कपिलवस्तुको कोइली र वाणगंगा नदी दोभानमा एकाबिहानै पुग्दा आधादर्जन जलेका चिता बगरमा छरपस्ट देखिन्थे। सबै चिता जलिसकेका थिएनन्। राती शव जलिसकेपछि मलामीले दाउरा बल्न छाडेर हिँडेको बुझिन्थ्यो।
त्यहीँ एउटा चिता छेउ थिए एक वृद्ध।
चिसो र सुनसान घाटमा ती वृद्ध चप्पल र आस्कोटका भरमा चिता समेट्दै थिए। चिताबाट खसेका मुढा डढाउन, सफा गर्न, शव जलेपछि बनेका कोइला बेल्चा निकाल्दै खोलामा बगाउन तल्लीन।
उनी हुन् वाणगंगा नगरपालिका-७ कोइली वनगाईका ६९ वर्षीय भारते विश्वकर्मा। उनको दैनिकी यो दोभानको यही लक्ष्मणघाटबाट सुरू हुन्छ।
बिहान सबेरै उठेर भारते घाट हेर्न पुग्छन्। बेलुका घाटको अन्तिम चिता जलाएर फर्किन्छन्। उनको दिन घाटमै सुरू हुन्छ, घाटमै सकिन्छ।
रोल्पाको पोवाङबाट २५ वर्ष पहिले 'मधेस' झरेका भारते श्रीमती र दुई छोराछोरीसँगै कोइली खोलाको यही बगरमा आश्रय लिन आइपुगेका थिए। परिवार चलाउँदा बाबुबाजेकै पालामा लागेको आठ हजार ऋण तिर्न नसकेपछि उनको सबै सम्पत्ती साहुले सकारिदिएका थिए।
'जग्गा हुँदा पनि खेती गरेर खान पुग्थेन। त्यहीँमाथि बाबुबाजेले लगाएको ८ हजार ऋण तिर्न नसकेपछि साहुलाई जग्गा सुम्पिएर मधेस झरेँ। यता आएपछि अहिलेसम्म फर्किएको छैन,' उनी भन्छन्।
परिवारसहित आएका भारतेलाई सुरूमा कहाँ जाने, ठेगान थिएन। उनी कोइली र बाणगंगा नदीको उकास क्षेत्रमा बस्न थाले। खोलाले कटान गरेको बगर उकासिँदै थियो, त्यसैलाई समेट्न थाले। जंगलबाट खर र झिँगटी ल्याएर छाप्रो हाले।
२५ वर्ष पहिले बनाएको उनको त्यो छाप्रो अहिले जीर्ण छ। बोरा र त्रिपालले बारेको छाप्रोको छानो उध्रिएको छ। त्यही छानामुनि उनको चारजनाको परिवार बस्छ।
रोल्पाबाट काखमा च्यापेर ल्याएका छोराछोरी विवाह गरेर अलग बस्न थालेका छन्। पहिलो श्रीमतीको मृत्यु भएपछि बिहे गरेकी दोश्रो श्रीमतीबाट ९ वर्षीय छोरी र ४ वर्षीय छोरा छन्।
खोलाले उकासिएको ऐलानी जग्गामा उब्जिएको अन्नले परिवारको पेट पाल्न नसकेपछि गाउँमा चौकिदारीसँगै शव जलाउने घाटको सरसफाइ गर्न थालेको उनले बताए।
'बिहानदेखि साँझसम्म घाट कुरेर बस्नुपर्छ। पहिलो श्रीमतीतर्फको छोरो बिहे गरेर अलग्गै बस्न थालेपछि कान्छी श्रीमतीबाट जन्मिएका सन्तानको पालनपोषणका लागि थोरै पैसामा भए पनि काम गर्न बाध्य छु,' घाट सफा गर्नुको बाध्यताबारे उनी भन्छन्।
लक्ष्मणघाटमा वर्षौंदेखि शव दाहसंस्कार गरिँदै आए पनि मानिस राखेर घाटको सफाइ गर्न थालेको तीन वर्ष मात्रै भयो। खोला बगर र नदी उकास क्षेत्रमा सुकुम्बासीका नाममा टहरा हालेर बस्ती बस्न थालेपछि घाट व्यवस्थापन र सरसफाइका लागि स्थानीय लागि परेका छन्।
मलामीहरूले शव जलाइसकेपछि चिता पखालेर त हिँड्छन्। तर नजलेका मुढाले बगर नै प्रदूषित बनेपछि बाणगंगा नगरपालिकाले घाट व्यवस्थापन र सरसफाइका लागि तीन वर्षदेखि थोरै भए पनि बजेट छुट्याएको थियो।
नगरपालिकाले बजेट छुट्याउन थालेपछि स्थानीय प्रगति टोल विकास संस्थाले सरसफाइका लागि भारतेलाई जिम्मा दिएको थियो। दैनिक ५/७ वटासम्म शव दाहसंस्कार हुने घाट सफा गरेवापत उनले मासिक जम्मा ६ हजार रूपैयाँ पाउँछन्।
तर यस वर्ष नगरपालिकाले बजेट नछुट्ट्यापछि ४/५ महिनादेखि त्यही ६ हजार रूपैयाँ समेत दिन नसकिएको प्रगति टोल विकास संस्थाका अध्यक्ष तिलक काउचा बताउँछन्। संस्थाले गत वर्षसम्म घाट व्यवस्थापन तथा सरसफाइका लागि प्रति शव दाहसंस्कार गरेवापत दुई सय रूपैयाँ लिन्थ्यो। पछि त्यही दुई सय रूपैयाँ लिएको समेत विरोध हुन थालेपछि पैसा लिन छाडिएको काउचाले बताए। यही कारण सफाइकर्मीलाई तलब दिन समस्या भएको उनको भनाइ छ।
वडा नं. ७ का वडाअध्यक्ष विष्णु गिरीले यस वर्ष भुलबस रातो किताबमा घाट व्यवस्थापनका लागि बजेट राख्न छुटेको बताए। तर नगर कार्यपालिका बैठकबाट बजेट व्यवस्थापन गरिने उनले दावी गरे।
मलामीले खाएका पानीका बोतल तथा सामान लगेका प्लास्टिक पनि बगरमै छरपस्ट छाडिदिन्छन्। भारते बगरमा थुप्रिएका प्लास्टिक र फोहोरसँगै नजलेका मुढा मिलाएर जलाइदिन्छन्।
'बगरभरि फोहोर फालेर हिँड्छन्। चिसो पानीमा पसेर मुढा तान्दा गाह्रो हुन्छ। तर त्यसै छोड्नुभएन। घाट फोहोर भयो भने समितिका मानिसले गाली गर्छन्। खोला पनि फोहोर हुन्छ। मेरो मनले पनि मान्दैन,' उनले भने।
कहिलेकाहीँ भने घाट खाली हुन्छ। त्यो दिन उनी घरै आराम गरेर बस्छन्। तीन वर्षदेखि घाट र मलामीलाई साथी बनाएका उनले कहाँ र कस्तो व्यक्तिको लाश जलाइएको छ भनेर पनि चासो राख्छन्।
लक्ष्मणघाटमा कपिलवस्तुबाट मात्र होइन, रूपन्देहीको बुटवल, सालझण्डीबाट पनि दाहसंस्कारका लागि शव पुर्याइन्छ। मलामीले शवसँगै ल्याएका लत्ताकपडा, मृतकले प्रयोग गरेका सामग्री पनि जलाउन घाटमा ल्याउँछन्।
मृतकका राम्रा र लगाउन मिल्ने लत्ताकपडा भारतेले घरै लैजान्छन्। श्रीमती, छोराछोरी र आफूले पनि तिनै कपडा लगाउने र विछ्यौना ओछ्याउने गरेको बताए। एकाध मनकारी मलामीले चियाखाजा खानू भन्दै पचास/सय रूपैयाँ पनि दिन्छन् उनलाई।
सामान्य रूपमा मानिसहरू घाट र चिता भनेपछि डराउँछन्।
तर उनी भन्छन्, 'घाट र चिता त साथीझैं बनेका छन्। बरू जिउँदो मानिससँग डर लाग्छ, मरेकासँग किन डराउनु? मानिस मरेपछि मुढाजस्तै त हो, मुढा जलाउने ठाउँमा केको डर?'
मलामी गएपछि साँझ र बिहानको झिसमिसेमा पनि उनी एक्लै घाट सफा गरेर बस्छन्। बुढ्यौली उमेर लागेकाले पनि होला, सुरूआती दिनमा उनलाई घाट सफा गर्न अप्ठ्यारो लागेको थियो रे। तर अहिले बानी परेर सजिलै लाग्न थालेको छ।
'छोराछोरीको भोकका अगाडि सबै अप्ठ्यारो सजिलो लाग्न थाल्यो। अहिले त सजिलै लाग्छ, घर नजिकै भएकाले बिहानै एकपटक घाटमा आउँछु। राती कसैको शव जलाइएको छ कि हेर्छु,' उनी भन्छन्।
घाट सफाइमा लागेको तीन वर्षमा जीवन र मृत्युलाई नजिकबाट चिन्न पाएको उनी बताउँछन्।
'धन भएका र नभएका सबै मानिसलाई अन्तिममा ल्याइने घाट त एउटै रहेछ। धनी र गरिबको लाश जलाउन लाग्ने दाउरा, समय एउटै रहेछ। जलेपछि सबै खरानी नै हुने रहेछन्। तर पनि धनका लागि किन मरिमेटेको होला,' उनले भने।