दैलेख, दुल्लु नगरपालिका वडा नं. १ तल्लो डुंगेश्वर बजारमा गाडी रोकिँदै थियो, तीन जना बालक गाडीको ढोकैमा आएर गीत गाउन थालिहाले।
‘मर्नु छ एकदिन सधैं बाँचिरहने को छ
कोही गरिब हुन सक्छन्, कोही धनी हुन सक्छन्
गरिब हुँ भन्दैमा रूनु पर्दैन
धनी हुँ भन्दैमा धेरै खुसी हुनु पर्दैन
मर्नु छ एकदिन सधै बाँचिरहने को छ
मंसिरको चिसो सिरेटो, रातो एकसरो लुगामा उनीहरूको सुमधुर स्वरले वरिपरि सबैको ध्यान तानेको थियो। गीतका शब्दले गरिब र धनी बीचको मानसिकता पनि बताइरहेका थिए।
दुल्लुको वडा नं. १ मा बादी समुदायको नमूना बस्ती छ। त्यही बस्तीका तीन जना बालक पछिल्ला दुई-तीन वर्षदेखि दैलेखमा गीत गाउँदै हिँड्ने 'फुच्चे समूह' को रूपमा चर्चित छन्।
कलिलै उमेरमा सडकपेटी र गाडीको ढोकासम्मै पुगेर गीत गाउँदै यात्रुलाई मनोरञ्जन गराउने उनीहरूका गीतका शब्दमा समाजको अवस्था र मायाप्रीतिको भाव झल्किएका हुन्छन्।
मरेर गएनि नतोडिने माया बन्धन हो
चाहेर पनि भुलाउन नसक्ने माया हो
संसारलाई भुलेर उसैलाई चाहनु माया हो
सानो यो मनमा उसैलाई बसाल्नु माया हो
पाउनेलाई माया बरदानै माया
बुझ्नेलाई माया संसारै माया हो मायाा..माया हो माया
सँगसँगै सहेको त्यो, घामपानी नभुल्नू है
तिम्रो मेरो चोखो प्रेमकहानी नभुल्नू है
तिमीलाई माया गरिरहन्छु, तिम्रै बाटो हेरिरहन्छु
अरूसँग मनमुटु नसाट्नू तिमीले, तिम्रै भर परिरहन्छु
तिमी सुनाउ त्यो रंगीन कहानी लाजले म मर्थेँ
यो मन तिम्रो बसमा हुन्थ्यो, अलि नजिक सर्थेँ
सँगसँगै सहेका ती बात नभुल्नू है
मैले तिम्ले गरेका ती साथ नभुल्नू है
तीनै जनाले एउटै लय र तालमा गाउँदा लाग्छ, उनीहरू गीतसंगीतमा वर्षौंदेखि तालिम लिइरहेका छन्। तर गीतसंगीतका लागि त्यहाँ कक्षा लिने अवसर कहाँ पाउनू! गाउँघरका भिरपाखामा गुनगुनाउँदै गाउन सिकेको सुमन बादीले बताए।
सुमन बादी १२ वर्षका भए। कक्षा ५ मा पढिरहेका उनी सुमन स्कुलभन्दा बढी सडक र बजारमा गीत गाउन मस्त हुन्छन्। उनीसँगै ११ वर्षका विशाल र १३ वर्षका पदम बादी पनि गाउँदै नै हिँड्छन्। विशाल र पदम ४ कक्षामा पढ्छन्।
भारतबाट पश्चिम नेपालका पहाडी जिल्ला सल्यान, रूकुम, रोल्पा, जाजरकोट, दैलेखलगायतमा बसोबास गर्न पुगेको बादी समुदायको प्रमुख पेसा नै नाचगान गर्नु थियो।
मुख्य चाडपर्व, विवाह, ब्रतबन्ध, भोज भतेर जस्ता अवसरमा राजामहाराजाका दरबार तथा साहुमहाजनको घरमा गीत गाएर नाच्ने र त्यसवापत उपलब्ध हुने बक्सिसबाट उनीहरूको गुजारा चल्थ्यो। तर नेपालमा राजनीतिक परिवर्तनसँगै प्रविधि र सञ्चारमा आएको विकासक्रमले गीत गाउने र नाच्ने उनीहरूको परम्परागत पेसा खोसिन थाल्यो। त्यसपछि भने उनीहरू ज्याला मजदुरी गरेर जीविका चलाउन थाले।
गाडीमा सामान लोड अनलोड गर्ने, खोलामा माछा मारेर बिक्री गर्ने र गिट्टी बालुवा बोक्नुका साथै निर्माणको काममा पनि उनीहरू लाग्न थाले।
१३ वर्षीय पदम बादीले घरमा लाउने/खाने समस्या भएकोले गीत गाएर आएको दुई-चार पैसा कमाई बुवाआमालाई दिने गरेको बताए।
यात्रु तथा सर्वसाधारणको आग्रह बिना नै गाउने उनीहरूले गीत गाएपछि पैसा माग्छन्। उनीहरूको अवस्था र मिठो स्वरमा गीत गाएको भन्दै यात्रुले थोरधेर पैसा दिन्छन्। यसरी कमाएको पैसा तीनै जनाले बराबर बाँड्ने गर्छन्।
गत चैत महिनादेखि भएको लकडाउनपछि यातायात तथा मानिसको आवतजावत बन्द भयो, योसँगै उनीहरूको आम्दानी पनि रोकियो।
कोरोना संक्रमण फैलिन सक्ने भएकोले चैत महिनादेखि नै विद्यालय बन्द भए। उसो त विद्यालय जानुभन्दा गीत गाउँदै हिँड्दा रमाउने उनीहरु दिनहुँजसो बजार झर्थे। तर मानिसहरुको आवतजावत नभएका कारण रित्तो हात लिएर घर फर्किन्थे।
विगत दुई महिनायता भने दैनिक दुई चार सय रूपैयाँ आम्दानी हुने गरेको सुमनले बताए। गीत गाएर पाएको पैसाले विद्यालयको लागि कापीकिताब किन्ने र घरमा लगेर दिने गरेको उनीहरू बताउँछन्।