छिमेकी भारत अहिले कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबारमात्रै त्यहाँ झन्डै १ लाख ७० हजार जनामा कोरोना संक्रमण पुष्टि भयो। भारतमा अहिले फैलिरहेको कोरोना लहरलाई धेरैले गत वर्षको पहिलो लहरभन्दा खतरनाक भनेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोनाले गाँजेको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सिकिस्त भएर अस्पतालमा भर्ना भएका कोभिड बिरामीमध्ये धेरैजसो ४० वर्षमुनिका छन्। युरोपका कतिपय देशमा पनि बढ्दो संक्रमणका कारण थप कडाइ गरिएको छ।
अहिले विभिन्न देशमा फैलिरहेका नयाँ भेरियन्ट (प्रकार) धेरै संक्रामक, घातक छन्। हाल प्रयोग भइरहेका खोप पनि नयाँ भेरियन्टविरूद्ध उति प्रभावकारी छैनन् भन्ने समाचार आइरहेका छन्।
यी समाचारले मानिसहरूलाई कोरोनाविरूद्धका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने शंका जन्माएका छन्। वैज्ञानिकहरूले भने खोपअनुसार प्रभावकारिता कम बढी हुन सक्ने भए पनि खोप लगाउँदा कोरोनाको जोखिम कम हुने बताएका छन्।
हाम्रो शरिरको रोग प्रतिरोधात्मक प्रणालीमा मुख्यत: बि-सेल र टि-सेलको भूमिका हुन्छ। यी दुबैले संक्रमण गर्ने चीजलाई चिनेर आक्रमण गर्छन्। शरीरमा केही नौलो चीज आयो भने 'इनेट' इम्मयुन सिस्टमले स्वत:स्फुर्त रूपमा काम गर्न थाल्छ। यसले त्यो नयाँ वस्तुलाई नियन्त्रण गर्न सकेन भने त्यो वस्तुलाई चिनेर काम गर्ने 'एडप्टिभ' इम्मयुन सिस्टमले त्यसैअनुसार मिलाएर काम गर्न थाल्छ। बि-सेल र टि-सेल दुबै एडप्टिभ इम्मयुन सिस्टमका हिस्सा हुन्।
बि-सेलले एन्टिबडी बनाएर त्यो वस्तुलाई नियन्त्रण गर्छ भने टि-सेलले संक्रमण भएको कोषिकालाई नै नष्ट गर्छ। एन्टिबडीले ठ्याक्कै जुन वस्तु हो त्यसैलाई चिनेर नियन्त्रण गर्छ भने टि-सेलले त्यो वस्तुसँग मिल्दोजुल्दो वस्तु भएको कोषमा पनि आक्रमण गर्छ।
सजिलोका लागि कुनै चोरलाई भाइरस मानौं। एकचोटी त्यो चोरले चोरी गर्यो भने एन्टिबडीले त्यही चोर फेरि आयो भने नियन्त्रण गर्छ। तर त्यो चोर भेष बदलेर आए नचिन्न पनि सक्छ। टि-सेलले भने त्यो चोरमात्रै नभएर चोरसँग मिल्दोजुल्दो देखिने त्यसको बुवा-आमा, दाजु-भाइ, दिदी-बहिनी,हजुरबुवा-हजुरआमा, काका-ठूलोबुवा, फुपु, सानिमा-ठूलीआमा, मामा, तिनीहरूका छोरा-छोरी, नाति-नातिनी वा कुनै नाता नै नपर्ने आए पनि चिन्छ। अनि त्यो मान्छेले चोरेको थियो भन्ने सम्झेर उनीहरूलाई पनि आक्रमण गर्छ।
यसरी एउटा भाइरसबाट विकसित भएको प्रतिरोधात्मक प्रणालीले अर्को भाइरस विरुद्ध काम गर्यो भने त्यसलाई क्रस-रिएक्टिभ इम्मयुनिटि भनिन्छ। केहि अध्यनहरुमा महामारीभन्दा धेरै अघि झिकिएको रगतमा (प्लाज्मा) यो नयाँ भाइरस (सार्स-सिओभी-२) राख्दा टि-सेल प्रतिक्रिया देखिएको छ। केही अध्ययनकर्ताले त १७ वर्षअघि सार्स लागेर निको भएकाको रगतमा पनि सार्स-सिओभी-२ विरूद्ध टि-सेल प्रतिक्रिया देखिएको भनेका छन्।
यसको मतलब नेपाललगायत देशमा अहिलेको भाइरससँग मिल्दाजुल्दा कोरोनाभाइरस पहिलेदेखि फैलिरहेकाले पनि यसले अहिले यी देशहरू (भारत, पाकिस्तान, बंगलादेशलगायत)मा कम क्षति गरेको हुन सक्छ।
कतिले हाम्रोजस्तो अविकसित देशमा भाइरस- ब्याक्टेरियाको संक्रमण भइरहने कारणले हाम्रो प्रतिरोधात्मक प्रणाली तुलनात्मक रूपमा चुस्त हुने भएकाले पनि यो भाइरसको संक्रमण हुँदा गतिलो प्रतिक्रिया दिएको हुन सक्छ भनेका छन्।
यीलगायत अरू कुनै कारणले हाम्रोमा मानवीय क्षति कम भएको हुनुपर्छ।
कोरोनाभाइरसविरूद्ध खोप तयार भइसकेको छ र दशौं करोड मान्छेले यो खोप लगाइसकेका छन्। यस अघिका कुनै पनि रोगविरूद्ध खोप चार वर्षभन्दा अघि प्रयोगमा नआएको परिप्रेक्ष्यमा लकडाउन सुरू भएको १२ महिना नपुग्दै लाखौं नेपालीले खोप लगाउन पाउने छन् भनेर कसैले सपनामा पनि सोचेका थिएनौं होला। कोरोनाविरूद्ध बनाइएका यी विभिन्न खोप छिटो बनाइएका मात्रै नभएर वैज्ञानिक आफैंले एक वर्षअघि आशा गरेभन्दा बढी प्रभावकारी छन्।
अमेरिका र बेलायतलगायत युरोपका देशमा मान्यता दिइएका खोप, रूसले बनाएको स्पुतनिक-भी खोप सबै प्रभावकारी छन्। चीन आफैंले भर्खरैमात्र आफ्ना खोपको प्रभावकारिता अलिक कम भएको स्वीकारेको छ।
चीन र रूसमा बनेका खोपको परीक्षणमा पारदर्शिता पश्चिमा मुलुकमा बनाएका खोपको जति नभए पनि यी सबै खोपले सिकिस्त हुने गरी बिरामी हुन र मृत्युबाट धेरै हदसम्म जोगाउँछ भन्ने विश्वास गरिन्छ। यी खोपमध्ये जुन पहिले उपलब्ध हुन्छ त्यो सबैले लगायो भने महामारी नियन्त्रण गर्न धेरै सजिलो हुने वैज्ञानिकहरू मान्छन्।
पछिल्ला केही हप्तामा खोप लगाएका केही मानिसमा संक्रमण भएका घटना पनि छन्। खोप पाखुरामा सुइ घोचेर लाउने भएकाले प्राकृतिक रूपमा नाकबाट संक्रमण भएकाहरूको हकमा जस्तो नाकमै पस्नबाट नजोगाउने भएकाले खोप लगाएकाको नाकमा संक्रमण भए पनि भित्र पस्दैन भनिन्छ। कतिपय नयाँ भेरियन्ट वा पुरानै भाइरसले बिरामी नै पारे पनि यी खोप लगाएकाहरू सिकिस्त बिरामी र मृत्यु हुने धेरै कम सम्भावना भएको दाबी गरिन्छ।
यी दाबी कति सही छन् त भनेर बुझ्न पहिले भेरियन्टबारे थोरै चर्चा गरौं। भाइरस-ब्याक्टेरिया कसैको पनि उद्देश्य अर्को जीवलाई मार्ने-हानी पुर्याउने हुन्न। अरू जीवको एउटै ध्येय जतिसक्दो धेरै प्रजनन गर्नु भएजस्तै तिनीहरूको ध्येय पनि प्रतिलिपि बनाउनु हो।
यो भाइरस हाम्रो शरिरमा छिर्नेबित्तिकै हाम्रा कोष प्रयोग गरेर लाखौं-करोडौंको संख्यामा प्रतिलिपि बनाउन थाल्छन्। यसरी प्रतिलिपि बनाउँदा सबै दुरूस्त प्रतिलिपि हुन्नन्। ठूलो संख्यामा बनाउने हुँदा झुक्किएर गल्ती हुन्छन्। यो भाइरसमा त्यस्तो गल्ती पत्ता लाउने (प्रुफ रिडिङ) व्यवस्था भए पनि प्रतिलिपि बनाउने क्रममा गल्ती हुन्छन्। फाइदा नहुने वा घाटा हुने खालका, अरूलाई संक्रमण गर्ने क्षमता कम गर्ने गल्ती भए भने ती इभोल्युसन(क्रमागत उन्नति)को सिद्धान्तअनुसार आफैं हराएर जान्छन्।
साधरणत: जैविक हतियारका रूपमा प्रयोगशालामा विकास भएकाबाहेक प्राकृतिक रूपमा पाइने भाइरस-ब्याक्टेरियाको अरू जीवलाई संक्रमण र हानी गर्ने क्षमताविपरीत समानुपातिक हुन्छ। मतलब यदि कुनै भाइरसले जीवलाई धेरै नोक्सान गर्न सक्छ भने संक्रमण गर्ने क्षमता कम हुन्छ। नोक्सान गर्ने क्षमता कम भयो भने संक्रमण दर उच्च हुन्छ।
यो भाइरसभन्दा मानिसलाई धेरै घातक रोग लगाउने इबोला-एचआइभीलगायत कैयौं अरू भाइरस छन्। तर तिनीहरू कोरोनाभाइरस जत्तिको सजिलै नसर्ने भएकाले थोरै होस गरे जोगिन सकिन्छ।
संक्रमणका हिसाबले सबैभन्दा सजिलै सर्न सक्ने भनेकै श्वासप्रश्वासबाट सर्ने भाइरस हुन्। यो महामारी यतिको डरलाग्दो हुने एउटै कारण यसको संक्रामकता र घातकताको ठ्याक्क सही मिश्रण हो। यो एकदमै छिटै-सजिलै फैलिन सक्ने र अत्यन्तै ठूलो संख्यामा संक्रमण हुँदा मृत्युदर कम भए पनि ठूलै संख्यामा नोक्सान गर्छ।
यो भाइरससँग मिल्दाजुल्दा सन् २००३ मा चीन र दक्षिण-पूर्वी एसियामा देखिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको 'मर्स' पनि यो भाइरसभन्दा घातक थिए तर संक्रामकता कम भएकाले यत्रो बितण्डा मचाउन सकेनन्।
भाइरसको उद्देश्य हामीलाई मार्ने नभएर सकेसम्म धेरै फैलिने भएकाले अन्त्यमा यो परिस्कृत हुँदै जान्छ। हाम्रो शरीर र ऊ आफूलाई फाइदा हुने गरी कम खतरनाक हुन्छ र अझ धेरै फैलिन्छ।
वैज्ञानिकहरूका अनुसार, भाइरस परिस्कृत भएर झन् खतरनाक हुने भनेको सिनेमा र उपन्यासमा मात्र हो। परिस्कृत भएर झन् खतरनाक भए पनि त्यो आफैं नाश भएर जान्छ र कम खतरनाक प्रकृतिको मात्र बाँकी रहन्छ भन्ने वैज्ञानिकहरूले भन्छन्।
यो भाइरसको बेलायती भेरियन्ट (बी.१.१.७) भने बढी फैलिने र घातक दुबै पाइएको छ। तर वैज्ञानिकहरू यो मुख्यत: बढी फैलिने नै हो र यसको घातकता पनि बढी फैलिने कारणले नै हो भन्छन्। यो भेरियन्टको संक्रमण भएका मान्छेमा तुलनात्मक रूपमा धेरै मात्रामा भाइरस हुने र धेरै दिनसम्म रहने भएकाले धेरैलाई सार्न सक्ने सम्भावना हुन्छ। धेरै मात्रामा भाइरस हुने र धेरै दिनसम्म रहने भएकैले यो भेरियन्ट बढी घातक भएको मान्छन्।
सौभाग्यवश यो भेरियन्टमा अहिले प्रयोगमा भएका खोपहरू काम गर्छन्।
बेलायती भेरियन्टजस्तै ब्राजिलियन भेरियन्ट (पि१) र दक्षिण अफ्रिकी (बी.१.३५१) भेरियन्ट पनि फैलिरहेका छन्।
यी भेरियन्टमध्ये बेलायती र ब्राजिलियन भेरियन्टमा केही म्युटेसन (परिवर्तन) सहित मुख्यत: एन५०१वाई म्युटेसन र दक्षिण अफ्रिकीमा ई४८४के म्युटेसन पाइएको छ। भाइरस जिनमको चेनमा जुन नम्बरको हिस्सामा जुन अक्षरमा परिवर्तन हुन्छ त्यसै अनुसार म्युटेसनको नामाकरण गरिन्छ। भारतमा यी विभिन्न म्युटेसनसहित नौला म्युटेसन पनि पाइएको छ। कहिँ अरू म्युटेसनसहित एन५०१वाई र ई४८४के दुबै म्युटेसन भएका भेरियन्ट पनि पाइएका छन्।
मुख्य कुरा भनेको यी म्युटेसनको दुईखाले प्रभाव देखिएको छ। एन५०१वाई र अरु केही म्युटेसनले बढी फैलिन मद्दत गर्छ भने ई४८४केले एन्टिबडीबाट जोगाउने काम गर्छ।
खोप लगाउँदा शरिरमा बि-सेल र टि-सेल दुबै सक्रिय हुन्छन् र यी दुबैको स्मृति बस्छ। खोप र भेरियन्टको सम्बन्धमा प्रायजसो अध्ययन एन्टिबडीबारे मात्रै गरिएकाले यी भेरियन्टले एन्टिबडीलाई छले पनि माथि चर्चा गरे जसरी काम गर्ने टि-सेललाई नछल्ने वैज्ञानिकहरू मान्छन्। अर्को बेग्लै कोरोनाभाइरस लागेकामा त टि-सेल प्रतिक्रिया देखिएको भन्दै यो भाइरसको खोपबाट सिर्जित टि-सेलले यही भाइरसको अर्को भेरियन्टलाई पक्कै चिन्छ भन्छन्।
अहिलेसम्म दुबै डोज खोप लगाएर खोपको पूरा प्रभाव भइसकेकामा नयाँ-पुरानो कुनै पनि भेरियन्टका कारण मृत्यु भएका घटना पनि खासै धेरै छैनन्।
संसारका धेरै ठाउँमा एक-आपसमा सम्बन्ध नभएका भेरियन्टमा स्वतन्त्र रूपमा एन्टिबडी छल्ने ई४८४के म्युटेसन देखिएकाले एन्टीबडी छल्नमा सबैभन्दा उत्कृष्ट म्युटेसन नै ई४८४के भएको वैज्ञानिकहरू मान्छन्।
केही शोधकर्ताले एन्टीबडी छल्ने म्युटेसन के-के हुन सक्छन् त भनेर म्यापिङ (नक्सांकन) गरेर हेर्दा पनि ई४८४के म्युटेसन नै उत्कृष्ट देखिएको छ। केही वैज्ञानिक त एन्टिबडी छल्न ई४८४के म्युटेसनभन्दा गतिलो विकल्प नभएको दाबी नै गर्छन्।
धेरै फैलिनेमात्रै म्युटेसनलाई त हालकै खोपले काम गरिहाल्ने नै भए। एन्टिबडी छल्ने म्युटेसनमा पनि खोपको टि-सेलले काम गर्ने आशा हुन्छ। कदाचित काम गरेन भने पनि ई४८४के म्युटेसन लक्षित खोप बनायो भने एन्टिबडी छलेर खोपको प्रभावकारिता कम गर्ने अहिलेसम्म थाहा भएका सबैखाले भेरियन्टलाई काम गर्ने विश्वास वैज्ञानिक गर्छन्।
कोरोनाभाइरसको सतहमा च्याउजस्तो 'क्याप' हुन्छ जसलाई वैज्ञानिकले 'स्पाइक' भन्छन्। यो क्याप वा स्पाइक फोक्सोको कोषिकामा रहेको 'एस२ रिसेप्टर' भन्ने प्रोटिनमा च्याप्प टाँसिन्छ। सार्स र मर्स भाइरस यति राम्ररी टाँसिदैनन्। त्यसपछि यो भाइरसले आफ्नो सतहको च्याउजस्तो क्याप र डाँठ छुट्याउँछ। यसबाट भाइरस हाम्रो कोषिकामा प्रवेश गर्छ।
यो क्याप नै यसको मुख्य विशेषता भएकाले सबै खोप निर्माताले त्यसैमा केन्द्रित भएर खोप बनाए। खोप निर्माताले लक्षित गरेको त्यो स्पाइक भाइरसको बलियो र कमजोर दुबै पक्ष सावित भयो। खोप प्रयोगमा नआइकनै देखिएका सबै भेरियन्टमा मुख्यत: त्यही स्पाइकमा म्युटेसन देखिएको छ। खोप स्पाइक प्रोटिनमा केन्द्रित भएर बनाएकाले खोप प्रयोगमा आएपछि देखिएका भेरियन्टमा त झन् स्पाइकमै म्युटेसन हुने नै भए।
बेलायती भेरियन्टमा देखिएको एन५०१वाई र बढी फैलिन मद्दत गर्ने अरू म्युटेसनले त्यो क्यापलाई एस२ रिसेप्टरमा अझ राम्ररी टाँसिने बनाउँछ भने दक्षिण अफ्रिकी भेरियन्टको ई४८४के म्युटेसनले त्यो स्पाइकको स्वरूपमा थोरै परिवर्तन गरेर एन्टिबडी छल्ने बनाउँछ।
त्यो स्पाइक आफैंमा अनस्टेबल (अस्थिर) हुन्छ। हाम्रो शरीरको कोषिकामा टाँसिनु अघि र टाँसिए पछि त झन् स्वरूप बदल्छ। खोपका लागि हाम्रो शरीरको कोषिकामा टाँसिनु अघिको (प्रिफ्युजन) स्पाइकको स्वरूपलाई लक्षित गरे बढी प्रभावकारी हुने ठानेर त्यसैलाई लक्षित गरेर खोप बनाइयो।
त्यो स्पाइक अस्थिर हुने भएकाले प्रायजसो निर्माताले स्पाइक प्रोटिनमा हुने दुई वटा प्रोलाइन (संरचनामा प्रभाव पार्ने प्रोटिन) अदलबदल गरेर अलिक स्थिर '२ पी' स्पाइक प्रोटिन बनाए। '२पी' स्पाइक प्रोटिन प्रयोग गरेर बनेका खोप लगाउँदा तुलनात्मक रूपमा स्थिर स्वरूपमा स्पाइक प्रोटिन शरीरमा पुग्ने वा मेसेन्जर-आरएनए प्रविधि प्रयोग भएका फाइजर, मोडेर्ना खोपको हकमा बनिने भए। त्यो '२पी' स्पाइक प्रोटिन अमेरिकी वैज्ञानिक (स्ट्रकचरल बायोलोजिस्ट) जेसन मेकलेलनले बनाएका थिए। उनैले बनाएको त्यो '२पी' स्पाइक प्रोटिन प्रयोग गरेर हतार-हतार निर्माताले खोप बनाए।
खोप बनाउन सुरू भएपछि पनि उनले आफ्नो अध्ययन जारी राखे र स्पाइक प्रोटिनका अझ धेरै प्रोलाइन अदलबदल गरी झन् स्थिर स्पाइक प्रोटिन बनाउन सकिन्छ कि भनेर प्रयास गरे। उनले अहिले स्पाइक प्रोटिनका ६ वटा 'प्रोलाइन' अदलबदल गरेर झन् स्थिर '६पी' स्पाइक प्रोटिन बनाएका छन्। यो '६पी' स्पाइक प्रोटिन प्रयोग गरेर बनाउने खोप अझ बढी प्रभावकारी हुने मानिन्छ। अहिले प्रयोगमा रहेका खोपमा यसको प्रयोग गरे झन् प्रभावकारी हुनेछन्।
हाल प्रयोगमा रहेका खोपमा यसको प्रयोग अहिले नै सुरु नभए पनि यो '६पी' स्पाइक प्रोटिन प्रयोग गरेर बनाइएको एनडिभी-एचएक्सपि-एस नाम गरेको नयाँ खोपको मुसालगायत जनावरमा सफल परीक्षण भने भइसक्यो। चरामा लाग्ने न्युकासल डिजिज भाइरस (एनडिभी) लाई भेक्टरको (बाहक) रूपमा र ६पी स्पाइक (हेक्जा पी स्पाइक छोटकरीमा एचएक्सपी-एस) प्रयोग गरेकाले यसलाई एनडिभी-एचएक्सपि-एस नाम दिइएको हो।
यो भाइरस जनावरमा '२पी' स्पाइक प्रोटिन प्रयोग भएको खोपभन्दा धेरै प्रभावकारी देखिएको छ। कतिसम्म भने यसका मुख्य शोधकर्ता डा पिटर पलेजले यो खोप प्रयोग गरेर संसारका सकल मुसालाई म सार्स-सिओभी-२बाट जोगाउन सक्छु भन्ने दाबी गरेका छन्।
कुखुराको अण्डामा भाइरस उत्पादन गरेर बनाइने ज्यादै सस्तो र महामारी अघि फ्लुका लागि खोप बनाउने सबैजसो कारखानाले बनाउन सक्ने यो खोपको मानिसमा भने भर्खरै परीक्षण सुरू भएको छ। तीन चरणको परीक्षण सक्न केही महिना अझै लाग्छ।
त्यतिन्जेलमा महामारी नियन्त्रणमा आएन र यो खोपको परीक्षण सफल भयो भने यसले महामारी नियन्त्रणमा ठूलो भूमिका खेल्ने छ। सबैतिर धेरै ठूलो मात्रामा बनाउन मिल्ने यो सस्तो खोप गरीब देशहरूका लागि त बरदान नै हुनेछन्। परीक्षणमा रहेको अरू थुप्रै खोप पनि अहिलेका भन्दा अझ प्रभावकारी पनि हुनसक्ने छन्।
अहिले भएकै खोप पनि प्रभावकारी छँदैछन्। अमेरिकाले छिटै नै आफ्ना सबै जनतालाई खोप लगाइसक्नेछ। कुन खोपले काम गर्छ वा कुनले गर्दैन भन्ने थाहा नभइकनै सबैखाले खोपका लागि उसले अग्रिम भुक्तानी गरेको थियो। ती सबैजसो खोपले काम गर्ने भएकाले आफ्ना जनतालाई चाहिनेभन्दा कैयौं गुना धेरै खोप अमेरिकासँग हुनेछ।
आफ्नोमा महामारी राम्ररी नियन्त्रण गरेकाले चीनले आफूले बनाएका खोप आधाजसो मात्रै जनतालाई प्रयोग गरेर बाँकी अरूलाई बेचेर-अनुदानमा दिएर कूटनीतिक सम्बन्ध बिस्तार गरिरहेको देखेको अमेरिकाले पनि आफूले किनेको र आफ्ना देशमा बन्ने खोप अरू देशलाई दिनेछ, बेच्नेछ। रूसले पनि खोप बेचेर सम्बन्ध बिस्तार गरिरहेको बेलामा अमेरिका भने अन्तरमुखी भयो भनेर अमेरिकामै आवाज उठ्न थालिसकेको छ।
संसारभरि नै अहिले भइरहेका कारखानाको पनि क्षमता बिस्तार भइरहेका छन्। सबै देशले बिस्तारै सर्वाधिक जोखिममा भएकालाई पुग्ने गरी खोप पाउने छन्। सबै देशमा खोपको पहुँच पुर्याउन खडा गरिएको कोभ्याक्सअन्तर्गत पनि नेपाललगायत गरीब देशले खोप पाइरहेका छन्। अझै पाउने छन्।
भारत र चीनबीच अवस्थित भएकाले खोपमा विशेष भूराजनीतिक लाभ नेपालले पाइसकेको छ। अझै पाउने छ र अरू गरीब देशभन्दा पहिले नै सबैलाई पुग्ने गरी खोप पाउने छ। संसारका सबै मानिस नजोगिई कोही पनि पूर्ण रूपमा सुरक्षित नहुने भएकाले सबैसम्म खोप पुर्याउनमा विकसित देशहरूको आफ्नै स्वार्थ पनि छ।
तर यो सब कुराको लाभ लिन हामी त्यतिन्जेलसम्म जोगिएर रहनु पर्छ।
एक वर्षअघि स्थिति साँच्चे नै भयावह थियो। सारा संसार अँध्यारो सुरूङमा थियो। यो भाइरसबारे धेरै कम कुरामात्रै थाहा थियो। यो बीचमा डेक्सामेथासोन भन्ने सस्तो स्टेरोएड प्रयोग गर्यो भने सिकिस्त बिरामी भएकाको मृत्युदर कम गर्न सकिन्छ भन्ने थाहा भयो। डाक्टरहरूलाई भेन्टिलेटर छिटै प्रयोग गर्नु हुँदैन बरू सास फेर्न अप्ठयारो भएको बिरामीलाई घोप्टो पारेर सुतायो भने सजिलो हुन्छ भन्नेलगायत धेरै महत्वपूर्ण कुरा थाहा भएको छ। बेलायतमा गरिएको एक परीक्षणको हिजो मात्रै प्रकाशित प्रतिवदनले दम रोगीले प्रयोग गर्ने ब्युडेसोनाइड भन्ने सस्तो स्टेरोएडको घरमै बसेर प्रयोग गरे पनि बिरामीलाई केहि राहत हुने र अस्पताल भर्ना गर्नु पर्ने पाँच कोभिड बिरामी मध्ये एकलाई गर्नु नपर्ने दावी गरेको छ।
सबैभन्दा मुख्य कुरा त धेरै प्रभावकारी खोप उत्पादन भएका छन्।
यो एक वर्षमा नेपालको स्वास्थ्य सेवाको क्षमता भने खासै सुध्रिएको छैन अनि सरकारको 'नालायकी'मा पनि रत्तिभर सुधार आएको छैन। अहिले हामीले सावधानी अपनाएनौं भने जोखिममा रहेकाको कोभिडका कारण ज्यान जान सक्छ। अस्पतालमा धान्नै नसक्ने गरी चाप बढ्छ। अस्पतालमा चाप बढ्यो भने अरू रोगका बिरामीको उपचार नपाएर मृत्यु हुन सक्छ। युवाहरूको कोभिडका कारण ज्यान नगए पनि मष्तिस्कसम्बन्धी समस्या, मानसिक र अनेक शारिरीक रोग दीर्घकालसम्म रहन सक्छन्।
यी केही भएन भने पनि संक्रमण जति फैलियो त्यति यो भाइरस म्युटेसन भएर अरू डरलाग्दा भेरियन्ट आउन सक्छन्।
सुरक्षाका उपाय सजिलो र गर्न सकिने छन्। मास्क लगाऔं, भौतिक दूरी कायम गरौं र भिडभाड नगरौं। सुरुङको अन्त्यमा उज्यालो देखिइसकेको र सुरुङ पारगरिसक्न लागेको बेलामा लत्तो नछाडौं, हरेस नखाऔं! (एजेन्सीहरूको सहयोगमा)