिरामी पुरुष र महिलाबाट जन्मिने बच्चा भने सबै सिकल-सेलका बिरामी हुन्छन्। दम्पती नै वाहक छन् भने जन्मिने २५ प्रतिशत बच्चा बिरामी नै जन्मिने भएकोले बिरामी थपिने क्रम बढिरहेको शर्माको भनाइ छ।
सिकल-सेल रोगले शरीरमा रगत बनाउने रातो रक्त कोषिकाको संख्या घटाएर रक्त अल्पता बनाउँछ।
'सामान्य अवस्थामा मानिसको रगतमा हुने रक्तकोषको आयु १२० दिन हुन्छ। तर सिकल-सेल भएका बिरामीको रक्तकोषहरू नयाँ बन्न नपाउँदै २०–२२ दिनमै मरिसक्छन्। सामान्य मानिसको रक्तकोष गोलो हुनेमा सिकल-सेलका बिरामीमा हँसिया आकारको हुन्छ,' उनले भने।
यो कोष गोलो रक्तकोष जस्तो रगतमा दौडन नसक्दा शरीरका अंगहरूमा अक्सिजन र पोषण कम हुन्छ।
सिकल-सेल भएका बिरामीहरूमा शरीर दुख्ने, छाती दुख्ने, शरीर पहेँलो देखिने, बारम्बार जन्डिस भइरहने, हातखुट्टाका जोर्नी सुन्निने, पेट फुल्ने र पक्षघात समेत हुन सक्ने हुन्छ। तर यो रोगका बिरामीमा फरक फरक लक्षण देखा पर्ने भएकाले चिकित्सकहरूलाई समयमै रोग पहिचान गर्न कठिनाइ पनि हुने गरेको छ।
शर्माका अनुसार अफ्रिकी मुलुकबाट नेपालमा भित्रिएको मानिने यो रोग थारू समुदायमा देखिने गरेको भए पनि लुम्बिनी प्रदेशमा एक जना गैर थारू व्यक्तिमा पनि देखापरेको छ।