बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बेलभरियाका ८० वर्षीय रामप्रसाद उपाध्यायलाई आफू बसोबास गर्दै आएको जग्गा अरु कसैले हडपिदिन्छ कि भन्ने चिन्ता हटेको छ।
वडा नं. १८ सेमलारका ७४ वर्षीय प्रभु थारुलाई पनि पचास साठी वर्षदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाई त्यसै छोड्नु पर्छ कि भन्ने चिन्ताले सताइरहन्थ्यो। तर, अब भने उपाध्याय र थारुजस्तै बुटवलका साढे ६ सय भन्दाबढी परिवारको उक्त समस्या समाधान भएको छ।
पचास-साठी वर्षदेखि जग्गामा बसोबास र भोगचलन गर्दै आए पनि बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का सयौं व्यक्तिहरूले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन्। अहिले भने बुटवल उपमहानगरपालिकाले गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपूर्जा वितरण गरेको छ।
वर्षौंअघि नापजाँच भएर पनि त्यतिकै रोकिएका साबिकका मोतिपुर र सेमलारका गाउँ-ब्लक जग्गामा बसोबास गरेकाहलाई लालपूर्जा वितरण गरिएको हो।
नेपालमा वि.सं. २०१९ सालमा जग्गा ऐन र वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरू गरिएको थियो। रुपन्देहीमा २०२७ सालमा जग्गा नापजाँच गरिए पनि बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ट गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ-ब्लकको नाम दिएर छोडिएको थियो।
त्यो बेला रुपन्देहीमा एक हजार ९२१ वटा गाउँ-ब्लक नापजाँच नगरी छोडिएको थियो। अहिले त्यही जमिनमा बसोबास गरिरहेकालाई पुनः जग्गाको नापजाँच गरी पूर्जा वितरण गर्न थालिएको छ। तर, रुपन्देहीका एक हजार ३६३ ब्लकका ३४ हजार घरपरिवारले भने अझै पनि पूर्जा पाउन सकेका छैनन्।
आफ्नै जमिन भएर पनि भोगचलनबाहेक बैंकिङ प्रक्रिया, सरकारी कामकाज र व्यावसायिक काम गर्न नपाउँदा उनीहरू समस्यामा थिए। बुटवलकी ७५ वर्षीया असिया थारुले वर्षौंपछि भए पनि पूर्जा पाउँदा खुसी लागेको बताइन्।
गोश्वारा नापी कार्यालयका टोलीप्रमुख यमप्रसाद पाण्डेले सरकारले अबको दुई वर्षभित्र गाउँ-ब्लकमा बस्ने परिवारलाई पूर्जा दिने गरी काम गरिरहेको बताए।
असिया थारुलाई लालपूर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई बुटवलको नमूना बस्तीका रुपमा विकास गर्ने योजना बनिरहेको बताए।
ती क्षेत्रमा आधुनिक, योजनावद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्ययन पूरा भइसकेको र प्राविधिक अध्ययनकै आधारमा खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गरि आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताए।
गाउँ-ब्लकमा बसोबास गरिरहेकाहरूलाई पूर्जा वितरणसँगै बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ। तिनाउ-दानव कोरिडोर निर्माणका क्रममा विस्थापित र प्रभावित हुने घर परिवारलाई पनि अलग्गै स्थानमा व्यवस्थित गर्ने तयारी भइरहेको प्रमुख सुवेदीले बताए।
बुटवल वडा नं. १४ र १८ मा मात्रै ४४८ घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ। तीमध्ये वडा नं. १८ मा २३४ र वडा नं. १४ मा २१४ घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ। त्यस्तै, वडा नं. १७ मा ९०, वडा नं. १६ मा ६३ तथा वडा नं. १५ मा ४८ परिवारलाई पूर्जा वितरण गरिएको छ ।