अमेरिकी सरकारको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) मा पोस्ट डक्टोरल फेलोको रूपमा काम गरिरहेका नेपाली युवा इशान दाहालले एक्स-रे गरेर अल्जाइमर्स भएको वा हुन लागेको पत्ता लगाउने प्रविधि विकास गरेका छन्।
अनारमनी-७, बिर्तामोड झापाका दाहाल र उनका सहयोगी खोजकर्ताले विकास गरेको यो प्रविधिको मुसामा सफल प्रयोग भइसकेको छ।
यो प्रविधि मानिसमा पनि सफल भए उमेर बढेसँगै स्मरण शक्ति तथा मस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने अल्जाइमर्सविरूद्ध ठूलो उपलब्धि हुनेछ।
अल्जाइमर्स लाग्ने कारण अहिलेसम्म पत्ता लागेको छैन। निको पार्ने उपचार र औषधी नभएकाले औसत आयु धेरै भएका विकसित देशमा यो भयावह समस्याका रूपमा देखा परेको छ।
पछिल्लो ;समय नेपालमा पनि दिनदिनै बढिरहेको अल्जाइमर्स सुरूमै पत्ता लाग्दैन। स्मरण शक्तिमा निकै ह्रास आएर अल्जाइमर्स भएको थाहा पाउन्जेलसम्म धेरै कुरा बिग्रिसकेको हुन्छ। रोग लाग्ने कारण नै थाहा नभएकाले यसलाई निको पार्ने उपाय पनि छैन। संसारभरका वैज्ञानिक अनुसन्धानहरू अल्जाइमर्स हुने कारणसँगै यसलाई कसरी छिटोभन्दा छिटो पत्ता लगाउन सकिन्छ भन्नेमा केन्द्रीत छन्।
अल्जाइमर्स भएका मानिसको टाउको खोलेर हेर्दा, मस्तिष्क खुम्चिएर सानो हुने साथै न्युरोन (मस्तिष्कको मुख्य कोषिका) नष्ट भएर एमोल्वोयड र ताओ भन्ने प्रोटिन जम्मा भएको देखिन्छ। यसरी जम्मा भएको एमोल्वोयडलाई एमोल्वोयड प्लाक भनिन्छ भने जम्मा भएको ताओलाई ताओ ट्याङ्गल भनिन्छ। एमोल्वोयड प्लाक न्युरोन बाहिर हुन्छ भने ताओ ट्याङ्गल न्युरोन भित्र।
यसरी न्युरोन बाहिर एमोल्वोयड प्लाक र न्युरोन भित्र ताओ ट्याङ्गल जम्मा भएर अर्बौं न्युरोन बीचको अन्तरक्रियामार्फत् मस्तिष्कले गर्ने यावत् काम डामाडोल हुन्छ।
एमोल्वोयड प्लाक भएका सबैमा यो रोग लाग्दैन। केहीमा वर्षौं जम्मा भए पनि रोग लाग्दैन तर रोग लागेका सबैमा एमोल्वोयड प्लाक भेटिन्छ। थाहा पाउने गरी स्मरण शक्तिमा ह्रास आएर रोग पत्ता लागेको व्यक्तिमा १० वर्षभन्दा पहिलादेखि नै एमोल्वोयड प्लाक जम्मा हुन थालेको हुन्छ।
एमोल्वोयड प्लाक किन जम्मा हुन थाल्छ भन्ने थाहा हुन सकेको छैन। केही वंशाणुगत समस्या भएकामा कम उमेरमै एमोल्वोयड प्लाक जम्मा हुने थाहा भए पनि किन जम्मा हुन्छ भन्ने थाहा छैन। वैज्ञानिकहरूका अनुसार यो रोग लागेका मानिसमा पहिले एमोल्वोयड प्लाक जम्मा भएपछि न्युरोनको काममा मद्दत गर्ने ताओले काम गर्न छोडेर न्युरोनभित्र गुजुल्टिएर बस्न थाल्छ। तसर्थ अहिलेसम्म थाहा भएको ज्ञानअनुसार यो रोग चाँडै पत्ता लगाउन एमोल्वोयड प्लाक छ कि छैन भनेर हेर्नुपर्छ।
जिउँदो मान्छेमा यो हेर्न पोजिटर्न इमिसन टोमोग्राफी (पेट) स्क्यान गर्नुपर्छ। यो एकदमै महँगो हुन्छ र सबै देशमा उपलब्ध हुँदैन। नेपालमा पेट स्क्यान गरेको ६० हजार पर्छ भने इशानका अनुसार अमेरिकामा पाँच हजार डलरसम्म पर्छ।
वैज्ञानिकहरु रगत जाँचेर वा अरू कुनै विधि प्रयोग गरेर कसरी सजिलै र कम खर्चमा एमोल्वोयड प्लाक जम्मा भएको पत्ता लगाउने भनेर अनुसन्धान गरिरहेका छन्। इशानले विकास गरेको प्रविधि मानिसमा सफल भए एक्स-रे गरेरै एमोल्वोयड प्लाक देखिन्छ।
स्मल एङ्गल एक्स-रे स्कयाटरिङ प्रविधि प्रयोग गरी मस्तिष्कले रंगीविरंगी एक्स-रेको बिम (पुन्ज) कसरी तितरबितर पार्छ भन्ने हेरेर एमोल्वोयड प्लाक भए/नभएको पत्ता लाउन सकिने तरीका इशानले विकास गरेका हुन्।
सेतोपाटीसँग कुरा गर्दै इशानले नेपालमै प्रयोगमा भएका सिटी स्क्यान मेसिनमा उनले विकास गरेको प्रविधि अनुसार छरिएका एक्स-रे किरण विश्लेषण गर्ने मेसिन जोड्यो भने सामान्य एक्स-रे गर्ने खर्चमै गर्न सकिन्छ।
इशानको टोलीले मुसामा यो प्रविधि प्रयोग गरेर एमोल्वोयड प्लाकको एक्स-रे गरिसकेको छ।
'यो प्रविधि मानिसमा प्रयोग गर्न सक्ने धेरै सम्भावना छ। यसको कारण के भने एक्स-रेको उर्जालगायत केही मापदण्ड परिवर्तन गरेर र मुसामा प्रयोग भएकै छरिएका एक्स-रे किरण पत्ता लाउने विधि प्रयोग गरी मानव मस्तिष्क अध्यन गर्न सकिन्छ,' उनले भने।
सिकागोमा २ वर्षअघि भएको अल्जाइमर्स संघको अन्तर्राष्ट्रिय सम्मेलनमा साइम्युलेसन गरेर कसरी मानवमा प्रयोग गर्न सकिन्छ भनेर आफूले देखाइसकेको उनले बताए।
मानिसमा यो प्रविधि प्रयोग गर्न कडा सुरक्षा र टेस्टिङ मापदण्ड मान्नु पर्ने र अस्पतालमा प्रयोग गर्न अनुमति प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यो प्रविधि प्रयोगमा आउन कम्तीमा पाँच वर्ष लाग्ने इशानको भनाइ छ।
इशान र उनका सहकर्मी शोधकर्ताले यो प्रविधिको पेटेन्ट दर्ता पनि गराइसकेका छन्।
'नेपालका अस्पतालहरूले केही लाख रुपैयाँ खर्च गरेर हाम्रो प्रविधि प्रयोग गर्न सक्नेछन्,' उनले भने।
पेट स्क्यानको मेसिनको करोडौं पर्छ भने उनले विकास गरेको प्रविधले एमोल्वोयड प्लाकको अझ स्पष्ट तस्बिर खिच्न सकिने छ।
'एमोल्वोयड प्लाकको एक्स-रे गर्दा पेट स्क्यानको जस्तो केही रसायन शरीरमा नपठाई केही मिनेटमै मस्तिष्कको तस्वीर खिच्न सकिने छ,' उनले भने।
क्यान्सरलगायत खतरनाक रोगको जस्तो तुरून्तै मृत्यु नभए पनि अल्जाइमर्स रोगी र परिवारलाई धेरै समस्या हुन्छ। स्मरण शक्तिमा सामान्य ह्रास आएर सुरू हुने अल्जाइमर्स बढ्दै जाँदा सोच्ने, समस्या समाधान लगायत मस्तिष्कले गर्ने काममा असर गर्न थाल्छ।
रोग अझै बढ्दै जाँदा परिवारका सदस्य र आफूलाई पनि नचिन्ने हुन थाल्छ। यस्तो अवस्थामा रोगीलाई त समस्या हुने नै भयो हरेक कुरा बिर्सिने र कसैलाई नचिन्ने भएकाले केही बिगार गर्ने पो हुन् कि वा अरू रोग छैन र हिँडडुल गर्न सक्छन् भने घरबाहिर निस्केर हराउने पो हुन् कि भनेर बच्चाको जस्तै नछोडी हेरचाह गर्नु पर्ने हुन्छ।
इशानले विकास गरेको प्रविधि प्रयोगमा आयो भने सस्तो हुने भएकाले अधबैंसे व्यक्तिले मस्तिष्कमा एमोल्वोयड प्लाक छ कि छैन भनेर जचाउन सक्ने छन्।
एमोल्वोयड प्लाक घटाउने केही औषधीबारे अनुसन्धान भइरहेको छ। ती औषधी सफल भए भने एक्स-रे गर्दा एमोल्वोयड प्लाक देखिए तिनको प्रयोग गर्न सकिनेछ।
एमोल्वोयड प्लाक घटाउने औषधी पत्ता नै नलागे पनि प्लाक देखिएको व्यक्तिले जीवनशैली परिवर्तन गरेर यो रोगको गति रोक्न सकिनेछ। समय-समयमा एक्स-रे गरेर एमोल्वोयड प्लाक कतिको बढिरहेको छ भनेर हेर्न सकिनेछ।
अल्जाइमर्सको पछिल्लो अन्तर्राष्ट्रिय सम्मेलनले यो रोगका लागि धेरै मदिरा सेवन, अधबैंसे उमेरमा टाउकोमा चोट र पाको उमेरमा प्रदुषित वायु लिनु गरी थप तीन प्रमुख जोखिम पहिचान गरेको छ। यसअघि धुमपान, उच्च रक्तचाप, मोटोपना, मधुमेह, श्रवण शक्तिमा ह्रास, कम शिक्षालगायत नौ वटा जोखिम पहिचान गरिएको थियो।
यो रोगको मुख्य जोखिममध्ये बढ्दो उमेर मानिसले नियन्त्रण गर्न नसके पनि बाँकी लगभग सबै जोखिम नियन्त्रण गर्न सकिन्छ।
सामान्य अवस्थाम पनि यी जोखिम नियन्त्रण गर्नु राम्रो हो। नियन्त्रण नगर्नेले पनि एमोल्वोयड प्लाक देखियो भने नियन्त्रण गर्न सक्छन्।
बढ्दो उमेरमा पनि मस्तिष्क प्रयोग गरिराखेर चुस्त राख्यो भने, अझ नयाँ सीप वा भाषा सिक्यो भने यो रोगलाई केही पछि धकेल्न सकिने वैज्ञानिकहरू बताउँछन्। एक्स-रे गर्दा एमोल्वोयड प्लाक देखियो भने यस्ता उपाय पनि अवलम्वन गर्न सकिन्छ।
'यो प्रविधिले नेपालमा पनि एमोल्वोयड प्लाकको जाँचको पहुँच बढाएर अल्जाइमर्स रोगको समयमै पहिचान गर्न मद्दत गर्न सक्छ,' इशानले भने।
इशानको टोली अहिले त्यही प्रविधि प्रयोग गरेर एमोल्वोयड प्लाकजस्तै जम्मा भएको ताओ ट्याङ्गल पनि पत्ता लाउन सकिन्छ कि भनेर प्रयास गर्दैछन्। ताओ ट्याङ्गल पनि पत्ता लाग्ने भयो भने झन सुनमा सुगन्ध हुनेछ। (एजेन्सीहरूको सहयोगमा)