पाँच वर्षदेखि बुटवलमा होटल चलाइरहेका टीकाराम खत्री सधैँझैं शनिबार साँझ पनि काउन्टरमा बसिरहेका थिए।
कोरोनाभाइरसको महामारीले झन्डै सात महिना बन्द भएको मिलनचोकस्थित उनको कलश होटलमा कात्तिकदेखि फाट्टफुट्ट पाहुना आउन थालेका थिए। तीमध्ये धेरै दिउँसोको खाजा नास्ता खान आउँथे। बास बस्ने आउने ग्राहक आउन मुस्किल थियो।
शनिबार साँझ साढे सात बजेतिर चार जना युवा बास बस्ने भन्दै उनको होटलमा पुगे। खैरो रङका हुड लगाएर पैदल नै सस्तो कोठा खोज्दै होटलमा पुगेका उनीहरू हेर्दा गाउँबाट आएजस्ता देखिन्थे।
आफूहरू विदेश जान पहाडबाट आएको र सबैभन्दा सस्तो कोठामा बस्ने भन्दै उनीहरूले टीकारामसँग कोठाका लागि भने।
खाली राख्नुभन्दा बरू एउटै कोठामा चार जनालाई राखे अलिअलि पैसा आउँछ भन्ने ठानेर टीकारामले माथिल्लो तलाको रूम नम्बर ५ को चाबी दिए।
ती युवा वर्षौंदेखि चिनजान भएको जस्तोगरी सँगै होटलमा आएका थिए। रातिको खानाअघि उनीहरूले सँगै बसेर होटलको रेष्टुरेन्टमा मदिरा पिएका थिए। खाना खाएर उनीहरू १० बजेतिर रूममा गए।
आइतबार बिहान पनि साढे सात बजेतिर चारै जना रेष्टुरेन्टमा झरे। चिया पिए। १०-११ बजेतिर तयार हुने गरी चारै जनालाई खाना पकाउन भने।
टीकारामका अनुसार नौ बजेतिर एक जना अपरिचित व्यक्ति होटलमा पुगे। उनका पाहुना रेष्टुरेन्टमै थिए। एकछिन गफगाफ गरेपछि कोठामा निस्किएका थिए। नयाँ आएका मान्छे पनि त्यहीँ गए। एकछिनमा एक्कासी गोली चलेको आवाज आयो। आत्तिएका टीकाराम माथि पुग्दा त एक जना भुइँमा ढलेका थिए।
'माथि के भएको हो, उनीहरू को हुन् मलाई केही थाहा थिएन, प्रहरी आएर पक्राउ गरेपछि बल्ल थाहा भयो विदेश जाने भन्दै होटलमा पाहुना बनेर आएका त गैंडाको खाग तस्कर रहेछन्,' खत्रीले सेतोपाटीसँग भने।
गैंडाको खाग तस्करी गरी उक्त समूह बुटवल आएको प्रहरीले शनिबार साँझ नै सुराकी पाइसकेको रहेछ। रातभरि उनीहरू बसेको होटल पत्ता लगाएको प्रहरीले आइतबार बिहान घुमुवा प्रहरी पठाएर उनीहरूलाई कोठाभित्र लक गर्न सफल भएको थियो।
होटलको कोठाभित्र थुनिएका तस्करले ढोका फोरेर बाहिर रहेका प्रहरीको हतियार खोसेर फायर गरे।
सादा पोशाकमा रहेका प्रहरीले आफूलाई लक्षित गरि चलाइएको गोली छलेपछि त्यही गोली तस्कर समूहकै एकजना कालिकोट पचास झरना गाउँपालिकाका २३ वर्षीय राकेश न्यौपानेलाई लाग्यो।
आफ्नै साथीले चलाएको गोलीबाट घाइते भएका राकेशको अहिले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार राकेशको दाँया कुमको घाँटीनजिकै गोली लागेको छ भने गोली चलाउने व्यक्ति भागेका छन्।
खाग तस्करमा संलग्न सुर्खेत लेकबेसी नगरपालिका– ७ का ३१ वर्षीय भक्तबहादुर थापा र जाजरकोटको बोरेकोट गाउँपालिका-४ का २६ वर्षीय कर्णबहादुर राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूबाट गैंडाको खाग १ थान बरामद गरेको छ। पक्राउ परेकाहरूले चितवनबाट बुटवलमा बेच्न खाग ल्याएको बताए पनि किन्न खोज्न मान्छे को हुन भन्नेबारे खुलाएका छैनन्।
प्रहरीले उक्त समूह यसअघि पनि खाग तस्करीमा भएको हुनसक्ने र उनीहरूको सम्पर्कमा अरू पनि रहेको हुनसक्ने ठानेर अनुसन्धान गरिरहेको छ। साथै गोली चलाएर फरार रहेका व्यक्तिको खोजीलाई तीव्रता दिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।