झारफुक गरेर रोग निको हुन्छ भन्ने अन्धविश्वासमा पर्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ।
गुल्मीको ईस्मा गाउँपालिका वडा नं. ३ दर्लामचौरका ६३ वर्षिया रामबहादुर मुखियाको झारफुकको नाममा धामीले तातो पन्यूँ र झाँझरले हानेको चरम यातनाका कारण मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठका अनुसार ढाड दुखेर बिरामी परेका मुखियालाई पुस २५ गते दुई छोराहरू हुमबहादुर र कृष्ण मुखियाले ईस्मादेखि रेसुङगा नगरपालिका-१ उदिनढुंगास्थित धामीको पुर्याएका थिए।
धामी भनिने ३८ वर्षीय रामप्रसाद श्रेष्ठ मालिका गाउँपालिका ६ अर्जे घर भइ श्रीमती ३६ वर्षीया श्रीमती शान्तिला श्रेष्ठ, दुई छोरी र एक छोराको साथमा उदिनढुंगामा अर्कैको जग्गामा छाप्रो हालेर बस्दै आएका थिए।
पुस २५ गते आफ्नो घरमा आएका मुखियालाई श्रेष्ठले तातो पन्यूँ र झाँझरले झारफुकको नाममा चार दिनसम्म डाम्दा चरम यातनापछि बुधवार मृत्यु भएको हो। मृतक मुखियाको शरीरको विभिन्न भागमा तातो फालमले डामिएका चोट रहेको प्रहरीले बताएको छ ।
मृतक रामबहादुरका छोरा कृष्णले झारफुक गर्ने श्रेष्ठले बुवालाई चार दिनसम्म खाना खानसमेत नदिई तातो पन्यूँले डामिरहेको सेतोपाटीलाई जानकारी दिए। श्रेष्ठले दाजु हुमबहादुरलाई पनि झारफुक गर्नुपर्छ भनी तातो पन्यूँले डाम्दा खुट्टा, आँखा र टाउकोमा चोट लागेको बताए।
गत शनिबार साँझ रामप्रसादको घरमा पुर्याएपछि आईतबारदेखि मंगलबार रातिसम्म दुखेको ढाड बाध्ने भन्दै तातो पन्यूँ, झाँझर र प्लाष्टिकको पाईपले डाम बस्नेगरि डाम्ने र पिट्ने गरेपछि चरम यातनाको कारण बुवाको मृत्यु भएको उनले बताए ।
‘मंगलबार पनि रातभर झारफुक गर्ने र डाम्ने गरेका थिए, धेरै दिनको अनिँदोले दाजु र म बिहान आठ बजेसम्म निदाएछौं, उठेर हेर्दा बुवा अगेनाको छेउमा पल्टिनुभएको थियो, शरीर चिसो भईसकेको थियो, चिसोले नै होला भनेर आगो बालेर सेक्न थाल्यौं। ११ बजेसम्म पनि बुवा तात्नुभएन मृत्यु भईसकेको रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘रामप्रसाद बिहानै उठेर बाहिर निस्किईसकेका रहेछन्।’
बुधबार बिहान मुखिया अचेत भएको भेटेपछि धामी श्रेष्ठ आफैंले प्रहरी कार्यालयमा पुगी आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनी उजुरी दिएका थिए।
उजुरीपछि प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा उनको घर पुगेको प्रहरीले झारफुकको नाममा चरम यातना दिएपछि मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको थियो।
प्रहरीले श्रेष्ठ र उनलाई सघाउने उनकी श्रीमती ३६ वर्षिय शान्तिला श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। मृतक मुखियाको शव पोष्टमार्टमपछि परिवारले दाहसंस्कार गरिसकेका छन्।
मुखिया परिवार झारफुकबाट रोग निको हुन्छ भन्ने रूढिवादी र अन्धविश्वासमा परेको यो पहिलो घटना भने होईन। यसअघि पनि मृतकका छोरा कृष्णले आफ्नो ८ महिनाको छोरालाई रामप्रसादबाटै झारफुक गरि चार दिन पछि घर लगेका थिए ।
रात दिन शरीर बटारिदै रूने र चिच्चाउने ८ महिने छोरालाई दुई हप्ता पहिले त्यहीँ लगेर झारफुक गरेपछि केही दिन सन्चो लागेजस्तो भएपछि बुवालाई पनि झारफुक गरेर निको हुन्छ भनी त्यहीँ धामीको घरमा लगेका थिए।
‘छोरालाई बुटी बाँध्ने र फुक्ने गरेपछि केहि दिन सन्चो भएजस्तो भयो, बुवा पनि पहिलेदेखि नै ढाड दुखेर गाउँमा फुकाउँदै हिड्नुहुन्थ्यो एकपटक त्यहाँ लगेर हेरौं भनेर लगेका थियौं तर घर ल्याउन पाएनौं,’ कृष्णले सेतोपाटीसँग भने ।
रामप्रसादले झारफुकको लागि त्यहाँ जाने विरामीसँग गुरू भेटी, बुटी र दक्षिणाको नाममा ठूलो रकमसमेत उठाउने गरेको कृष्णले बताए । ‘छोरा विरामी हुँदा फुक्ने, बुटी बाँध्ने र गुरू भेटीको नाममा ४ दिनमा ३० हजार खर्च भएको थियो, बुवालाई पनि ४ दिनमै २२ हजार भन्दा बढी खर्च भईसकेको थियो,’ उनले भने।
रामप्रसादले आफुमात्र नभई श्रीमती, दुई छोरी र छोराको नाममा समेत अलग अलग गुरुभेटी चढाउन बाध्य पारे पनि उसले भने अनुसार खर्च गर्दै गएको कृष्णले बताए।
‘धामीको घरको गेट भित्र छिरेपछि उसले भनेको मान्दिनँ र गर्दिनँ भन्ने सोँच नै आउँदैन, घर परिवार कसैको सम्झना नआउने, एकोहोरो हुने भईँदोरहेछ, बुवालाई यहाँबाट लैजाउ भन्ने आँटसमेत गर्न सकिएन,’ कृष्णले भने।
धामी भनिने श्रेष्ठ दम्पतीले त्यहाँ जाने विरामीहरुलाई शुरुमा टाउकोमा जल, जौ र तिल छर्किने, शरीरका विभिन्न भागमा हातले धाप मारेजस्तो गर्दै पछि फलाम र स्टीलको पन्यू र झाँझर आगोमा तताएर डाम्ने गरेको उनले बताए।
‘शुरूमा त यसो गरेपछि सन्चो हुन्छ होला भन्ने लाग्यो, रोग निको हुन्छ भनेपछि कुटपिटलाई पनि सामान्य रुपमा लियौं, तर त्यहीँ कुटाईले बुवाको मृत्यु भयो, अहिले त्यहाँ लगेकोमा धेरै पछुतो लागेको छ,’ कृष्णले भने।
तातो वस्तुले डाम्ने र कुटपिट गर्दा बुवाको शरीरको सबै भागमा निलडाम भएको उनले बताए। आफूसँगै त्यहाँ पुगेकी रेसुङ्गा नगरपालिका ५ की ४० वर्षीया टोपला दमाईलाई पनि तातो वस्तुले डाम्ने र झारफुकको लागि भन्दै पैसा असुल्न लगाएको उनले बताए।
टोपला र हुमबहादुरको पनि शरीरमा डामेको निलो डाम बसेको कृष्णले बताए। हुमबहादुरलाई जिल्ला अस्पताल गुल्मीले थप उपचारको लागि पाल्पा पठाएको भए पनि बुवाको दाहसंस्कार र काजक्रियाको लागि घर गएको कृष्णले जानकारी दिए।
रेसुङ्गा नगरपालिका-१ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बजार नजिकै रहेको स्थानमा झारफुकको नाममा मानिसको मृत्यु हुने दुःखद भएको बताए। उनले यसअघि रामप्रसादले झारफुक गर्छन् भन्ने थाहा नपाएकोसमेत बताए। ‘उनी यहाँ बसेको धेरै भएको छैन, अर्जे तिर घर भएका हुन्, ज्यामीको काम गर्छन् भन्ने थाहा पाएर लकडाउनको समयमा पनि राहत उपलब्ध गराएका थियौं,’ वडा अध्यक्ष पाण्डेले भने।