काठमाडौं प्रहरीको हिरासतमा रहेका चक्रे मिलन भनिने मिलन गुरूङमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने तयारी गरेको छ।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा एउटा मुद्दा बाँकी रहेको हुँदा अनुसन्धानको तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
‘एउटा मुद्दामा त्यतिबेला उनको तीन पुस्ते नखुलेको भएर मुद्दा अघि बढेको थिएन। अब अहिले खुलाउनलाई पीडितले सनाखत गर्नुपर्छ। त्यसपछि मुद्दा अघि बढ्छ,’ उनले भने।
उनले मनिष रायमाझी भन्ने व्यक्तिलाई २०८१ भदौ १० गते मध्यपुर थिमि नगरपालिका-२ सानोठिमी दिव्यश्वरीस्थित बड्डाको तावा रेष्टुरेन्टमा बोलाएर हतियार प्रहार गरेको आरोप चक्रे मिलन र उनको समूहमाथि छ।
उक्त मुद्दामा सर्लाही घर भई महालक्ष्मी नगरपालिका ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवास पक्राउ परेका थिए।
खुकुरी प्रहार गरी दुबै कोखामा चोट लागेको थियो। टाउकोमा समेत निलडाम हुने गरी कुटपिट गरेको आरोप थियो।
सरकारी वकिल कार्यालय भक्तपुरमा प्रतिवादी बनाइएका अजित खवासले बरू उल्टै घाइते भएका मनिषलाई प्रहरीकहाँ पुर्याइदिएको र त्यहाँबाट प्रहरीले अस्पताल पुर्याएको बयान दिएका थिए।
मनिषसँग भेट भएपछि ८/९ जनाको समूह आएर ‘तैं हैन, मेरो दाइलाई डुडे, लङ्गडे भन्ने’ भनेर कुटेको उनको भनाइ थियो। उक्त समूहले आफूलाई समेत कुटपिट गरेको उनले बताएका थिए।
यसरी घटना भएपछि उनले तीनकुनेको प्रहरी चौकीमा पुर्याएको र मनिषले ‘मामा मलाई चक्रेले पिट्यो’ भनेका थिए।
पछि घाइते भएका मनिषलाई कान्तिपुर अस्पतालमा लगिएको थियो।
मनिषले फेसबुक स्टाटसमार्फत चक्रे मिलनलाई गाली गरेका कारण चक्रे मिलनका मानिसहरूले उनीमाथि कुटपिट गरेको आरोप छ।
तर पछि मनिषले फोन गरेर प्रहरी कार्यालयमा बोलाएर जाँदा पक्राउ परेका थिए। उनले आफूले चक्रे मिलनसँग कुनै सम्बन्ध र चिनजान समेत नभएको बताएका थिए। मनिष र अजित एउटै गाउँका हुन्।
सिसिटिभी फुटेज हेरेपछि भने अजितले नै चक्रे मिलनलाई उनको लोकेशन बताएको आशंका गरिएको थियो।
घाइते भएका मनिषले सरकारी वकिल समक्ष गरेको कागजमा अजित खवासले सूचना दिएको हुनसक्ने बताएका थिए।
‘अजित खवासले मेरो बारेमा सूचना दिई मिलन चक्रे भन्ने मिलन गुरुङका मानिस ज्यान मार्नेसम्मको प्रयास गरेका हुन्,’ कागजमा भनेका थिए।
त्यतिबेला चक्रे मिलनको नाम प्रतिवादी र पीडित दुबै जनाले खुलाएको भएपनि प्रतिवादी बनाइएको थिएन।
चक्रे मिलनको तीन पुस्ते विवरणसहित यकिन वतन नखुलेको र पक्राउ नपरेको भन्दै मुद्दा अघि बढाएको थिएन।
यसरी सरकारी वकिलले उनलाई प्रतिवादी नबनाइकनै अभियोगपत्र २०८१ असोज ४ गते मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा जिल्ला अदालत भक्तपुरले सुनुवाइ समेत अघि बढाइसकेको थियो। गत चैत २८ गते अजितविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा जिल्ला न्यायाधीश दिलिपराज पन्तको इजलासले दाबी नपुग्ने भनेर अन्तिम फैसला गरेको थियो।
हाल चक्रे मिलनसहित १९ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। मानिसमा त्रास फैलाउन खोजेको, होहल्ला गरेको, बाटो छेकेर प्रदर्शन गरेको आरोप लगाउँदै प्रहरीले उनलाई साउन १५ गते मध्यराति महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरेको थियो।
चक्रे मिलनको जन्मदिन मनाइरहँदा प्रहरी उक्त होटलमा पुगेको थियो। सुरूमा ४७ जनालाई पक्राउ गरिएको थियो। तर पछि १९ जनामाथि मात्रै प्रहरीले अभद्र व्यवहारको कसुरमा म्याद थप गरेको थियो।