कोशी प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा विद्युतको ट्रान्सफर्मर चोर्दै त्यसभित्रको तामाको तार बेच्दै गर्ने गिरोह प्रहरी फन्दामा परेको छ।
विद्युत प्राधिकरणको कर्मचारीहरूले जसरी गाडीमा सिँढी तथा अन्य उपकरणहरू राखेर ग्रामीण क्षेत्रमा राखिएका विद्युत ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहले वर्ष दिनमा २२ वटा ट्रान्सफर्मर चोरेको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ।
‘तीन वटै जिल्लामा चोरी गर्ने समूह एकै रहेको पाइएको छ,’ डिआइजी ईश्वर कार्कीले भने, ‘दुई सातायता ७ जनालाई नियन्त्रण लिइसकिएको छ। चोरीको तार किन्ने ५ जना पनि पक्राउ परेका छन्। उनीहरूको गिरोह नै ट्रान्सफर्मर चोरीमा संलग्न पाइएको छ।’
प्रहरीले दिएको जानकारी अनुसार ग्रामीण क्षेत्रमा खानेपानी आयोजना र सिँचाइका लागि प्रयोग गरिने डिप बोरिङका लागि राखिएका ट्रान्सफर्मरलाई यो समूहले निशानामा पार्दै आएको पाइएको छ। गएको माघ यता मात्रै झापा, मोरङ र सुनसरीमा गरी २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए।
प्रहरीले साउन ८ मा पहिलोपटक मोरङको रंगेली नगरपालिका–९ इटाभट्टाबाट शंकास्पद अवस्थामा मोरङकै ग्रामथान–५ का ४२ वर्षीय अर्जुनकुमार माझीलाई पक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा माझीसहित ग्रामथान–५ सिमरियाका ३१ वर्षीय इरज धामी, सुनसरीको दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विश्वास, मोरङ बेलबारी नगरपालिका–४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ, सुनसरीको दुहवी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी र भारत घर भई हाल सुनसरीको दुहवी–४ मलाटी टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँलाई पक्राउ गरेको छ।
‘हामीले लाइन भएकै बेलामा ट्रान्सफर्मर चोरी गरेको लाइभ भेटेका छौं,’ डिआइजी कार्कीले भने, ‘५० केभिएदेखि २५० केभिएसम्मका ट्रान्सफर्मर चोरिएको पाइएको छ, झापादेखि सुनसरीसम्म एउटै समूहको नेतृत्वमा विभिन्न टोली बनाएर चोरीमा संलग्न भएको देखिएको छ, नौ लाख रुपैयाँ पर्ने ट्रान्सफर्मरलाई चोरी गरेर दुई लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ।’
चोरिएका ट्रान्सफर्मरबाट निकालेको तामा र अन्य सरसामान किन्ने थप पाँच जनालाई समेत पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर महानगरपालिका–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सीताराम राई छन्।
प्रहरीले दिएको जानकारी अनुसार ट्रान्सफर्मरमा भएको तामाको तार ज्यादै महँगो हुन्छ। अन्य सामान पनि उत्तिकै महँगा हुन्छन्।
‘त्यही लोभमा विद्युतीय प्रविधिको उच्च ज्ञान भएको गिरोह चोरीमा संलग्न पाइएको छ,’ डिआइजी कार्कीले भने, ‘२५० केभिएको ट्रान्सफर्मरबाट ९ लाख रुपैयाँ बराबरको तार निस्कने रहेछ।’
यो गिरोहले भने व्यापारीलाई दुई लाखमै त्यो तार बेच्ने गरेको पाइएको कार्कीले जानकारी दिए।