सप्तरीमा गोली लागेर एक जना पुरूषको मृत्यु भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
बुधबार स्थानीयहरू कार्यालय अगाडि प्रदर्शन गर्न भेला भएका हुन्। उनीहरूले टायर बालेर विरोध समेत जनाएका छन्।
गएराति साढे १० बजेतिर नेपाल-भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका-२ कमलपुरमा अवैध घरेलु मदिरा नियन्त्रण गर्न खटिएको टोलीले गोली चलाएको हो।
डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रहरीको गोली लागेर ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो। उनको तिघ्रामा गोली लागेको थियो। अस्पताल लग्दै गर्दा रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो।
मदिरा नियन्त्रणमा लिन प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली खटिएको थियो।
‘धेरै वटा घरमा घरेलु मदिरा रहेको थाहा पाएपछि टोली खटिएको थियो। एक घरमा दुई तीन जनाको हिसाबले प्रहरी राख्दै गएको थियो,’ डिएसपी बस्नेतले भने, ‘तर उनीहरूले हो-हल्ला गरी प्रहरीमाथि नै आक्रमण गरे। प्रहरी एकीकृत पनि हुन सकेन। आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो।’
प्रहरी पुगेपछि त्यहाँ झन्डै सय जना मानिसहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
उनले मदिरा नियन्त्रणमा नलिने तर आफूहरूलाई जान दिन भनेपनि नमानेको अवस्थामा सुरूमा हवाइफायर गरेको बताए।
‘मदिरा बरामद गर्दैनौं। छोड्छौं भन्दा पनि नमानेको अवस्था थियो। त्यसो हुँदा गोली चल्यो। सुरूमा चार राउण्ड हवाइफायर भएको हो,’ उनले भने, ‘एक राउण्ड गोली लागेको हो।’
घटनापछि प्रहरीकै गाडीमा राखेर अस्पताल लगिएको थियो। तर विभिन्न अड्चन आएकाले समस्या भएकाले पनि ढिला भएको हुनसक्ने उनले बताए।
घटनापछि सबै राजनीतिक दलका नेतृत्वहरूसँग छलफलको प्रयास भइरहेको छ।