काठमाडौंको होटलमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जनामाथि मुद्दा दायर भएको छ।
बूढानीलकण्ठ नगरपालिका-८ भंगाल कपन बस्ने २८ वर्षीय ईश्वर भट्टराईविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
उनको मुद्दाको सुनुवाइ न्यायाधीश तारादेवी महर्जनको इजलासमा भइरहेको छ। उनीमाथि माछापोखरीस्थित एक होटलमा महिलामाथि बलात्कार गरेको आरोप छ।
पीडित महिला बाँकेमा बस्थिन्। उनले धार्मिक, धामी/झाक्री र झारफुकमा समेत विश्वास गर्ने गर्थिन्।
प्रहरीलाई दिएको जाहेरीअनुसार केही महिना अघि उनले सामाजिक सञ्जालमा भेदिक एस्ट्रोलोजी काउन्सेलिङ सेन्टरको पेजमा सम्पर्क गरेकी थिइन्।
भविष्य थाहा पाउने भनेर उनले उक्त पेजमा सम्पर्क गरेकी हुन्।
त्यहाँ उनको कुराकानी ईश्वर भट्टराईसँग भएको थियो। भट्टराईले माछापोखरीमा वैदिक ज्योतिष परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। उनले शास्त्रीसम्मको अध्ययन गरेको पनि सरकारी वकिलको कार्यालय काठमाडौंलाई बयानमा बताएका छन्।
महिलाले कुराकानी गरेपछि ईश्वरले ‘भविष्य राम्रो छैन विभिन्न बाधा अर्चन आउँछन्। ग्रहहरूको दोष छ। बेलैमा यसको निवारण नगरे राम्रो हुँदैन। यसको निवारण गर्न पूजा गर्नुपर्छ,’ भनेका थिए।
यसको लागि ३५ हजार रुपैयाँ लाग्ने र पूजा नगरे ज्यानलाई जे पनि हुनसक्ने भनेर डर देखाएको पीडितको भनाइ छ।
पीडितले ईश्वरको भनाइ अनुसार नै बैंक खातामा रकम पठाइन्। पछि अनलाइनमार्फत पूजा गरेपछि ‘अब तिम्रो राम्रो हुन्छ चिन्ता लिनुपर्दैन,’ ईश्वरको भनाइ उदृत गर्दै पीडितले जाहेरीमा भनेकी थिइन्।
तर केही समयपछि उनलाई टाउको, शरीर दुख्ने जस्ता समस्या देखिएको भन्दै उनले पुन: ईश्वरसँग सम्पर्क गरिन्।
‘तिम्रो दोष काटिएको छैन। यसको लागि तिमिले अब ठूलो पूजा गर्नुपर्छ। नगरे तिमीलाई झन् झन् गाह्रो हुन्छ। शरीरमा विभिन्न रोगहरू लाग्छ। भविष्यमा पनि तिम्रो जीवन राम्रो हुँदैन पूजा गर्न पशुपतिनाथ आउनुपर्छ। पुजा गरेपछि सबै दोष काटिएर जान्छन्। रोग पनि निको हुन्छ,’ पीडितलाई ईश्वरले भनेका थिए।
त्यसो भनेपछि पीडित महिला काठमाडौं आउन तयार भइन्। उनी जेठ १७ गते काठमाडौं आइपुगिन्।
पीडित महिला ईश्वरको कार्यालयमा पुगिन्। सुरूमा अफिसमै झारफुक गरे। त्यसपछि ठूलो पूजा गर्न पशुपति जानुपर्ने भनेर बताएको पनि पीडितको भनाइ छ।
त्यस दिन अबेर भइसकेकाले ढिला भइसकेको भोलि आउनु भनेर भनेका थिए।
ईश्वरले माछापोखरीको एक होटलमा गएर बस्न भनेर लगेको पनि पीडितले बताएकी छन्।
‘मलाई होटलको कोठा हेरी कोठा ठिक छ भनेर भने। तर उनले म आफैं कोठा हेर्छु भनेर गए। खाना खाएर आउ म एकछिनमा जान्छु भनेर भने,’ उनले भनिन्।
तर खाना खाएर आउँदासम्म पनि ईश्वर फर्किएका थिएनन्। उनले राति गाह्रो हुने बहाना बनाएको र मन्त्र फुक्ने बहाना बनाएर जबरजस्ती बलात्कार गरेको आरोप छ।
भोलिपल्ट बिहान ४ बजेतिर कसैलाई भने मार्ने धम्की दिएको भन्दै पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।
ईश्वर अहिले प्रहरी हिरासतमा छन्।
उनले आफूलाई कोठा खोजिदिन भनेर अनुरोध गरेपछि खोजिदिएको बयान सरकारी वकिलसमक्ष दिएका छन्।
उनले आफू घर फर्किन खोजे पनि पीडितले रोकेको र सहमतिमा शारीरिक सम्पर्कमा बसेको बयानमा उल्लेख गरेका छन्। जाहेरीपछि उनी असार २९ गते प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
प्रहरीले उनीमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमाथि अभियोजन गरी सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दायर गरेको हो।
बुधबार अदालतमा भइरहेको थुनछेकको सुनुवाइपछि उनलाई थुनामा राख्ने वा धरौटी वा हाजिर जमानीमा राख्ने भन्नेबारे आदेश हुनेछ।
सरकारी वकिलले उनलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति समेत भराउन माग गरेको छ।